शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको प्राविधिक टोलीले फिर्के खोलाका सर्वेक्षण गर्ने

मङ्गलबार, ०२ साउन २०८०, २० : ४२
मङ्गलबार, ०२ साउन २०८०

पोखरा । पोखराको मध्य भागबाट बग्ने फिर्के खोलाको आकार खोज्न पोखरा महानगरपालिकाले प्राविधिक सर्वेक्षण टोली गठन गरेको छ । अतिक्रमणको चपेटामा परेको फिर्केखोलाको वास्तविक आकार पत्ता लगाउन महानगरले प्राविधिक टोली गठन गरेको हो । 

टोलीले नापी नक्सा बमोजिम फिर्के खोलाको सीमाङ्कन गर्ने संयोजक वासुदेव पौडेलले बताए । उनकै नेतृत्वमा १८ सदस्यीय सर्वेक्षण प्राविधिक टोली गठन भएको हो । उक्त समितिले फिर्के खोलाको निरीक्षण गर्ने र नापी नक्सा बमोजिम सीमाङ्कन गर्नेछ । टोलीमा महानगरका अमिन, प्राविधिक र कर्मचारी छन् । 

टोलीका संयोजक पौडेलले  बुधबारबाट सर्वेक्षण सुरु गरिने बताए । ‘बुधबारबाट हाम्रो २ वटा टोलीले  खोलाको निरीक्षण गर्छौँ । नापी नक्सा बमोजिम नै फिर्केको मापदण्ड हेर्छौँ । सोही बमोजिम सीमाङ्कन चिन्ह लगाउँछौँ,’ संयोजक पौडेलले भने, ‘सुरुमा हाम्रो उद्देश्य फिल्डको स्थिति पत्ता लगाउने र आकार निर्धारण गर्ने मात्र हो ।’

२४ मिटरसम्म फराकिलो यो फिर्के खोला यतिबेला कतै देखिन्छ, कतै देखिँदैन । खोला नदेखिनुमा मुख्य कारण मानवीय अतिक्रमण नै हो । खोला आसपास र खोलामाथि समेत मानवीय अतिक्रमण बढ्दो छ । बर्खामा पानीको बहाव बढ्दा मापदण्ड विपरीत निर्मित संरचनाले पानीको निकास पनि हुन सकेको छैन । गत हप्ता फिर्के  खोला माथिको वडा नम्बर ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुलमा क्षति पुगेको छ । वर्षाका कारण पुलको तल्लो भाग बगाएको छ । पुलसमेत धरापमा परेको छ । खोलाको पानीले उचित निकास नपाउँदा पुलमा क्षति पुगेको सरोकारवाला निकाय बताउँछन् ।

खोलामा अतिक्रमण बढ्न थाले पनि मेयर धनराज आचार्यले मापदण्ड विपरीतका संरचना छिट्टै भत्काउने बताउँदै आएका छन् । नवगठित टोलीले मापदण्ड विपरीतको बनेका संरचना र सीमाङ्कन यकिन गर्नेछ । खोलाको वास्तविक जमिन कति हो ? यी सबै विषय निरीक्षण गरेर प्रतिवेदन पेस संयोजक पौडेलले बताए । ‘बर्खाको समय छ । कति समय लाग्छ । यकिन छैन । हामीहरू जति सक्दो छिट्टो सक्छौँ । मिलेसम्म खोला ‘वरी पारी’ गरेर ४ वटा टोली बनाएर काम गर्ने योजना छ,’ संयोजक पौडेलले भने । 

पोखरा १८ को अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला वडा नम्बर १७ र ६ मा पुगेर फेवातालमा मिसिन्छ । यसको लम्बाई करिब ८ किलोमिटर भएको अनुमान छ तर, चौडाइ भने निरन्तर घट्दै गएको छ । खोलाका किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन नपाइने भएपनि अतिक्रमण बढ्दै गइरहेको हो । ०३२ सालको नक्साअनुसार फिर्केखोलाले चर्चेको झन्डै १९२ रोपनी जग्गा विभिन्न व्यक्ति, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायत जातीय संघ–संस्थाबाट निर्वाधरूपमा अतिक्रमण गरेको अनुमान छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित रेखाङ्कन समितिको प्रतिवेदनले खोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । तर, यो सङ्ख्या अहिले बढेको हुन सक्ने सरोकारवाला निकायहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप