सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

दुईपक्षीय सम्बन्ध र आयोजनाबारे चिनियाँ चासो

मङ्गलबार, ०९ साउन २०८०, १८ : १०
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य युआन च्या च्युन नेतृत्वको प्रतिनिधिमण्डल तीन दिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्किएको छ । नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्दै दुई पक्षीय सम्झौता र चिनियाँ आयोजनाका विषयमा चिनियाँ प्रतिनिधिले भ्रमणका क्रममा चासो राखेका छन् ।

माओवादी केन्द्रको निमन्त्रणमा नेपाल भ्रमणमा आए पनि चिनियाँ प्रतिनिधिमण्डलले सबैजसो पार्टीका नेताहरुलाई भेटेर फर्किएका छन् । २०७६ असोज २५ गते चिनियाँ राष्ट्रपति सी जीनपिङ नेपाल आउँदा भएको आयोजना सम्झौताका विषयमा चिनियाँ प्रतिनिधिहरुले चासो राखेको भेटमा सहभागी नेताहरुले बताएका छन् ।

चिनियाँ लगानीका आयोजनासँगै विगतमा भएका समझदारीका विषयमा उनीहरुले सरोकार राखेको बताइएको छ । नेपालका पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न इच्छुक भएको सन्देश चिनियाँ प्रतिनिधिमण्डलले दिएका छन् । चीनले नेपाल र चीन सरकार, जनता र जनताबीच, पार्टी र पार्टीबीच सम्बन्ध राख्न चाहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए ।

श्रीलंका हुँदै नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलले नेपाललाई उच्च महत्त्व दिँदै शीर्ष तहको भेटघाटमा सम्बन्ध विस्तार र विगतका समझदारीलाई स्मरण गराउन खोजेको चौलागाईंले उल्लेख गरे । चीनले पार्टीगत सम्बन्ध सुधार गर्दै पूर्वाधार विकासमा लगानी गर्न खोजेको उनको बुझाइ छ ।

चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग गत आइतबार भेट गरेको थियो । राष्ट्रपतिलाई भेटे लगत्तै चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल माध्यमबाट संवाद गरेको थियो । यस्तै, आइतबार बेलुका माओवादी पदाधिकारीसँग डिनर मिटिङ भएको थियो । माओवादी पदाधिकारीसँग संवाद गर्नु अघि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ नेता युआन च्या च्युनसँग ‘वान टु वान’ संवाद गरेको एक माओवादी नेताले बताए । एकल भेटमा कुन कुन विषयमा कुराकानी भयो भन्ने कतै खुलाइएको छैन ।

त्यसपछि माओवादी पदाधिकारीले सामूहिक रुपमा चिनियाँ प्रतिनिधिमण्डलसँग संवाद गरेका हुन् । नेपालको विकास र समृद्धिमा चीन सहयोग गर्न इच्छुक देखिएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए । ‘नेपालको सामाजिक, आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएको छ । हामीले विभिन्न तहमा हुने भ्रमण आदानप्रदान निरन्तर चलिराख्नेछ भन्ने कुरा राख्यौँ । उहाँहरूबाट पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौँ,’ पुनले भने ।

गत सोमबार सभामुख देवराज घिमिरेसँग चिनियाँ प्रतिनिधिहरुले भेटवार्ता गरेका थिए । सभामुख घिमिरेसँगको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए । सोमबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे लगायतसँग चिनियाँ प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार बिहान भेटवार्ता गरेको थियो ।

चीनले पार्टीगत रुपमा सबैसँग सम्बन्ध विस्तार गर्न खोजेको रुपमा धेरैले यो भ्रमणलाई अर्थ्याएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पछिल्लो समय चीनले दुई पक्षीय र बहु पक्षीय सम्बन्ध राख्न खोजेको बताए । नेपाल चीनको छिमेकी देश भएकाले चासो र सरोकार राख्ने गरेको रिजालको भनाइ छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता युआन च्या च्युन राष्ट्रपति सीका विश्वासपात्र मानिएकाले उनको भ्रमणलाई महत्त्वका साथ लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप