बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सिधै चन्द्रमामा किन जान सक्दैन भारतको चन्द्रयान–३ ? बारम्बार किन घुमिरहन्छ ?

सोमबार, ०१ साउन २०८०, १५ : १८
सोमबार, ०१ साउन २०८०

चन्द्रमा अगाडि नै देखिन्छ । तर धर्तीबाट यसको दुरी ३.८४ लाख किलोमिटर छ । यो दुरी चार दिनमा पूरा हुनसक्छ । धेरै लागे हप्ता दिन । तर भारतको चन्द्रयान–३ लाई सिधै किन चन्द्रमा पठाइएन । यसलाई किन धर्तीको वरिपरि चक्कर लगाउनका लागि छोडिएको छ ?

नासाले आफ्नो यानलाई चार दिन वा हप्ता दिनभित्र चन्द्रमामा पुर्‍याउँछ । इसरोले किन यस्तो गर्दैन ? किन चार दिनको साटो ४०–४२ दिन लिन्छ ? यसको पछाडि कुनै विशेष कारण छ ? भारतीय सञ्चार माध्यमका अनुसार यसका दुई कारण छन् । पहिलो कारण – धर्तीलाई चारैतिर घुमाएर अन्तरिक्षयानलाई अन्तरिक्ष पठाउने प्रक्रिया सस्तो हुन्छ ।

नासाको तुलनामा इसरोको अभियान सस्तो हुन्छ । किफायती हुन्छ । इसरोसँग नासाको जस्तो ठुलठुला र शक्तिशाली रकेट छैनन् जसलाई सिधै चन्द्रमाको कक्षमा पुर्याउन सकियोस् । यस्तो रकेट बनाउनका लागि खर्बौँ खर्च हुन्छ । 

सस्तो हुन्छ इसरोको अभियान

चीनले सन् २०१० मा चांगई–२ मिसन चन्द्रमामा पठाएको थियो । यो चार दिनमा चन्द्रमामा पुगेको थियो । चांगई–३ पनि पुगेको थियो । सोभियत सङ्घको पहिलो लुनर मिसन लुना–१ ३६ घण्टामा चन्द्रमा नजिक पुगेको थियो । अमेरिकाको अपोलो–११ कमान्ड मोड्युल कोलम्बिया पनि तीन अन्तरिक्ष यात्री लिएर लगभग चार दिनमा चन्द्रमामा पुगेको थियो ।

चीन, अमेरिका र सोभियत सङ्घले यी अभियानका लागि ठुलो रकेट प्रयोग गरेका थिए । चीनले चाङ झेङ थ्रीसी रकेट प्रयोग गरेको थियो । यो अभियानको लागत १०२६ करोड भारु थियो । स्पेसएक्सको फाल्कन–९ रकेटको लञ्चिङको मूल्य ५५० करोडदेखि १००० करोडसम्म हुन्छ । जबकि इसरोको रकेटको लञ्चिङ मूल्य १५० देखि ४५० करोड हुन्छ । 

अन्तरिक्षयानमा इन्धनको मात्रा सीमित हुन्छ । यसको प्रयोग लामो समयसम्म गर्नुपर्ने हुन्छ । त्यसैले पनि यसलाई सिधै कुनै अन्य ग्रहमा पठाउन यसबारे पनि सोच्नुपर्ने हुन्छ । त्यसैले धर्तीको चारैतिर घुमाउँदै कम इन्धन प्रयोग गरेर यानलाई अघि बढाइन्छ । 

rocketधर्तीको गति र गुरुत्वाकर्षणको फाइदा उठाउँछ रकेट

रकेटलाई अन्तरिक्षमा पठाउनका लागि यसलाई धर्तीको गति र गुरुत्वाकर्षणको लाभ दिइन्छ । यसलाई यसरी बुझ्न सकिन्छ । तपाईं बसबाट उत्रिने बेला यसको गतिको दिशाबाट ओर्लनुहुन्छ । यस्तो गर्दा तपाईं लड्ने सम्भावना ५० प्रतिशत कम हुन्छ । यसै गरी यदि तपाईंले सिधै रकेटलाई अन्तरिक्षतिर पठाउनुहुन्छ भने तपाईंलाई धर्तीको गुरुत्वाकर्षणले तीव्र रूपमा तान्नेछ । 

धर्तीको दिशामा त्यसको गतिसँग तालमेल मिलाएर चारैतिर चक्कर लगाउँदा ग्राभिटी पुल कम हुन्छ । यस्तोमा रकेट वा अन्तरिक्ष यान धर्तीमा खस्ने खतरा कम हुन्छ । धर्ती आफ्नो अक्षमा लगभग १६०० किलोमिटर प्रति घण्टाको गतिमा घुम्छ । यसको फाइदा रकेट वा अन्तरिक्ष यानले पाउँछ । यो पृथ्वीको चारैतिर घुम्दै बारम्बार अर्बिट म्यानुभरिङ गर्छ अर्थात् आफ्नो कक्ष फेर्छ ।

कक्ष परिवर्तन गर्न समय लाग्छ । त्यसैले चन्द्रयान–३ लाई चन्द्रमामा पुग्न ४२ दिनको समय लाग्छ । किनभने यसले पृथ्वीलाई पाँच चक्कर लगाउनुपर्छ । त्यसपछि लामो दुरीको लुनर ट्रान्जिट अर्बिटमा यात्रा गर्नुपर्नेछ । त्यसपछि यसले चन्द्रमाको चारैतिरको कक्ष फेर्नेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप