डेङ्गु सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी
काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको सङ्क्रमण त्यसपछिको पाँच दिनमा त्यो सङ्ख्या बढेर पाँच हजार छ सय ८८ मा पुगेको छ ।
डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।
यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा तीन हजार आठ सय २१, बागमती प्रदेशमा नौ सय ६२, गण्डकी प्रदेशमा तीन सय ५७, सुदूरपश्चिम प्रदेशमा तीन सय २५, लुम्बिनी प्रदेशमा एक सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा सङ्क्रमण देखिएको छ ।
१० जिल्लामा बढी सङ्क्रमण
नयाँ देखिएका बिरामीमध्ये चार हजार नौ सय ३९ (८७ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६, धादिङ छ सय ५५, कास्की दुई सय आठ, दार्चुला एक सय ९१, काठमाडौँ ९६, सङ्खुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेङ्गुका बिरामी भेटिएका छन् ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
पुसयता डेङ्गी सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । अहिलेसम्म डेङ्गी सङ्क्रमण ७० जिल्लामा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण