सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
छिमेकी चासो

नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताको ओइरो

आइतबार, ३१ असार २०८०, १७ : १५
आइतबार, ३१ असार २०८०

काठमाडौँ । गत वर्ष भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको तयारी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालको भ्रमण गरेका थिए । 

२०७९ असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख लिउले नेपालको भ्रमण सकाएर चीन फर्केपछि मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड असार ३१ गते भारतको भ्रमण गरेका थिए । 

CM-and-Liu

त्यस्तै, गत जेठ १७ गते चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहितको टोली नेपाल भ्रमणमा थियो । अध्यक्ष प्रचण्ड भारत भ्रमणमा निस्किनुअघि नेपाल भ्रमणमा रहेका सीसीपीका सचिव वाङलाई बालुवाटारमै भेटेका थिए । 

अहिले माओवादीका नेताहरू भारत भ्रमणको तयारी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू नेपाल आएर विभिन्न नेताहरूसँग भेटघाट गरी स्वदेश फर्किसकेका छन् । 

साउन ७ गते माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा एक टोली भारत भ्रमणमा जाने दिन सीपीसीका पोलिटब्युरो सदस्य युआन जियाजुनको नेतृत्वमा एक टोली नेपाल आउँदैछ । 

२०७४ मा माओवादी केन्द्र र एमालेबीच एकीकरण भई बनेको नेकपाले सरकारको नेतृत्व गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीका लागि नेपालको बाटो खुलेको हो । त्यसअघि आक्कल झुक्कल मात्र उनीहरू नेपाल भ्रमणमा आउँथे । नेपालमा कम्युनिस्ट पार्टीको दबदबा बढेपछि सीसीपीको आकर्षण बढेको हो ।

२०७४ मा एमाले र माओवादी केन्द्रबीच एकताको तयारी चलिरहेको बेला सीपीसीका नेता कुअ यचौ नेतृत्वका टोलीले नेपाल भ्रमण गरेको थियो । टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका नेतालाई भेटेर फर्केको थियो । 

नेता कुअ यचौ पुनः २०७७ पुस १२ गते नेपाल आएका थिए । त्यतिबेला नेकपा भित्रको विवाद उत्कर्षमा थियो । तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा पनि विघटन गरिसकेका थिए । 

pm-with-chinese-delegate-20201228

नेता यचौले त्यतिबेला पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, तत्कालीन नेकपा अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाललगायतका नेतासँग भेटेका थिए । 

२०७५ भदौ ३० गते चीन भ्रमणमा गएको बेला तत्कालीन नेकपा अध्यक्ष प्रचण्डलाई एयरपोर्टमै नेता यचौले स्वागत गरेका थिए । 

कोरोनाको महामारीमा चिनियाँ नेताहरुको भ्रमण स्थगित थियो । महामारी हटेपछि चीनबाट प्रत्येक महिनाजसो सीसीपीका कोही न कोही नेता आइरहेका छन् । 

यही असार २७ गते सीसीपीका नेता तु स्याओलिनले नेतृत्व गरेको टोली भ्रमणमा आएको थियो । बीआरआईसम्बन्धी एक कार्यक्रममा भाग लिन आएका उनी असार २९ गते फ्रेण्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको एक कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए । नेपालमा चिनियाँ थिंक ट्यांक, चीन निकट संस्था र पत्रकारहरूसँग भेटघाट गरेर उनी फर्केका छन् । 

1689346329552_copy_1920x1280

सीपीसीकै अर्को टोली साउन ७ गते नेपाल भ्रमणमा आउने तयारीमा छ । यसरी माओवादी केन्द्रका नेताहरू भारत भ्रमणको पूर्व सन्ध्यामा रहेको बेला चिनियाँ सीसीपीका नेताहरू नेपालका नेताहरूसँग छलफल गरिरहेका हुन्छन् ।

गत असार १ मा चिनियाँ कम्युनिस्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक सु मिन नेतृत्वको टोली नेपाल भ्रमणमा आएको थियो । त्यो टोलीले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, काँग्रेस सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी उपाध्यक्ष डीपी अर्याललगायतका नेताहरूसँग भेटवार्ता गरेको थियो । 

पोखराको फेवातालमा असार ८ गतेदेखि सुरु भएको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ मा चीनबाट थुप्रै नेता तथा अन्य क्षेत्रका चिनियाँहरू आएका थिए । 

गत जेठ १६ गते सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुई सहितको १४ जनाको टोली नेपाल भ्रमणमा आएको थियो । त्यो टोलीले प्रधानमन्त्री प्रचण्डलगायत माओवादी केन्द्रका अन्य नेताहरुलाई समेत भेटेको थियो । 

गत वर्ष असार २६ मा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओ आफै राजनीतिक भेटघाटका लागि आएका थिए । सीसीपीको विदेश विभाग प्रमुखमा नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण थियो । 

यद्यपि उनको सो भ्रमण कांग्रेसको निमन्त्रणामा भएको थियो । उनलाई स्वागत गर्न काँग्रेसका नेताहरू पनि एयरपोर्ट पुगेका थिए । 

त्यसलगत्तै भदौमा २७ गते सीसीपीको तेस्रो वरियतामा रहेका ली चान्सुले पनि नेपाल भ्रमण गरेका थिए । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा उनी आएका थिए । 

1569224967YQDlPiDF.2e16d0ba.fill-650x500

२०७६ असोज ६ गते सीपीसी केन्द्रीय कमिटीका अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ थावको टोलीले नेपाल भ्रमण गरेको थियो । सी जिनपिङ विचारधाराबारे तत्कालीन नेकपाले आयोजना गरेको कार्यक्रममा भाग लिन उनीहरू आएका थिए । 

२०७७ पुस १२ गते सीपीसीका नेता कुअ यचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल भ्रमणमा आएको थियो । सो टोलीले तत्कालीन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा प्रचण्डलगायतका नेताहरूसँग भेटेको थियो । यसरी चिनियाँ कम्युनिस्ट पार्टीले हाल नेपाललाई प्राथमिकतामा राखेको देखिन्छ । नेपालका कम्युनिस्ट नेताहरू भारत भ्रमणको पूर्व सन्ध्यामा रहेका बेला चिनिया नेताहरुको नेपाल भ्रमण अर्थपूर्ण देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप