बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
बाढीपहिरो

हुम्लाको तीनवटा गाउँ बाढी र पहिरोले घेरिए, हेलिकप्टर पठाउने तयारी

करिब ५०० सय घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने देखियो :  सहायक प्रमुख जिल्ला अधिकारी
शनिबार, १३ साउन २०८०, ११ : ३६
शनिबार, १३ साउन २०८०

 सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने तीन वटा गाउँ बाढी र पहिरोले घेरिएको छ । वडा नम्बर २ को रिप, ६ को जिउँसी र ८ को एउटा गाउँ गत रातिदेखिकाे अविरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले घेरिएको हो । 

त्यहाँका नागरिकहरू त्रासमा बसिरहेको गाउँपालिका उपाध्यक्ष चन्द्र कार्कीले जानकारी दिए । 'राति ११ बजेबाट सुरु भएको वर्षा‌ अहिलेसम्म पनि रोकिएको छैन,' उनले भने, 'रिप गाउँको वरिपरिका खोला नालाहरू बढेर गाउँ पसेका छन् भने खोलामाथि बनाइएका काठे पुलहरू बगेका छन् ।' अहिलेसम्म मानवीय क्षति अहिले नभए पनि बस्ती उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको कार्कीको भनाई छ।

खोलामा रहेका काठे पुल बगाउँदा मान्छेहरू बस्तीबाहिर आउन नसकेको उनले बताए । पानीले जग्गा जमिन बग्न थालेको छ। 

अहिले रिपमै रहेका नेकपा माओवादी पार्टीका नेता छवि थापाले दिएको जानकारी अनुसार रिप गाउँको वरिपरि खोला र माथिबाट पहिरो खसिरहेको छ । ‌नागरिकहरू बस्तीबाट बाहिर आउन सक्ने अवस्था नरहेको उनले बताए । यस्तै खानेपानीको ट्याङ्की, पाइपहरू समेत बगिसकेका छन् । 

बस्तीलाई चाँडै स्थानान्तरण गर्न नसके ठुलो मानवीय क्षति हुने उनले चिन्ता व्यक्त थरे । २० वर्ष पहिला पनि एक पटक त्यस्तै घटना भएको र अहिले पुनः बस्ती नै जोखिम हुने गरी बाढी र पहिरो आएको उनले बताए ।

उता जिउँसी गाउँ दलित बस्ती हो । त्यहाँका नागरिकहरू अहिले छतमा बसिरहेको थापाले जानकारी दिए। विद्यालय जाने बाटो, जग्गा जमिन सबै बगाइसकेको पनि उनको भनाइ छ।

हुम्लामा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले करिब ५०० सय घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने बताए । 'माथिबाट पहिरो खस्यो भने नागरिकहरू कहाँ जाने भन्ने त्रासमा हुनुहुन्छ,' उनले राताेपाटीसँग भने, 'सुर्खेतबाट हेलिकप्टर आउने तयारीमा रहेको छ।'

यता नागरिकलाई स्थानान्तरणका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रदेश सरकारका कानुन मन्त्री कृष्ण जिसीले बताए । बस्ती स्थानान्तरण लागि सुरुमा ठाउँहरुकाे खोजी गरिने र त्यसपछि मात्र स्थानान्तरणका लागि पहल थालिने उनले बताए । 'रिप,‌ राबे, जिउँसी गाउँ बाढी र पहिरोले घेरिएको अवस्थामा रहेको र नागरिकहरू त्रासमा बसिरहेको भन्ने कुरा हामीकहाँ आएको छ,'उनले भने,' मान्छेलाई बाहिर निकाल्न सकिएको अवस्था छैन।'

नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र केही समयमा हुम्ला उड्ने उनले बताए ।

मन्त्री जिसीले गृह मन्त्रालयबाट पनि थप हेलिकप्टर माग गरिएको बताए । 'राहत सामग्री लिएर सुरक्षित स्थानमा सार्नका लागि सहज होस् भनेर ‌हामीले‌ गृहसँग माग गरेका छौँ,' उनले भने । त्यहाँकाे टेलिफाेन समेत लाग्न नसकेकाले समस्या भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप