आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको ‘डेब्यू’ खेलअघि उत्साही समर्थक : युवा र नयाँ खेलाडीसँग तालमेल मिलाउने चुनौती

शुक्रबार, ०५ साउन २०८०, १४ : ५२
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि अमेरिकी समयअनुसार, शुक्रबार खेलिने मेक्सिकन क्लब क्रुज अजुलविरुद्घको खेल विशेष हुने भएको छ । लिग कपको सोही खेलमार्फत सात पटकका बेलन डी’ओर विजेता अर्जेन्टिनी स्टार लियोनल मेस्सीले इन्टर मियामीका लागि ‘डेब्यू’ गर्ने बताइएको छ ।

आफूले निकै लामो समय बिताएको स्पेनिस क्लब बार्सिलोना छाडेर अमेरिकी व्यवसायीक लिग खेल्न इन्टर मियामीमा आबद्ध भएका ३६ वर्षीय मेस्सीको खेल हेर्न उनको क्लबका समर्थकमात्र होइन, अमेरिकी फुटबल पारखीहरु पनि उत्तिकै ब्यग्र प्रतीक्षामा देखिएका छन् ।

त्यसैले मेस्सीले ‘डेब्यू’ गर्ने भनिएको खेलको टिकटको मूल्य पनि आकासिएको छ । मेस्सीलाई नै पछ्याउँदै इन्टर मियामी पुगेका बार्सिलोनाका पूर्वखेलाडी सर्जियो बुस्केट्स र जोडी अल्बाबीचको तालमेल हेर्न पनि समर्थकहरु आतुर देखिएका छन् ।

त्यसमाथि अहिले इन्टर मियामीका प्रशिक्षक जेरार्ड मार्टिनो पनि बार्सिलोनाकै पूर्वप्रशिक्षक हुन् । प्रशिक्षक मार्टिनोले गत जुनमा इन्टर मियामीमा फिल नेभिलको स्थान लिएका हुन् । बार्सिलोनाका पूर्वप्रशिक्षक र खेलाडीहरुको बलियो उपस्थितिले अमेरिकी फुटबल पारखीसँगै इन्टर मियामीलाई पनि उत्साही बनाएको छ ।

तर, शुक्रबार हुने मेक्सिकन क्लबविरुद्धको खेलमा इन्टर मियामीले कसलाई मैदानमा ओराल्छ र कसलाई बेञ्चमा राख्छ भन्ने विषयको अझै टुंगो लागिसकेको छैन । तर, क्लबले निकै अघिदेखि मेसीलाई यही खेलमार्फत ‘डेब्यू’ गराउने बताउँदै आएको छ ।

तर, एमएलएसमा इन्टर मियामीको प्रदर्शन भने अत्यन्तै निराशाजनक छ । इन्टर मियामी लिग तालिकाको सबैभन्दा तल छ । त्यसैले मेस्सी, बुस्केट्स, अल्बा र प्रशिक्षक मार्टिनोको काँधमाथि क्लबको स्तर उकास्ने सबैभन्दा ठूलो दायित्व थपिएको छ ।

यसका अतिरिक्त उनीहरुमाथि क्लबका अन्य खेलाडीहरुसँग तालमेल गर्दै अगाडि बढ्नुपर्ने अर्को चुनौती पनि छ । मेसी, बुस्केट्स र अल्बाजस्ता अनुभवी खेलाडीको आगमनले क्लबका पुराना खेलाडीहरु पनि हौंसिएका छन् । मेसी, बुस्केट्स र अल्बा आबद्ध हुनुअघि इन्टर मियामीबाट अधिकांश युवा खेलाडीले खेल्दै आएका छन् ।

हाल इन्टर मियामीमा पहिलो रोजाइको गोलरक्षकका रुपमा ड्राक क्यालेन्डर रहेका छन् । २५ वर्षीय अमेरिकी गोलरक्षक इन्टर मियामीमा सन् २०२० मा आबद्ध भएका हुन् । उनलाई क्लबले आफ्नो पहिलो रोजाइको गोलरक्षकको रुपमा लिएको छ । अमेरिकी राष्ट्रिय टोलीको सदस्य भए पनि उनले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा भने ‘डेब्यू’ गरेका छैनन् ।

यसैगरी इन्टर मियामीको रक्षापँक्ति सर्जिल क्रित्सोभ, डेआन्द्रे एड्लिन, क्रिस्टोफर म्याक भी, कमाल मिल्लरले समाल्दै आएका छन् । ३२ वर्षीय सर्जिल युक्रेनी खेलाडी हुन् । उनी गत जनवरीमा इन्टर मियामीमा आबद्ध भएका हुन् । उनले आफ्नो ब्यवसायीक खेलजीवनको अधिकांश समय आफ्नै देशका क्लबहरुमा बिताएका थिए ।

लामो समय साख्तर डोनेट्स्कमा रहँदा उनले आठवटा घरेलु लिगको उपाधि जितेका थिए । उनले युरोपियन व्यवसायीक फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा पनि २० खेल खेलेका छन् । रुस—युक्रेन युद्ध सुरु भएपछि उनी आफ्नो परिवारसहित एमएलएस क्लब इन्टर मियामीमा आबद्ध भएका हुन् ।

रक्षापँक्तिका अर्का खेलाडी एड्लिन अमेरिकाकै फुटबलर हुन् । ३० वर्षीय एड्लिन पनि मेसीजस्तै यही सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् । अमेरिकी खेलाडी भए पनि उनले आफ्नो व्यवसायीक खेलजीवनको अधिकांश समय इङ्लिस प्रिमियर लिगमा बिताएका छन् ।

DeAndre Yedlin

उनले टोट्टनहम, सन्डरल्यान्ड, न्युक्यासल युनाइटेडबाट प्रिमियर लिग खेलेका थिए ।सन् २०१४ देखि सन् २०२१ को बीचमा उनले विभिन्न क्लबबाट प्रिमियर लिगमा एक सय नौ खेल खेलेका थिए । त्यसअघि उनले अमेरिकी क्लब सियाटल साउन्डर्सबाट पनि खेलेका थिए । इन्टर मियामीमा आबद्ध हुनुअघि उनले एक सिजन टर्कीको क्लब गालातसारेमा पनि बिताएका थिए ।

यसैगरी इन्टर मियामीबाट खेल्ने रक्षापँक्तिका अर्का खेलाडी हुन्, क्रिस्टोफर म्याक भी । २६ वर्षीय क्रिस्टोफर स्विडेनका खेलाडी हुन् । उनले आफ्नो खेलजीवनको अधिकांश समय आफ्नै राष्ट्रको क्लबबाट व्यवसायीक फुटबल खेलेका थिए । उनी सन् २०२२ मा इन्टर मियामीमा आबद्ध भएका हुन् । उनले स्विडेनका लागि पछिल्लो पटक यू—१८ प्रतियोगिता खेलेका थिए ।

यसैगरी रक्षापँक्तिका अर्का खेलाडी कमाल मिल्लर क्यानेडियन हुन् । उनी गत अप्रिलमा मात्र इन्टर मियामीमा आबद्ध भएका हुन् । इन्टर मियामीमा आबद्ध हुनुअघि २६ वर्षीय मिल्लरले दुई सिजन अर्को एमएलएस क्लब सीएफ मोन्ट्रियलमा बिताएका थिए । उनी गत सिजन एमएलएसको अलस्टार टोलीमा पनि परेका थिए ।

Harvey Neville

यसैगरी हार्भी नेभलि, इयान फ्राय, नोआह एलन, रायन सेलर र इजरायल बोटराइट पनि इन्टर मियामीका रक्षापँक्तिका खेलाडी हुन् । २० वर्षीय नेभिल इन्टर मियामीका निवर्तमान प्रशिक्षक फिल नेभिलका छोरा हुन् । उनी सन् २०२१ देखि इन्टर मियामीमा छन् । उनको युवा खेलजीवन भने म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र भ्यालेन्सियामा बितेको थियो । उनी आयरल्यान्डको यू—१९ टोलीका सदस्य पनि हुन् ।

२० वर्षीय डिफेन्डर इयान सन् २०२१ देखि इन्टर मियामीमा आबद्ध छन् । पछिल्लो समय भने उनी घाइते छन् । उनलाई हालै जमैकाले आफ्नो राष्ट्रिय टोलीमा छनोट गरेको थियो । तर, उनले अमेरिकाबाटै खेल्ने अडान राखेका थिए । १९ वर्षीय नोआह एलन अमेरिकी खेलाडी हुन् । इन्टर मियामीमा यो उनको दोस्रो सिजन हो । उनी अमेरिकाको यू—२० टोलीका सदस्य पनि हुन् ।  

२४ वर्षीय रायन सेलरको पनि इन्टर मियामीमा यो दोस्रो सिजन हो । त्यसअघि उनी वासिङ्टन विश्वविद्यालयको टोलीबाट खेल्थे । १८ वर्षीय इजरायल बोटराइट डोमिनिकन यू—२० टोलीका सदस्य हुन् । इन्टर मियामीमा उनको यो दोस्रो सिजन हो । उनी अधिकांश समय रिजर्व खेलाडीको रुपमा रहँदै आएका छन् ।

यसैगरी इन्टर मियामीको मिडफिल्डरमा डिक्सन आरोयो, बेन्जामिन क्रिमास्ची, डेभिड रुइज, रोबर्ट टेलर, लावसन सन्डरल्यान्ड, एडिसन एजाकोना र भिक्टर उलाओ रहेका छन् । ३१ वर्षीय डिक्सन इक्वेडरका खेलाडी हुन् । उनी यसै वर्ष इन्टर मियामीमा आबद्ध भएका हुन् । उनी घाइते ब्राजिलियन खेलाडी ग्रेगरको स्थानमा क्लबमा आबद्ध भएका हुन् ।

Robert Taylor

बेन्जामिन क्रिमास्ची १८ वर्षीय युवा खेलाडी हुन् । उनी मियामीमै जन्मिएका हुन् । उनका पिता पाब्लो क्रिमास्ची भने अर्जेन्टिनाका चर्चित रुग्वी खेलाडी थिए । बेन्जामिन क्षमतावान खेलाडी भएकाले अमेरिका र अर्जेन्टिना दुबैले उनीमाथि आँखा लगाएका छन् । यी दुबै राष्ट्रले उनलाई आफ्नो यू—२० राष्ट्रिय टोलीमा समावेश गराउन खोजेका छन् । उनी सन् २०२२ मा इन्टर मियामीमा आबद्ध भएका हुन् ।

१९ वर्षीय डेभिड रुइज गत अप्रिलमा मात्र इन्टर मियामीको सिनियर टोलीमा आबद्ध भएका हुन् । उनले होन्डुरसको राष्ट्रिय टोलीबाट यू—२० विश्वकप पनि खेलिसकेका छन् । क्षमतावान खेलाडी भएकाले उनलाई अमेरिकाको युवा टोलीमा पनि समावेश गरिएको छ ।

यसैगरी २८ वर्षीय रोबर्ट टेलर इन्टर मियामीका केही अनुभवी मिडफिल्डर हुन् । उनी फिनल्यान्डका खेलाडी हुन् । इन्टर मियामीमा यो उनको दोस्रो सिजन हो । उनी सन् २०१७ देखि फिनल्यान्डको राष्ट्रिय टोलीका सदस्य पनि हुन् ।

२१ वर्षीय लावसन सन्डरल्यान्डले यसै महिना इन्टर मियामीमा ‘डेब्यू’ गरेका हुन् । सेन्ट लुइसमा भएको उनको ‘डेब्यू’ खेलमा इन्टर मियामी ३—० गोलले पराजित भएको थियो । उक्त खेलमा उनी परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रदेश गरेका थिए ।

यसैगरी १९ वर्षीय एडिन्सन एजकोना डोमिनिकन रिपब्लिकको राष्ट्रिय टोलीका खेलाडी हुन् । उनी इन्टर मियामी एकेडेमीकै उत्पादन हुन् । सन् २०२१ मा इन्टर मियामीको एकेडेमीले आफ्नो पहिलो ब्याच तयार पारेको थियो । उनी त्यसैका सदस्य हुन् ।

३१ वर्षीय भिक्टार उलाओ इन्टर मियामीका अनुभवी खेलाडीमध्ये एक हुन् । डिफेन्सिव मिडफिल्डर उलाओ अमेरिका र मेक्सिको दुबै राष्ट्रको टोलीबाट खेल्न पाउने अधिकार राख्छन् । तर, उनले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्ने अवसर भने पाएका छैनन् । उनले एमएलएसमा हालसम्म दुई ५० खेल खेलिसकेका छन् ।

यसैगरी इन्टर मियामीको स्ट्राइकरको भूमिकामा लियोनार्दो क्याम्पाना, जोसेफ मार्टिनेज, निकोलस स्टेफानेली, स्यान्डर बोर्गेलिन र रोबी रोबिन्सन रहेका छन् । २२ वर्षीय लियोनार्दो क्याम्पाना इक्वेडरका खेलाडी हुन् । उनको युवा खेलजीवन बार्सिलोनाको स्पोर्टिङ क्लबमा बितेको थियो । उनी यसै सिजन उल्भरह्याम्पटनबाट इन्टर मियामीमा आबद्ध भएका हुन् । सन् २०२० मा उल्भरह्याम्पटनमा आबद्ध भएका उनले त्यो क्लबाट भने एक खेल पनि खेलेनन् ।

Josef Martinez

तर, इन्टर मियामीका लागि उनले यसअघि पनि ऋणमा खेलेका थिए । इन्टर मियामीका लागि उनले १२ गोल गरेका छन् । उनले पोर्चुगिज क्लब फ्लेमिङ्गोबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए । उनका पिता पाब्लोले इक्वेडरका लागि ओलम्पिकमा टेनिस खेलेका थिए । पाब्लो ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको तेस्रो चरणसम्म पुगेका थिए ।   

यसैगरी ३० वर्षीय जोसेफ मार्टिनेज भेनेजुएलाका खेलाडी हुन् । उनी यसै सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् । उनले अन्य थुप्रै एमएलएस क्लबबाट खेलिसकेका छन् । उनी एमएलएसमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा १०औं स्थानमा छन् । उनी एटलान्टा युनाइटेडबाट इन्टर मियामीमा आबद्ध भएका हुन् । उनी गोन्जालो हिग्वेनको स्थानमा इन्टर मियामी आएका हुन् ।

सन् २०१८ मा मार्टिनेजले एटलान्टा युनाइटेडलाई एमएलएस उपाधि जिताएका थिए । उनले त्यो सिजन गोल्डेन बुटको उपाधि पनि जितेका थिए । यसका अतिरिक्त उनी प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेयर पनि घोषित भएका थिए । उनले युरोपका विभिन्न क्लबबाट पनि खेलेका थिए । उनले योङ् ब्वाइज, थुन र टोरिनोबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।

यसैगरी २८ वर्षीय निकोलस स्टेफानेली अर्जेन्टिनाका खेलाडी हुन् । उनी यसै सिजन इन्टर मियामीमा आबद्ध भएका हुन् । सन् २०१९ देखि उनले साइप्रस, चिली र स्विडेनमा ब्यवसायीक फुटबल खेल्दै आएका थिए । २१ वर्षीय स्यान्डर बोर्गेलिन हाइटीका स्ट्राइकर हुन् । उनी गत सिजन एमएलएस क्लबमा आबद्ध भएका हुन् । उनी गत सिजन इन्टर मियामीको सर्वाधिक गोलकर्ता बनेका थिए । क्लबका लागि उनले १४ गोल गरेका थिए । उनी फ्लोरिडामा जन्मिएका हुन् ।

यसैगरी २४ वर्षीय अमेरिकी खेलाडी रोबी रोबिन्सन सन् २०२० मा इन्टर मियामीमा आबद्ध भएका थिए । बीचमा केही समय क्लबबाट टाढिएका उनी सन् २०२२ मा पुनः पुरानै क्लबमा फर्किएका थिए । उनी कलेज फुटबल हुँदै एमएलएस क्लबसँग जोडिएका थिए । उनलाई सन् २०२१ मा चिलीले आफ्नो राष्ट्रिय टोलीमा समावेश गरेको थियो । तर, अमेरिकाबाट पनि खेल्न पाउने भएकाले उनी चिलीबाट खेल्न गएनन् । उनले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप