शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपाले किन सार्वजनिक गर्न सकेन केन्द्रीय समिति सदस्यको नामावली ?

शुक्रबार, १२ साउन २०८०, २३ : ५२
शुक्रबार, १२ साउन २०८०

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति सदस्यको नामावली हालसम्म सार्वजनिक गरेका छैनन् । अध्यक्ष ठाकुरले आजभोलि नै सार्वजनिक गर्ने आश्वासन नेताहरुलाई दिए पनि महिनौँ बित्दासमेत सार्वजनिक हुन नसकेको हो ।

स्रोतका अनुसार अध्यक्ष ठाकुरले केन्द्रीय समिति सदस्यको नामावली तयार गरे पनि पदाधिकारीसहित कार्यविभाजनमा अप्ठ्यारो भएको कारण सार्वजनिक गर्न ढिला भएको हो ।

कार्यकारिणी समितिका आधारमा पार्टी सञ्चालन हुँदै आएको दुई वर्ष हुन लागेको छ । तर केन्द्रीय समितिलगायत अन्य समिति गठन भएको छैन । पछिल्लो समय अध्यक्ष ठाकुर केन्द्रीय समितिलगायत पदाधिकारी, राजनीतिक समिति बनाउन आफैँ लागिपरेका थिए । नेताहरुबाट बेलाबेलामा बोलाएर सुझाव लिँदै उनले विभिन्न समिति तयार गरिसकेका छन् तर सार्वजनिक गर्न सकेका छैनन् ।

लोसपाका कार्यकारिणी सदस्य एवं सांसद सर्वेन्द्रनाथ शुक्लाले चाँडै नै सबै समिति सार्वजनिक हुने बताए । उनले भने, ‘मेरो बुझाईमा अध्यक्षज्यूले समितिहरु तयार गरिसक्नु भएको छ, त्यसलाई अन्तिम रुप दिएर चाँडै नै सार्वजनिक गर्नुहुन्छ ।’

शुक्लाका अनुसार केन्द्रीय समिति, पदाधिकारी, राजनीतिक समितिलगायतका समितिहरु तयार गर्दा अध्यक्ष ठाकुरले उनीसँग पनि सल्लाह लिएका थिए । आफूले पश्चिम मधेसबाट समेट्नु पर्ने नेता तथा कार्यकर्ताहरुको बारेमा सुझाव दिएको शुक्लाको भनाइ छ ।

पार्टी अध्यक्ष ठाकुरले नेताहरुसँग कहिले समूहमा, कहिले एक्लाएक्लै सुझाव लिएका छन् र त्यही सुझावको आधारमा गठन गरेका समितिहरु चाँडै नै सार्वजनिक हुने उनले बताए ।

कार्यकारिणी सदस्य उमाकान्त झाले पनि अध्यक्ष ठाकुरले समितिहरु तयार गरिसकेको जानकारी दिए । त्यसलाई चाँडै नै सार्वजनिक गरिने उनको भनाइ छ । पार्टीका नेताहरुसँग विभिन्न चरणमा छलफल गरेर तयार परेका समितिहरु चाँडै सार्वजनिक हुने आफूले विश्वास लिएको उनले बताए ।

लोसपाको विधानमा ४०१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । राजनीतिक समिति १५० सदस्य र कार्यकारिणी समिति ३१ सदस्यीय व्यवस्था गरेको छ । तर अहिले कार्यकारिणी सदस्य २१ सदस्यीय मात्र छ । त्यसमा अझै १० जना थप्न बाँकी छ ।

लोसपाको विधानअनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ समिति, केन्द्रीय अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति र केन्द्रीय लेखापरीक्षण समिति गठन गर्नुपर्ने व्यवस्था छ । त्यसमध्ये हालसम्म कार्यकारिणी समितिमात्र गठन भएको छ ।

विधान अनुसार केन्द्रीय समितिमा १० जना पदाधिकारी रहने व्यवस्था छ । तर हालसम्म अध्यक्ष र दुई जना वरिष्ठ नेताको भरमा पार्टी सञ्चालन भइरहेको छ । अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेताहरुका राजेन्द्र महतो र शरतसिंह भण्डारी छन् ।

विधानअनुसार पहिलो वरीयतामा केन्द्रीय अध्यक्ष र दोस्रो वरीयतामा वरिष्ठ नेता छन् । त्यसबाहेक विधानले सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता र कोषाध्यक्षको व्यवस्था पनि विधानले गरेको छ । तर हालसम्म कसैलाई ती पदमा जिम्मेवारी दिइएको छैन ।

लोसपामा एक जना अध्यक्ष भए पनि विगतको राजपाको अध्यक्षमण्डलमा जस्तै शीर्ष चार नेताबीच भागबन्डा हुने गरेको छ । राजपा हुँदा ६ जनाको अध्यक्षमण्डल थियो । त्यसमध्ये महेन्द्र राय यादव र राजकिशोर यादव अन्य पार्टीमा गइसकेका छन् ।

तत्कालीन राजपामा रहेका अध्यक्षमण्डलका सदस्यमध्ये महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा लोसपामा छन् । लोसपामा यिनै चारजनाको बीचमा हरेक कुराको भागबन्डा हुने गरेको छ । लोसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘राजपाको अध्यक्षमण्डल लोसपामा बिउँतिए जस्तो छ, अध्यक्षमण्डलका कारण राजपा जसरी ठिकसँग चलेन, त्यस्तै हालत अहिले लोसपाको छ ।’

एकल अध्यक्ष प्रणालीको पार्टीमा अध्यक्षलाई ठिक ढङ्गले काम गर्न दिनुपर्ने भए पनि लोसपामा त्यस्तो अभ्यास नभएको ती नेताले बताए । हरेक कुरामा शीर्ष नेताहरूबाट अवरोध भइरहेको ती नेताले दाबी गरे ।

उनले भने, ‘अध्यक्ष ठाकुरलाई काम गर्न दिएको भए अहिलेसम्म सबै भइसकेको हुन्थ्यो । तर अन्य शीर्ष नेताहरूको तर्फबाट बेलाबेलामा डिस्टर्ब भइरहेका हुन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप