अवैध सुन बरामद प्रकरण : छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो
काठमाडौँ । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिएको छ । ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
“विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकृतहरू तोकिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ परेकाहरूले बयानमार्फत थप कसैको नाम पोल्ने र अनुसन्धान गर्दा थप प्रमाण फेला पार्न सकिन्छ कि भनेर अबको अनुसन्धान त्यतातर्फ केन्द्रित भएको छ”, विभागका सूचना अधिकारी नवराज अधिकारीले भने ।
यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृतहरू तोकिएका छन् । पाँच सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउने छ । ऐनले विभागका महानिर्देशक आफैँ रहन सक्ने वा महानिर्देशकको निर्देशनमा काम गर्ने गरी अनुसन्धान अधिकृत तोकिन सक्ने व्यवस्था गरेको छ ।
राजस्व चुहावटसँग सम्बन्धित प्रमाण सङ्कलन गर्दा कसुरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकतानुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा मालवस्तु आफ्नो कब्जामा लिनेलगायतका अधिकारसहित अनुसन्धान अधिकृतहरू तोकिएका हुन् ।
रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ ।
त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सिसीटिभी क्यामेराका फुटेज र सुरक्षा जाँचपासका क्रममा लिइएका एक्सरे मेसिनका इमेज थप अनुसन्धानका लागि भन्दै विभागले नियन्त्रणमा लिइसकेको छ । बुधबार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र तौल तथा गुणस्तर परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण