आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

कांग्रेस बैठकको पहिलो दिन : महामन्त्रीद्वारा कार्यतालिकासहित देउवामाथि प्रश्न

दिवङ्गत नेताको सम्झनामा नयाँ कार्यक्रम
मङ्गलबार, ०२ साउन २०८०, २० : १२
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । ११ महिनापछि बसेको बैठकको पहिलो दिनमा १० वटा एजेण्डा र चार वटा प्रतिवेदन पेस भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको फेसबुक पेजमार्फत बैठक प्रत्यक्ष प्रसारण भएको जानकारी गराउँदै बैठकमा एजेण्डा पेस गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई अनुमति दिएका थिए ।

महामन्त्री शर्माले पदाधिकारी र केन्द्रीय सदस्यका साथै फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शकलाई स्वागत गर्नुका साथै कमैया मुक्त घोषणा दिवसका अवसरमा बधाई साटेका थिए । २०५७ साल साउन २ गते नेपाली कांग्रेसका सभापति देशको प्रधानमन्त्री रहेका बेला कमैया मुक्त घोषणा भएको पनि उनले स्मरण गराए ।

त्यसपछि उनले केन्द्रीय समितिका १० वटा एजेण्डा बैठकमा पढेर सुनाएका थिए । समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफलको एजेन्डा छ ।

उक्त एजेण्डामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रश्न उठाए । उनले समसामयिक राजनीति र गठबन्धनको राजनीतिबारे छलफल अगावै पार्टी नेतृत्वको धारणा माग गरेका थिए ।

महामन्त्री गगन थापाले उक्त विषयमाथि समग्रमा छलफल हुने जवाफ दिएका थिए । लगत्तै महामन्त्री थापा ‘विधान कार्यान्यन र पार्टी सुदृढीकरणका सन्दर्भमा’ कार्यतालिका पेस गर्न उभिए ।

महामन्त्रीद्वयको २१ पृष्ठको एक वर्षे कार्यतालिका थापाले बैठकमा प्रस्तुत गरेका थिए । उनले साउन २ गतेदेखि २०८१ असार समान्तसम्मको कार्यतालिका सुनाए । साथै विधान अनुसार बैठक बस्नु नसक्नुको कारणका रुपमा सभापतिलाई देखाएका थिए ।

सभापतिको अधिकार क्षेत्रका विषय उल्लेख गर्दै आगामी दिनमा त्यसलाई बाध्यकारी बनाउने गरी महामन्त्रीको प्रस्ताव आएको छ । सभापतिले समयमा केन्द्रीय कार्यसमिति बैठक नबोलाउँदा महामन्त्रीमाथि पनि प्रश्न उठ्ने गरेको थियो ।

सभापतिबाट विधानसम्मत काम भएन

आगामी दिनमा केन्द्रीय समिति बैठक साउन, असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने गरी प्रस्ताव ल्याएका छन् । विधान अनुसार विभाग गठन हुन नसकेकोमा सभापति एकल जिम्मेवार रहेको प्रस्तावमा देखाइएको छ । कांग्रेसको विधानको धारा २५ को ९ मा विभाग गठनमा सभापतिको एकल अधिकार उल्लेख छ ।

महाधिवेशन भएको ६ महिनाभित्र सभापतिले विभाग गठन गर्नुपर्ने भए पनि प्रचारबाहेक ४७ विभाग अझै गठन भएको छैन । २२ वटा विभाग थप्ने प्रस्ताव गर्दै महामन्त्री थापाले भदौ १५ सम्म विभाग गठन गरिने बताए । ‘विभागले प्रगति विवरण हरेक ६÷६ महिनामा महामन्त्रीमार्फत केन्द्रीय समितिमा बुझाउनुपर्नेछ,’ उनले भने ।

पार्टीका अनुशासन, निर्वाचन र लेखा समितिको पूर्णताको विषय पनि सभापतिको क्षेत्राधिकारको विषय भएको महामन्त्रीको प्रस्तावमा उल्लेख छ । विधान बमोजिम गठन गर्नुपर्ने सम्पूर्ण समितिहरु भदौ १५ गतेभित्र पूर्णता दिइसक्ने थापाले बताए ।

पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्णता पनि भदौ १५ भित्र सभापतिले दिने महामन्त्रीको प्रस्ताव छ । यस्तै पार्टीका भ्रातृ संस्थाको विस्तार र गठनमा भएको ढिलाइको जिम्मेवार पनि सभापति भएको प्रस्तावमा देखाइएको छ ।

२०७८ फागुन ३ को केन्द्रीय समिति बैठकले सभापतिले आवश्यक परामर्श गरेर भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने निर्णय गरेको प्रस्तावमा समेटिएको छ ।

नेपाल विद्यार्थी संघ, महिला संघ, किसान संघ, तरुण दल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघमध्ये केहीको तदर्थ समिति र केहीको अध्यक्ष नियुक्त भएको अवस्था छ । अवधि सकिएका भ्रातृ संस्थाका तदर्थ समिति भदौ १५ गतेसम्म गठन गरिसक्ने थापाले बताए ।

यी भ्रातृ संस्थालाई ६ महिनाभित्र महाधिवेशन गर्न जिम्मेवारी दिने उनको भनाइ छ ।

नीति महाधिवेशन मिति र स्थान तय गर्ने एजेन्डा पनि छ । एजेन्डा र नीति तथा कार्यक्रम मस्यौदा तयार गर्न ३ सदस्यीय समिति गठन गर्ने प्रस्ताव छ ।

महामन्त्रीको प्रस्तावमा क्रियाशील सदस्यता नवीकरणका लागि भदौ, असोज र कात्तिकमा अभियान सञ्चालन हुने उल्लेख छ । क्रियाशील सदस्यता वितरण भने वर्षभर नै चल्ने महामन्त्री थापाले बताए । अनलाइन सदस्यता वितरणलाई थप व्यवस्थित बनाउँदै लैजाने उनले बताए ।

‘नयाँ व्यक्तिलाई पार्टीमा आबद्ध र आकर्षण गर्न सदस्यता वितरणमै समाजको विविधता झल्कने गरी अभ्यास गर्न साउनदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान सञ्चालन हुने महामन्त्रीको प्रस्ताव आएको छ । उक्त अभियानमार्फत एक वर्षमा कम्तीमा ५ देखि ७ लाख पार्टी सदस्य बनाउने लक्ष्य छ ।

कांग्रेसले संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान विभिन्न चरणमा गर्ने महामन्त्रीको प्रस्ताव छ । साउन २० देखि भदौ १ सम्म पहिलो चरणमा संगठन सुदृढीकरण केन्द्रित अभियान चल्नेछ । यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खट्ने र सदस्यता वितरण, तहगत समिति क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुनेछ ।

भदौ १० देखि २४ गतेसम्म समुदायसँग संवाद गर्ने र मंसिर १५ गतेदेखि माघ १५ सम्म घर–घरमा कांग्रेस अभियान चल्ने कार्यतालिका प्रस्ताव छ ।

कांग्रेसले केन्द्रीय कार्यालय व्यवस्थित गर्ने भएको छ । अभिलेख तथा अनुसन्धान, सूचना सञ्चार तथा प्रेस, प्रशासन, कार्यक्रम व्यवस्थापन, कानुन र अन्तर्राष्ट्रिय, समन्वय र अनुगमन शाखासमेत केन्द्रीय कार्यालयमा रहनेछ । असोजभित्र पार्टी कार्यालयमै पुस्तकालय सञ्चालनमा ल्याउने महामन्त्री थापाले बताए ।

कांग्रेसले साउन २७ मा युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कार्यालय र सबै स्थानीय तहमा यो कार्यक्रम चल्नेछ ।

दिवङ्गत नेताको सम्झनामा नयाँ कार्यक्रम

कांग्रेस बैठकमा पार्टीका दिवङ्गत नेताको सम्झनामा विभिन्न कार्यक्रम गरेर जनतामाझ जाने कार्यक्रम प्रस्तुत भएको छ ।

महामन्त्री थापाले भदौ ५ मा प्रदीप गिरिको स्मरणमा मधेश प्रदेश केन्द्रित रहेर ‘प्रदीप गिरि संवाद’ कार्यक्रम गर्ने प्रस्ताव राखेका छन् । गत वर्ष भदौ ५ मा कांग्रेसका वैचारिक नेता गिरिको निधन भएको थियो ।

यस्तै भदौ २४ मा बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा ‘बिपी साहित्य महोत्सव’ सञ्चालन गर्ने प्रस्ताव छ । केन्द्रीय कार्यालयले २ दिन साहित्य महोत्सवमा बिपीका पुस्तक, रचना, विचारबारे मन्थन गर्ने र जिल्लाहरूमा पनि महोत्सव चल्ने महामन्त्री थापाको भनाइ छ ।

कांग्रेसले भदौ २४ मै आत्महत्या रोकथाम दिवसका अवसरमा लोकतन्त्रवादी चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, स्वास्थ्य विभागलगायतको समन्वयमा ‘मानसिक स्वास्थ्य’ सम्बन्धी सचेतना कार्यक्रम अगाडि सारेको छ ।

कांग्रेसले भदौ २९ मा विपन्न छात्रवृत्ति बाँड्नेछ । कांग्रेसको वडा समितिले सामुदायिक विद्यालय पढ्ने कम्तीमा २ विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम बैठकमा प्रस्ताव गरिएको छ ।

संविधान दिवसमा असोज ३ गते देशैभर दीप प्रज्ज्वलन गर्ने र संविधान कन्सर्ट पनि आयोजना गर्न प्रस्ताव गरिएको छ ।

कात्तिक २४ गते सुवर्ण शमशेर स्मृतिमा पार्टीको अर्थनीतिसम्बन्धी २ दिने कन्क्लेभ सञ्चालन गर्न महामन्त्री थापाको प्रस्ताव छ । अर्थविदहरूले यो कार्यक्रममा आर्थिक नीतिबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

महिलामाथि हुने हिंसाविरूद्ध मंसिर २४ मा मंगलादेवी सिंह एक महिने अभियान सञ्चालन हुनेछ । भीमबहादुर तामाङ स्मृतिका अवसरमा मंसिर १६ मा पहिचान र विविधताबारे नीति संवाद हुनेछ । मंसिर १७ मा लोकतान्त्रिक अपांग महासंघको संयोजनमा विचार गोष्ठी गर्ने महामन्त्री थापाको प्रस्ताव छ ।

मंसिर २५ मा राधाकृष्ण थारू स्मृतिमा किसानसँग भूमि र किसानका मुद्दाबारे सप्ताहव्यापी रूपमा देशैभर कार्यक्रम गर्न प्रस्ताव गरिएको छ ।

पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवसमा राजनीतिक दलहरूलाई बोलाएर नेपालको साझा विदेश नीति र परराष्ट्र सम्बन्धसँग सम्बन्धित कार्यक्रम केन्द्रीय कार्यालयबाट गर्ने महामन्त्री थापाको प्रस्ताव छ ।

पुस तेस्रो साता संघीय सांसदहरूसँग संसदको प्रक्रिया, क्रियाशीलता र प्रभावकारिता र बजेट लगायतबारे केन्द्रीय कार्यालयमा छलफल हुनेछ । लगत्तै प्रदेश सांसदहरूसँग पनि छलफल हुनेछ ।

पार्टी स्थापना दिवसका अवसरमा माघ १२ मा रक्तदान, सरसफाइजस्ता कार्यक्रम हुनेछ ।

नेताहरू आफू क्रियाशील रहेको वडामा त्यस दिन अनिवार्य पुग्नुपर्ने प्रस्ताव छ । ६ हजार ७ सय ४३ वडामा त्यस दिन सामाजिक कार्यक्रम हुने महामन्त्री थापाको प्रस्ताव छ ।

माघ १९ मा सहिद र द्वन्द्वपीडित परिवारको विवरण पुस्तक सार्वजनिक गर्ने, सम्मान र सहयोग कोष स्थापना गर्ने तयारी छ ।

फागुन २० मा कृष्णप्रसाद भट्टराई स्मृति दिवस सत्याग्रहको महत्त्व र प्रयोगबारे सचेतना कार्यक्रम हुनेछ । सत्याग्रहको अभ्यासको रूपमा आत्मशुद्धीकरणका लागि उपवास बस्न सकिनेछ ।

चैत ७ मा गिरिजाप्रसाद कोइराला स्मृतिमा देशैभरि शान्ति पदयात्रा हुनेछ । नेपाल ट्रेड युनियन कांग्रेसको संयोजनमा श्रम सम्मेलन हुनेछ ।

चैत २३ मा डिबी परियार स्मृतिमा कला सम्मेलन गर्ने प्रस्ताव छ । चैतमा स्थानीय तहका प्रमुख र उपप्रमुखसँग बैठक गर्दै नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुनेछ ।

लोकतन्त्रसँग सम्बन्धित वृत्तचित्र बनाएर वैशाख ११ मा प्रदर्शन गर्ने, वैशाख २० मा महेन्द्रनारायण निधि स्मृतिमा अहिंसा र राजनीति विषयक प्रवचन गर्ने कार्यक्रम पनि थापाले प्रस्ताव गरेका छन् ।

वैशाखमै जिल्ला सभापति र सातै प्रदेश सभापतिहरूसँग बैठक हुनेछ । जेठ १५ मा गणतन्त्र फोटो प्रदर्शनी, जेठ २२ मा नदी, तालतलैया सरफाइलगायत कार्यक्रम हुनेछ । जेठमै किसानसँग कांग्रेस कार्यक्रम गरेर किसानका समस्या हल गर्न सहजीकरण गर्ने कांग्रेस बैठकमा प्रस्ताव आएको छ ।

केन्द्रीय कार्यालयले हरेक महिना कुनै एक विषयमा विज्ञसँग छलफल गर्नेछ । पार्टीका उत्कृष्ट गतिविधि गर्ने प्रत्येक तहको एक समितिलाई सम्मानसमेत गर्ने कार्यक्रम समावेश गरिएको महामन्त्री थापाले बताए ।

बैठकमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिका तर्फबाट प्रतिवेदन पनि पेस गरेका थिए भने केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन उजुरीबारे जानकारी गराएका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदका कामकारबाहीबारे जानकारी गराए भने आजको बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारबारे बिफ्रिङ गरेका थिए । त्यसपछि आजका लागि बैठक स्थगित भएको सभापति देउवाले घोषणा गरेका थिए । अर्को बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप