सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अपराध वृद्धिको मुख्य कारक नश्लीय व्यवस्था नै हो त ?

मङ्गलबार, १६ साउन २०८०, ११ : २६
मङ्गलबार, १६ साउन २०८०

अज्ञान भनेपछि अहङ्कार भनिरहनु पर्दैन । अहङ्कार भनेपछि अज्ञान भनिरहनु पर्दैन । यी दुवै सँगसँगै रहन्छन् । अनि कदापि आफ्नो गल्ती महसुस गर्न दिँदैन । अज्ञान र अहङ्कारले देख्नै दिँदैन त महसुस कसरी हुन्छ ? बरु अज्ञानले आत्मविश्वास भरिएको हुन्छ । सिङ्गै देशमा आफ्नै समुदायको शासन सत्ताले त्यो आत्मविश्वासलाई अझै सबल पार्छ ।

केही दिन पहिले एक अधिवक्ता महिलाले अपराधसम्बन्धी विषयमा दिएको जाति लक्षित अभिव्यक्तिमा त्यही नश्लीय आत्मविश्वास झल्किन्छ– अज्ञान र अहङ्कारले ग्रस्त आत्मविश्वास । म व्यक्तिमा जान्नँ, किनभने यो व्यक्तिको होइन, प्रवृत्तिको कुरा हो । 

उनको अभिव्यक्ति र त्यसमा निहित आत्मविश्वास मेरा लागि कुनै आश्चर्यको विषय होइन । यो प्रवृत्ति त मलगायत शासक इतर जातिले नियमित रूपमा ठाउँ ठाउँमा भोगिरहेकै हो । समुदाय, विद्यालय, कार्यालय, बृहत् समाज, जहाँ जहाँ गइन्छ सबैतिर भोग्नु पर्छ । सानैदेखि वृद्ध हुँदासम्म भोग्नु पर्छ । हरेक किसिमले आफ्नो जातिप्रति गरिने हेय टिप्पणी सुनिरहनुपर्ने हुन्छ । फेरि त्यसको प्रतिरक्षा मात्र गर्दा पनि उल्टै जातिवादी, साम्प्रदायिकको थप्पा बेहोर्नु पर्छ । उनीहरूको नजरमा आफूहरू जन्मजातै सहिष्णु, उदार हृदयका, राष्ट्रप्रेमी, मानवतावादी हुन्छन् । बाँकी सबै जन्मजातै सङ्कुचित, साम्प्रदायिक, जातिवादी, देशद्रोही हुन्छन् ।

अधिकार र समानताको वकालत गर्ने संस्थाहरूमा काम गर्दा त मैले यस्ता कुरा नियमित भोगेँ भने अरू ठाउँको के कुरा गर्नु ? तर यी सबै उनीहरूलाई पटक्कै बोध हुँदैन । किनभने उनीहरूले जानेर, बुझेर, सोचेर गरैकै होइन । यो त उनीहरूको अचेतनबाट निःसृत स्वचालित प्रवृत्ति हो । उनीहरूलाई यस्ता कुकार्य गर्न सोच्नुपर्ने जरुरत नै हुँदैन । बरु उनीहरू एकोहोरिन्छन्, ‘मेरो त्यस्तो नियत नै होइन, तिम्रो हेराइ नै सङ्कुचित हो । हाम्रो त हृदय फराकिलो छ ।’ अनि उनीहरूले कसरी गल्ती महसुस गरून् ? किन माफी मागुन् ?

बरु यो उनीहरूको पुर्ख्यौली अधिकार पो हो त । बालकैदेखि घरमै प्रत्येक दिन प्रशिक्षण दिइएको हुन्छ– “हामी, र मात्र हामी, सभ्य हौँ, सुसंकृत हौँ । हाम्रो भाषा, धर्म, रीतिरिवाज उच्च दर्जाको हो । अरू असभ्य, नीच, हीन हुन् । ती अपराधी मनोवृत्तिका हुन्छन् । तिनको बुद्धि मोटो हुन्छ । हामीले तिनमाथि शासन गरेर सुधार्नु पर्छ ।” 

हरेक किसिमले आफ्नो जातिप्रति गरिने हेय टिप्पणी सुनिरहनुपर्ने हुन्छ । फेरि त्यसको प्रतिरक्षा मात्र गर्दा पनि उल्टै जातिवादी, साम्प्रदायिकको थप्पा बेहोर्नु पर्छ । उनीहरूको नजरमा आफूहरू जन्मजातै सहिष्णु, उदार हृदयका, राष्ट्रप्रेमी, मानवतावादी हुन्छन् । बाँकी सबै जन्मजातै सङ्कुचित, साम्प्रदायिक, जातिवादी, देशद्रोही हुन्छन् ।

विद्यालय जान्छ । त्यहाँ आफ्नै भाषा र संस्कृतिलाई पक्षपोषण गर्ने शिक्षा पाउँछ । कार्यालय जान्छ, त्यहाँ आफ्नो जस्तै अनुहारका अधिकारीहरू भेट्छ । मिडियामा पनि आफ्नै समुदायको अनुहार, विश्वास र रीतिरिवाज देख्छ । अनि आफ्नो श्रेष्ठता अचेतनमै अङ्कित हुन जान्छ । त्यसैले जस्तोसुकै कर्तुत गर्दा पनि उनीहरूलाई पटक्कै ग्लानि हुँदैन । आफैँ एकोहोरो सोचाइ राख्छ, एकनासको कुरा गर्छ । तर हेर्ने, सुन्ने, प्रतिक्रिया दिनेकै गल्ती देख्छ । तिनैले आफ्नो हेराइ बदल्नुपर्ने देख्छ । तिनैले आफूलाई सुधार्नुपर्ने देख्छ ।

जातीय टिप्पणीका केही उदाहरण

यो प्रवृत्ति जनस्तरदेखि उच्चस्तरसम्म व्यापक छ । यस कारण एक जना पूर्वराष्ट्रपति नेवार जातिको कुमारी प्रथाले बालअधिकार हनन गरेको देखे । अनि मजाले यो प्रथा हटाउनुपर्ने अभिव्यक्ति दिए । तर आफू अनेकौँ उच्च ओहदामा रहँदा पनि देशका त के आफ्नै समुदायका बालबालिकाको अधिकारका लागि सिन्का पनि भाँचेनन् !

उनी देशकै सर्वोच्च पदमा आसीन भइसकेर पनि देश बुझेका हुँदैनन् । यो देशको अधिपति कुमारी माता हुन् भन्ने कुरा बुझ्दैनन् । राष्ट्राध्यक्ष त उनका निमित्त हुन् । उनले टीका लगाइदिएपछि एक वर्षका लागि राज्य चलाउने अधिकार पाउने हो । यो देशको मूल व्यवस्था यही हो । तर त्यही टीका लगाई माग्नेले पनि यो कुरा बुझेका छैनन् । यो देशका अधीश्वर कुमारी माता हुन् । उनी यो देशका रक्षक देवी हुन् । कुमारी छ, र त देश छ । खै, देश बुझेको ?

त्यसपछि अर्का विद्वान् शासक आउँछन् । प्रधानमन्त्री बन्नासाथ पहिलो कार्य गर्छन्– कुमारी जात्रामा भैरवलाई राँगो बलिबाट वञ्चित गर्ने कार्य । गुठीलाई केही हजार रूपैयाँ नदिएर देशलाई मितव्ययितामा लगेको तर्क दिन्छन् । उनलाई के थाहा छैन भने कुमारी जात्रामा राष्ट्राध्यक्षले चढाउने मोहर दान होइन । त्यो त नयाँ मुद्रा निष्कासन गर्न कुमारी मातालाई देखाएर स्वीकृतिका लागि निवेदन चढाएको हो । कुमारीले ग्रहण गरेको अर्थ नयाँ मुद्रा निष्कासनका लागि अनुमति दिइएको हो । त्यसपछि दसैँमा कर्मचारीलाई नयाँ मुद्रामा तलब वितरण गरेर मुद्रा प्रचलनमा ल्याइन्छ । यो परापूर्वकालदेखिको व्यवस्था हो । देशको अर्थव्यवस्था नै कुमारी मातामा निहित छ तर विद्वान् प्रधानमन्त्री जात्रा बिथोलेर देशलाई आर्थिक रूपले सबल बनाउने दूरदृष्टि राख्छन् !

अर्का राष्ट्रवादी प्रधानमन्त्री देश र झन्डालाई केक बनाएर काटकुट पारेर खान्छन् । उनी देशभक्त ठहरिन्छन् । त्यही बेला एउटा गीतको छायाङ्कनमा देशको झन्डा जलाएको देखाएबापत दर्जन बढी जनजाति युवा देशद्रोही ठहरिन्छन् । भिडियो बनाउने निर्देशक मात्र नभएर सम्बद्ध सबैलाई जेल कोचिन्छ ।

हालसालै रैथानेको घर गैरकानुनी रूपमा भत्काएको विरोधमा अदालतको आदेश देखाएर प्रदर्शनमा उत्रेका स्थानीय युवा पक्राउ परेका थिए । तिनलाई थानामा भेट्न जाने साथीहरूले आफूले सधैँ बोल्दै आएको मातृभाषा नेपालभाषामा कुरा गर्छन् । प्रहरीले मातृभाषामा कुरा नगर भनेर हप्काउँछन् । तर आपसमा सधैँ बोलेर आएको बोली तुरन्तै परिवर्तन गर्न सहज हुँदैन । अनि प्रहरीले मातृभाषा बोलेबापत ती युवालाई पनि थानाभित्रै हुलिदिन्छन् । थाहा छैन, ती प्रहरीले कुन कानुनअन्तर्गत त्यसो गरे ? उनमा त्यस्तो गर्ने साहस कसले दियो ?

अनि कानुनविद् के देख्छन् भने यो देशमा जनजातिका समुदायका अपराधी बहुल छन् । किनभने कारागारमा ती धेरै सङ्ख्यामा छन् । त्यसको कारण तिनकै रीतिथिति हो । ती वंशाणुमै आपराधिक प्रवृत्ति लिएर जन्मन्छन् । यो केलाउन जरुरी ठानिँदैन कि ती के–कस्ता कानूनमा पक्रिए ? ती कानुन कति पूर्वाग्रही छन् ? सयौँ वर्षको व्यवस्थाले तिनलाई कसरी बहिष्करण, सीमान्तीकरण र दमन गर्दै यस अवस्थामा पु¥याएको छ । कसरी अवसरबाट वञ्चित गरिएका छन् ? बरु उनीहरू देख्छन्, ती समुदायको नश्ल नै खराब भएकाले अपराधी मनोवृत्तिका भएका हुन् । शासक समुदायका लागि पीडितलाई बलि चढाउनु (भिक्टिम ब्लेमिङ) लाभदायक हुन्छ ।

अज्ञानताको आत्मविश्वास

तामाङ समुदायका धेरै सदस्य के कारणलेजेलमा छन्, त्यो छर्लङ्गै भएको विषय हो । बुझ्नेले ‘आँ गरेपछि अलङ्कार बुझ्छ’ भनिन्छ । त्यसैले पाठकको कुशाग्र बुद्धिमा विश्वास गर्दै ‘आँ’ मात्र गरेर छोडेँ । 

विश्वमा धेरै खालमा श्रेष्ठताका अहङ्कारवाद छन् । पुरुष श्रेष्ठता, गोरा श्रेष्ठता । हाम्रो देश र छिमेकमा ब्राह्मण र आर्य नश्लको श्रेष्ठता । तिनीहरू महिला अगाडि बढ्न नसक्नुमा महिलाले महिलाकै कुरा काट्ने बानीमा दोष देख्छन् । काला बढी अपराधी देख्छन् । मुसलमान बढी आतङ्कवादी देख्छन्, कट्टरपन्थी देख्छन् । तर तथ्यगत अध्ययनले यीमध्ये कुनैलाई पनि पुष्टि गर्दैन । तैपनि यस्ता विश्वास व्यापक छन्, व्यापक बनाइएका छन् । तथ्य अध्ययन नगरी अज्ञानतामा रमाउने प्रवृत्तिले समाज ग्रसित छ । आफूलाई समाज परिवर्तनमा लाग्ने अभियन्ता बताउनेहरू पनि यो प्रवृत्तिबाट ग्रस्त छन् । सायद परिवर्तन आफैँमा गर्नु आवश्यक छ ।

समाजमा परिवर्तन आवश्यक छ । बाल अधिकार, पशुबलि आदि अनेकौँ मुद्दा बहसको विषय हुन सक्ला । समाज सधैँ उस्तै रहँदैन, अगाडि बढ्छ । बढिरहेको पनि छ । अझै बढाउनु आवश्यक छ । तर मूल समस्या अर्कैतिर छ । समस्याको जड देश नबुझ्नेले देश चलाउनुमा छ ।

समाज परिवर्तनमा लाग्नेले आफ्नै समुदायमा बग्रेल्ती भएका कुरीतिलाई अनदेखा गर्नुमा छ । अझ तिनलाई जबरजस्ती वैज्ञानिक तर्क खोजेर युक्तिसङ्गत (रासनलाइज) बनाउने प्रयासमा छ । अनि गएर अरूको आङमा जुम्रा केलाउने क्षुद्रान्वेशी प्रवृत्तिमा छ । यो प्रवृत्ति हटाउनु देशको हितका लागि पहिलो आवश्यकता हो ।

यही प्रवृत्तिलाई देखेर मैले केही समयअघि एउटा कविता लेखेको थिएँ:

जातीय राक्षसका भित्री कुरा 

तीभित्र एउटा जातीय

र अति साम्प्रदायिक

अजङ्गको भयानक राक्षस

लामा लामा नङ्ग्रा निकाल्दै

दाह्रा ङिच्याउँदै

बसिरहेको देख्छु म

जब तिनीहरू

तह लगाउने आवाजमा भन्छन्—

जातिको कुरा नगर

भाषाको कुरा नगर

साम्प्रदायिक नहोऊ

नेपाली बन !

म अचम्ममा पर्छु–

म कसरी फेरि नेपाली बन्ने होला ?

म अझै बढी नेपाली कसरी हुने होला ? 

म नेपाली नभए अरू को चाहिँ नेपाली होला !?

म आफ्नै थातथलोमा बसेको छु

आफ्नो भूमिको माया गर्छु

जन्मथलोको चिन्ता गर्छु

म त सङ्कुचित पो भएछु रे !

म आफ्नो भाषाको कुरा गर्छु

आफ्नो भाषामा कुरा गर्छु

म त सङ्कीर्ण भएछु रे !

(फेरि मैले तिनको भाषा पनि सिकेको छु !)

म देशको सम्पदा जोगाउनु पर्छ भन्छु

सबै जातिका संस्कृति देशको संस्कृति हो भन्छु

म त परम्परावादी भएछु रे !

विकास विरोधी भएछु रे !

साम्प्रदायिक पो भएछु रे !

जब म आफ्नो अधिकारको कुरा गर्छु

अचम्म त तब लाग्छ

आफूलाई अनेकौँ अधिकारवादी भन्नेहरू पनि 

विरोधमा खनिन्छन्

मलाई पुरातनवादी देख्छन् !

म त जातीय व्यवस्थाको विरोधी हुँ

म राज्यको नश्लीय चरित्रको विरोध गर्छु

म असमानता र विभेदको विरोधी हुँ !

जसै म अन्याय र असमानताको विरोध गर्छु

तिनले झट्टै ठम्याइहाल्छन्

आफ्नो छातीभित्रको नश्लीय राक्षसलाई खतरा आइलागेको 

र, औँला ठड्याइहाल्छन्—

जातिको कुरा नगर

भाषाको कुरा नगर

साम्प्रदायिक नहोऊ

नेपाली बन सिक !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप