सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गौर हत्याकाण्ड पीडित संघर्ष समिति ‘ब्याक’ : अझै मिलेन जसपा र आजपाको द्वन्द्व

मङ्गलबार, १६ साउन २०८०, १४ : २२
मङ्गलबार, १६ साउन २०८०

काठमाडौं । गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्याय राज्यले आफूहरुलाई न्याय दिनुको सट्टा पार्टीका कार्यकर्ता लगाएर झन् पीडा दिइरहेको गुनासो गर्छिन् ।

१७ वर्षअघि भएको गौर घटनाको दोषीलाई कारबाहीको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा धर्नामा बसेकी उपाध्यायले न्यायको मागसहित संघर्षका कार्यक्रम गर्दा सरकारमा रहेका दलका नेताहरुले पुनः अर्को गौर घटना दोहोर्‍याउने चेतावनी दिँदै हिँडेको बताइन् ।

उनले भनिन्, ‘हामी चाहन्छौँ– अर्को गौर घटना नहोस्, कसैको श्रीमती, बहिनी, चेली विधवा नहोस् । त्यसका लागि हामी जस्तोसुकै त्याग गर्न सक्छौँ ।’

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले साउन १५ गते अनिश्चितकालका लागि रौतहट बन्द घोषणा गरेको थियो तर साउन १४ गते नै विज्ञप्ति जारी गरेर उक्त कार्यक्रम फिर्ता लिइएको थियो । बन्द, हड्ताल जनताले पाउने दुःखलाई मध्यनजर गर्दै कार्यक्रम फिर्ता लिएको उनले बताइन् ।

सत्तारुढ दलकै नेताहरुले बन्द हड्ताल फिर्ता नलिए अर्को गौर घटना दोहोरिने चेतावनी दिइरहेका कारण आफूहरुले गम्भीरतापूर्वक लिँदै त्यस्तो घटना पुनः नदहोरियोस् भनेर अनिश्चितकालीन बन्द तत्कालका लागि स्थगित गरिएको उनको भनाइ छ । उनले आफूहरुको माग पूरा नभए पुनः बन्द, हड्तालको घोषणा हुने बताइन् ।

उनले भनिन्, ‘हामी केही दिन हेर्छौं, हाम्रो माग पूरा नभए यो भन्दा कडा आन्दोलनमा जान्छौँ । माग पूरा नभएसम्म सडक छाड्दैनौँ ।’

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्ड पीडित संघर्ष समिति गठन गरेर गौर हत्याकाण्डको विरुद्धमा संघर्ष गर्दै आएका छन् । केन्द्रमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि जिल्लामा सभा, जुलुससम्म गर्दै आएका छन् ।

जसपा रौतहटका नेता श्यामविहारी यादवले साउन १५ गतेको कार्यक्रम फिर्ता नभएको भए कुनै न कुनै अप्रिय घटना हुने आकलन गरेरै कार्यक्रम फिर्ता लिएको हुन सक्ने बताए । उनले भने, ‘साउन १५ गते बन्दको कार्यक्रम भएको भए हामीले त्यसको अवज्ञा गर्थ्यौँ, जनताले बन्दकर्तालाई प्रतिकार गर्ने अवस्था पनि आउन सक्थ्यो तर बन्द फिर्ता भयो, ठिकै भयो ।’

आम जनता पार्टीका अध्यक्ष प्रभु साहमाथि कारवाहीको माग गर्दै आज–भोलिमा आफूहरुले थप दबाबमुलक कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ । विभिन्न चरणका आन्दोलन कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

रौतहट लगायत विभिन्न ठाउँमा भएको हत्यामा अध्यक्ष साहको संलग्नता रहेको र त्यसको छानबिन गरी कारवाही हुनुपर्ने माग आफूहरुले उठाएको यादव बताउँछन् । उनले साहलाई कारबाही नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनीसमेत दिए । यो प्रकरणमा जसपालाई सत्तारुढ गठबन्धनमा रहेका दलले साथ दिइरहेका छन् ।

अर्कोतिर प्रभु साहले भने गौर हत्याकाण्डमा संलग्नमाथि कारबाहीको माग गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप