मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
कला

थियटरले सिकायो अभिनय, सानो पर्दाले बनायो चर्चित

आइतबार, ०७ साउन २०८०, ११ : १३
आइतबार, ०७ साउन २०८०

फिल्म र थियटरमध्ये कुन रोज्नु हुन्छ ? यस प्रश्नमा प्रायःको रोजाई फिल्म हुन्छ । किनकि नाम, दाम जो छ फिल्ममा । अभिनेता कमलमणि नेपाल भने आफू थियटर रोज्ने बताउँछन् । भन्छन्, ‘एउटा कलाकारलाई थियटर अभिनयबाट मिल्ने सुन्तुष्टि फिल्मले पो कहाँ दिन्छ र ?’ हुन त पछिल्लो समय फिल्ममा थियटर कलाकारकै जगजगी छ । फिल्म हिट दिनेदेखि ब्यस्त र धेरै कमाउन सफल कलाकार थियटरबाटै भित्रिएका पर्छन् । 

‘फिल्मले कलाकारितामा निखार ल्याउँदैन, जति थियटरले ल्याउँछ’, उनले भने ‘थियटरमा फ्रि भएर अभिनय गर्न सकिन्छ । फिल्ममा एउटा क्यामराको फे्रमभित्र बसेर अभिनय गर्नुपर्छ ।’ तर, थियटर आर्थिक रुपले समृद्ध नभएकोले पनि त्यहाँका कलाकारले फिल्म रोज्नु परेको उनी सुनाउँछन् । ‘थियटरमा आर्थिक रुपले सवल भए म सायद फिल्ममा आउँदिन थिएँ,’ उनले भने, ‘युरोपतिर थियटरका लागि एक बर्ष पछाडि सम्मको टिकट बुक हुन्छ । हाम्रो त्यो संस्कार छैन ।’ यसरी थियटर कलाकारको फिल्म प्राथामिकतामा पर्नु बाँच्नका लागि रहेको उनको धारणा छ ।

कमलमणि पछिल्लो समय थियटर, फिल्म र सानो पर्दा सबैतिर छाउन सफल छन् । केही अगाडि मात्र उनको निर्देशनमा मण्डला थियटरमा नाटक ‘कोराघाट’ मञ्चन भएको थियो । फिल्मको कुरा गर्नु पर्दा उनको हालै ‘बहाव’ र ‘प्रसाद २’ रिलिज भयो । भदौमा नयाँ फिल्म ‘नाङ्गो गाउँ’ रिलिज हुँदैछ । अहिले उनी फिल्म ‘हात्तीछाप’ को सुटिङमा व्यस्त छन् ।

kamalmani (1)


सानो पर्दाको सिरियल ‘सक्की गो नि’ मा उनी लामो समयदेखि छन् । जसमा उनले निर्वाह गर्ने भूमिका ‘खुपीका बा’ सबैले रुचाएको पात्रमा पर्छ । थियटर सन्तुष्टि र फिल्म तथा सानो पर्दा बाँच्ने मेलो भएको उनले बताए ।

‘चरित्र अभिनेतामा चित्त बुझाइयो’

अध्ययन र कामको खोजीको क्रममा कमलमणि २०५४ सालमा  विराटनगरबाट काठमाडौं छिरेका थिए ।  बानेश्वर कलेज भर्ना भए । पढाई चल्दै थियो । यसै क्रममा ‘अझै केही गर्न बाँकी छ’ भन्ने नाटकमा आफन्तको सिफारिशमा अभिनय गर्ने अवसर पाए । 

नाटकमा उनको ‘तराईवासी’ को भूमिका थियो । जुन भूमिका उनी पहिलेदेखि नै गाउँघरमा बेलाबेला गरेर सबैलाई हसाउँथे । नाटकमा उनले निर्वाह गरेको भूमिकाले तारिफ पायो । त्यसले उनलाई अभिनयमा अगाडि बढ्न हौसला मिल्यो । अभिनयकै लागि उनी नाचघर छिरे । नाचघरको प्रशिक्षणले उनमा अभिनयको भोक झन् जगायो । त्यसैले, केही समयको नाचघर यात्रापछि उनी २०५८ मा गुरुकुल छिरे । गुरुकुल छिरेपछि आफ्नो अभिनय करियर उचाईमा पुगेको कमलमणि बताउँछन् ।

‘सहकारीमा काम गर्दै, पैसा नहुँदा एक छाक खाएर पनि नाटक अभिनय छोडिन’, उनले भने, ‘त्यो संघर्षले अहिले अभिनयमा स्थापित गरायो ।’ एउटै बिधामा निरन्तर लाग्यो भने राम्रो गर्न सकिने उनको अनुभव छ । अभिनयमा फिल्म, सिरियल, विज्ञापन लगायत धेरै बिधा भ्याइसकेका छन् उनले । ‘खान लाउन दुःख छैन,’ उनी कलाकारितामा सन्तुष्ट देखिए, ‘घर, गाडी जोड्नै पर्छ भन्ने छैन ।’ काम लगाएर पैसा नदिने धेरैको फेला परेको कारण आफूले ठूलो फड्को मार्न नसकेको उनी पीडा सुनाउँछन् ।

kamalmani (2)

फिल्म, टेलिसिरियल, नाटक सबैतिर छाएपनि कमलमणि अभिनयमा भने चरित्र अभिनेताको रुपमा देखिदै आएका छन् । हिरो बन्न मन नलागेकै हो त ? प्रश्न राख्न नभ्याउँदै उत्तर फर्काए, ‘धन्दा, लोफर र अन्तराल लगायत फिल्ममा हिरो खेलेको थिएँ तर फिल्म चलेन ।’ ‘हिरो भएको फिल्म चलिदिएको भए हिरोकै रुपमा छाउँथे। फिल्म नचलेपछि चरित्र अभिनेतामा झरें ।’ चरित्र अभिनेताकै रुपमा भएपनि राम्रो र गजव गर्छ भन्दा आफूलाई सन्तुष्टि मिल्ने उनले बताए ।

फिल्मका लागि अचेल दलित क्यारेक्टर आयो भने पहिलो रोजाइमा पर्छन् उनी । कारण एक फिल्ममा उनले निर्वाह गरेको दलितको भूमिका सबैले रुचाएका थिए । ‘कुनै एक क्यारेक्टरमा कसैले राम्रो गर्यो भने सबैले त्यसलाई त्यही क्यारेक्टर दिन्छन् । कसैले यो भन्दा माथि उठेर सोच्न सक्दैन’, नेपालले भने, ‘एउटाले फरक भूमिका दिइएको थियो, त्यो चलेन ।’ 

कलाकार भएकोले जे भूमिका आउँछ, त्यो निर्वाह गर्नु कर्तव्य ठान्छन् उनी । कलाकारलाई पहिले गरेको भूमिका अर्काे पटक फेरि दोहोरिनु भनेको उसले त्यो पात्रमा न्याय गरेको रहेछ भन्ने उनको बुझाइ छ । 

kamalmani (5)

थियटर गज्जब टिमवर्क
पछिल्लो समय निर्माण भएका नेपाली फिल्ममा थियटर र अन्य कलाकारको उपस्थिति बराबरजस्तै देख्न सकिन्छ । उपस्थिति उस्तै भएपनि अभिनयमा भने आकाश जमिनको भिन्नता छ ।

थियटरबाटै भित्रिएका कलाकारको फिल्ममा उपस्थिति दमदार देखिन्छ । ‘थियटरमा महिनौसम्म एकै चिजमा फोकस गरिन्छ । त्यसमा स्क्रिप्टदेखि हरेक मोमेन्ट कण्ठ हुन्छ । स्टेजमा जाँदा अन्य कुरो केही सोच्नुपर्दैन । अभ्यास नै त्यस्तो हुन्छ’, नेपालले अगाडि थपे, ‘तर, फिल्ममा लामो अभ्यास नै हुँदैन ।’  फिल्ममा फिल्डमा स्क्रिप्ट पढ्न दिइन्छ । त्यसरी गरेको अभिनयमा चरित्रको फिल नआउने उनी बताउँछन् । थियटरका लागि एक महिना एउटै कोठामा रिहर्सल हुने, विभिन्न प्रयोग गरिने गरे पनि फिल्ममा त्यो प्राक्टिस हुन्न ।

भनिन्छ, ‘मानिसलाई अभावले सिर्जनात्मक बनाउँछ’ । यो भनाई थियटरमा देखिन्छ । फिल्म भन्दा थियटरमा आर्थिक अभाव धेरै हुन्छ तर सिर्जनात्मक रुपमा बलियो देख्न सकिन्छ उनको जिकिर छ । एउटै फिल्ममा चरित्रअनुसार ब्यक्तिको काम फरक फरक हुन्छ । त्यो हिसावले पारिश्रमिक पनि भिन्न त हुने नै भयो । त्यो भिन्नताको कारण पनि फिल्ममा सबैको समान फिलिङको अभिनय देख्न सकिन्न ।

‘फिल्ममा कलाकारअनुसार अभिनयमा भिन्नता आउनुको कारण पारिश्रमिकको ग्याप पनि हो’, नेपालले अगाडि थपे, ‘यो ग्याप चाहेर पनि मिलाउन सकिन्न ।’  ‘थियटरमा सबैको पारिश्रमिक एउटै हुन्छ । नाटक चल्यो पैसा आयो, चलेन आएन,’ उनले भने ।

kamalmani (6)

सबैको दिमाग र मिहिनेत नाटकमा एकसाथ हुने भएकोले पनि फिल्म भन्दा नाटक बेष्ट हुने उनको बुझाई छ । उनी थप्छन्, ‘थियटर टिमवर्क हो । महिनौसम्म बन्द कोठाभित्र बसिन्छ । फिल्ममा त्यो एक्सरसाईज कहाँ हुन्छ र ।’ अहिले फिल्म क्षेत्र थियटर कलाकारले नै धानेका छन् । राम्रो दाम र नाम भएकोले पनि फिल्ममा भित्रिएका कलाकार थियटर फर्किन गाह्रो मानिरहेको अवस्था छ । 
‘हामी थियटर कलाकार पैसाको पछि लागेर धरातल बिर्सिदै जान थालेका छौ’, उनले भने, ‘जहाँबाट उठ्यो, त्यो बिर्सिनु राम्रो होइन ।’ यो कुरोमा केही हदसम्म आफूलाई पनि दोषी मान्छन् उनी । 

त्यसैले, फट्टफुट्ट थियटर गर्ने गरेको बताउँदै उनी भन्छन्, ‘थियटरलाई जति समय दिनुपर्ने हो, त्यो दिन सकेको छैन । तर, थियटरबाट टाढा भने रहन सक्दिन ।’

चर्चा सानो पर्दामै
थियटरबाट फिल्ममा स्थापित कतिपय कलाकार थियटरमा फर्किदा संकोच समेत मान्ने गरेका छन् । उनी आफूलाई भने कुनै संकोच नहुने बताउँछन् । फिल्मबाट राम्रो आम्दानी गरिसकेकाले थियटरमै पुरै फर्किन उनी सुझाउँछन् । ‘अभिनयको प्यास थियटरले मेट्छ । नभए पोष्टरमा तस्विर मात्र राख्दा पनि फिल्म चल्ने राजेश हमाल जस्तो कलाकार किन थियटर आउनु हुन्थ्यो र ?’, उनी अगाडि भन्छन्, ‘राजेश दाई थियटरमा आउनु भनेको अभिनयको प्यास नै हो ।’

kamalmani (8)

कमलमणिलाई कलाकारको रुपमा सर्वपरिचित गराउने काम सानो पर्दाको सिरियल ‘सक्कि गो नि ’ले गरेको हो । यो सिरियलपछि थियटर र फिल्म हलमा सीमित उनी घर घर पुग्न सफल भए ।  ‘पैसा फिल्ममा छ तर अभिनयको चर्चा भने सानो पर्दाबाटै हँुदो रहेछ’, नेपालले खुसी साटे, ‘सानो पर्दाबाट धेरैको भान्सा, बेडरुम, मोवाइल सबैतिर पुग्न सकिदो रहेछ ।’ 
सिरियलमा लामो समयदेखि उनी एउटै पत्रको रुपमा देखिदै आएका छन् । फिल्ममा भने उनी कहिले बुबा, कहिले श्रीमान्, नोकरलगायत फरक फरक भूमिकामा देखिदै आएका छन् ।

फिल्ममा उनले बढी चर्चामा पाएको भूमिका भने ‘कबड्डी’को बिकेको बाउ, ‘जात्रा’को भिष्म दाई, मिष्टर भर्जिनको अविवाहित केटो हो । फिल्म नचल्दा आफूले अभिनय गरेको धेरै राम्रो भूमिका ओझेलमा पर्ने गरेको उनले बताए ।

kamalmani (9)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप