बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारका कारण विकासमा अवरोध भइरहेको छ : त्रिपाठी

मङ्गलबार, १६ साउन २०८०, १३ : ४९
मङ्गलबार, १६ साउन २०८०

नवलपरासी  । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भ्रष्टाचारका कारण विकासमा अवरोध भइरहेको बताएका छन् ।

नवलपरासी क्षेत्र नम्बर १ का जनतालाई सम्बोधन गर्दै उनले आफू सरकारमा गए पनि नगए पनि, संसद्मा रहे पनि नरहे पनि भ्रष्टाचारको विरुद्ध लड्ने बताएका हुन् । देशको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताउँदै उनले आफू धेरै चिन्तित भएपछि गाउँमा आएर बस्ने गरेको र जनताको शरणमा जाने गरेको बताए ।

उनले आजसम्म आफूले जनताको शिर निहुराउने काम नगरेको जिकिर गरे । ‘अहिले भ्रष्टाचारको कारण धेरै नेता जेलमा छन् । अरू पनि जाने अवस्थामा छन् । तर मैले सधैँ जनताको हितमा काम गरेको छु,’ त्रिपाठीले भने ।

आफूले विकास देखाएर जनतालाई ठग्ने काम नगरेको बताउँदै जनप्रतिनिधिको काम नै जनताको लागि काम गर्ने भएको उनको भनाई छ । चुनावमा मतका लागि विकासको आश्वासन दिन नहुने उनले बताए । कोभिडको समयमा स्वास्थ्य मन्त्री आफू थिए त्यति बेला थुप्रै काम भएको तर चुनावमा त्यसको नाम समेत नलिएको उनले धारणा राखे ।

‘यो देशमा पाँच पटक मन्त्री भएको हुँ । तर कुनै पनि माइकालालले भ्रष्टाचारको आरोप लगाउन सक्दैन,’ उनले भने, ‘म जनताको भरमा राजनीति गरिरहेको छु र बाँचुन्जेल तपाईंहरूको बीचमा रहनेछु ।  हृदयेश त्रिपाठी कतै जान्छ भन्ने भ्रममा नरहनु होला ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप