शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

सकियो कांग्रेस केन्द्रीय समिति बैठक : महासमिति बैठक मंसिरमा

बुधबार, १० साउन २०८०, २० : २०
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । यही साउन २ गतेदेखि सञ्चालन भएको बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए । 
    
सभापति देउवाले भने, “धेरै आलोचना होला भन्ने लागेका थियोे, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।” उनले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गरे ।  

सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिए । बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्ने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो । 

मंसिरमा महासमिति बैठक

 कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । 

१४ औं महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गरिने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ। 

महासमिति बैठक काठमाडौंमा बस्नेछ। यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको  महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

मधेसबारे निर्णय
 कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारलाई माग गरेको छ ।

शर्माले मधेस प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।

यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।

अनुशासनबारे 
कांग्रेसले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय पनि गरेको छ । 

बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री  शर्माले बताए ।

भ्रष्टाचार विरोधी अभियानमा साथ दिने 
नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको छ । 

केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको महामन्त्री शर्माले बताए । कांग्रेस बैठक भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे भने कांग्रेस मौन बसेको छ । 

गगन थापाको फरक मत
यसैबीच कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मत राखेका छन् ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणबारे बैठकले निलम्बनको निर्णय नलिएपछि महामन्त्री थापाले फरक मत राखेका हुन् । बैठकमा पनि महामन्त्री थापाले  खाणलाई निलम्बन गर्नुपर्ने लिखित मत दर्ज गराएका थिए । 

बैठकका निर्णयमा पनि महामन्त्री थापाको लिखित मत रहेको अर्को शर्माले सुनाए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप