सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गगन र विश्वलाई लक्ष्मी खतिवडाको चुनौती : हामीले तपाईंको विकल्प खोज्नुपर्ने अवस्था नआओस्

बुधबार, ०३ साउन २०८०, १९ : ४०
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयले सबैको नेतृत्व गर्ने गरी अगाडि नबढे विकल्प खोजिने बताएकी छन् ।  केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य खतिवडाले महामन्त्रीले देखाएको सपना पुरा गर्न कृतसङ्कल्प रहेको भन्दै दायरा फराकिलो बनाउन आग्रह गरिन् ।

‘महामन्त्री हामी सबैको नेतृत्व लिने गरेर अगाडि बढ्नुहोला । तपाईँहरूले दायरा फराकिलो बनाउनुभएन भने हामीले जसरी तपाईँहरू अरू कसैको विकल्प खोज्छौँ भन्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले पनि तपाईँहरूको विकल्प खोज्छौँ भन्नुपर्ने अवस्था नओस् । त्यतातर्फ ध्यान दिनुहोला ।’ उनले सभापति शेरबहादुर देउवालाई मात्रै दोष देखाएर महामन्त्री उम्किन नसक्ने बताइन्। 

‘सभापतिज्यू खराब, सभापतिज्यू सर्वथा अनिर्णयको बन्दी, हामीलाई असल हौँ भन्ने तपाईँहरूको दाबी प्रस्तुत भएको छ । त्यो दाबी हास्यास्पद छ । महामन्त्री सभापति र उपसभापतिको सँगसँगै उभिनुको विकल्प छैन,’ खतिवडाले भनिन् ।

खतिवडाले भ्रष्टाचाररहित समाज बनाउने चिन्तामा आफूहरू रहेको उनले बताइन्। ‘कानुनी राज्य र न्यायिक सर्वोच्चता मान्छौँ’, उनले भनिन्, ‘कांग्रेसको एउटा नेता थुनिँदा अरू नेताहरू धन्यवाद दिन गृहमन्त्रीकहाँ जानुहुन्छ। तर अरू कुनै नेताको नाम आउँदा भने चुपचाप बस्नुहुन्छ।’

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेपछि कांग्रेसका नेताहरूको एउटा समूह गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेको थियो। 

‘कांग्रेसको एकजना नेता आरोप लागेर समातिँदै गर्दा कांग्रेसकै केन्द्रीय सदस्य गृहमन्त्रीकहाँ धन्यवाद दिनु पुग्नुहुन्छ । किन धन्यवाद दिनु पुग्नु भयो थाहा छैन ? अर्को पार्टीको अमुक नेतामाथि प्रश्न उठ्दा उहाँहरू केही बोल्नुहुन्न ,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप