सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बैंक

बैंकको खराब कर्जा १ खर्ब ६२ अर्ब नाघ्यो

६७ अर्ब नाफा कमाउँदा जोखिम सुरक्षणमा ४५ अर्ब ‘प्रोभिजनिङ’ !
बिहीबार, ०४ साउन २०८०, ०९ : ४३
बिहीबार, ०४ साउन २०८०

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) को दर ३.३४ प्रतिशत पुगेको छ । यद्यपि, अघिल्लो जेठ महिनामा पनि बैंक तथा वित्तीय संस्थाहरूको एनपीएल औसत दर ३.१४ प्रतिशत नै कायम थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले जेठ मसान्तसम्ममा कुल ४८ खर्ब ५८ अर्ब कर्जा लगानी गरेका छन् । सो मध्ये १ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी उठ्न नसकेको हो । जसले गर्दा बैंकहरूको नाफामा समेत धक्का लाग्न पुगेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६९ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा खराब कर्जा (एनपीएल) व्यवस्थापनका लागि १ खर्ब ६२ अर्ब ९८ करोड रुपैयाँ बराबरको तरलता ‘प्रोभिजनिङ’ गर्नुपरेको छ ।

यद्यपि, यस्तो वित्तीय व्यवस्थापन अघिल्लो महिनाको तुलनामा ०.१७ प्रतिशतले घटेको हो । जेठ महिनाको खराब कर्जाको सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ नाफाबाट छुट्याएका थिए ।

बैंकहरूको नाफा

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार २१ वटा वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको ११ महिनामा ६९ अर्ब ९० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो जेठ मसान्तको तुलनामा १२.०७ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ७९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

मर्जरसँगै घटेको बैंकको संख्या, कर्जा विस्तार र असुलीमा समेत समस्या आएपछि यस वर्ष बैंकको नाफामा ब्रेक लाग्न पुगेको हो ।

वाणिज्य बैंकहरूको नाफा/नोक्सानको स्थिति

कुल खुद नाफामध्ये ६७ अर्ब २३ करोड २० लाख रुपैयाँ २१ वटा वाणिज्य बैंकहरूले कमाएका छन् । जसमध्ये नबिल बैंक एक्लैले ७ अर्ब ११ करोड ३० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तथापि, जेठ मसान्तसम्म खराब कर्जाको सुरक्षणका लागि बैंकले नफाको ५५.७३ प्रतिशत रकम ‘प्रोभिजनिङ’ गर्नुपरेको छ । बैंकले जेठ मसान्तसम्म ३ अर्ब ९६ करोड ४ लाख रुपैयाँ ‘प्रोभिजनिङ’ गरेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ६ अर्ब ५० करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउँदा खराब कर्जा सुरक्षणका लागि २ अर्ब ४७ करोड ३० लाख रुपैयाँ ‘प्रोभिजनिङ’ गर्नु परेको छ ।

एनएमबी बैंक  बैंकले आर्थिक वर्षको ११ महिनामा ४ अर्ब ७६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाउँदा ४ अर्ब ६१ करोड ५० लाख रुपैयाँ जोखिम सुरक्षण ‘प्रोभिजनिङ’ गरेको छ ।

यस्तै, एनआईसी एसिया बैंकले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाउँदा वित्तीय सुरक्षाका लागि ५३ करोड ३० लाख रुपैयाँ छुट्याएको छ । यस हिसाबमा एनआईसी एसिया बैंकको खराब कर्जाको दर तुलनात्मक रुपमा न्यून देखिन्छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्षको ११ महिनामा ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर सोही मात्रामा बैंकको खराब कर्जाको दर बढ्दा बैंकले जोखिम व्यवस्थापनमा ३ अर्ब २४ करोड ८० लाख रुपैयाँ बराबरको रकम ‘प्रोभिजनिङ’ गर्नु परेको छ ।

d

यस्तै, सरकारी स्वामित्वकै अर्का दुई बैंक नेपाल बैंक र कृषि विकास बैंकले ११ महिनामा क्रमशः ३ अर्ब ७ करोड ६० लाख रुपैयाँ र १ अर्ब ५६ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् भने जोखिम व्यवस्थापनमा क्रमशः १ अर्ब ६८ करोड ७० लाख रुपैयाँ र ३ अर्ब ३० करोड ४० लाख रुपैयाँ प्रोभिजनिङ गर्नुपरेको छ ।

कार्यसम्पादनका हिसाबले कृषि विकास बैंक निकै कमजोर अवस्थामा देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप