शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

'ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्छ'

बुधबार, १७ साउन २०८०, १५ : ३३
बुधबार, १७ साउन २०८०

काठमाडौँ । ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा बढी देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । 

२० डिग्रीभन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन् । धेरैजसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरुलाई यो समस्या देखिने गरेको छ । ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । 

अस्पतालहरुबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको छ । तर कतिपय आम नागरिकहरु भने यसमा अनविज्ञ छन् । ढाड बाँगिने रोगसँग केन्द्रित रहेर एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेसँग ढाडको बाँगोपना सम्बन्धी न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ:

 ढाडको बाँगोपन हुने समस्या के कारणले हुन्छ ?

उत्तरः एउटा जन्मजात नै हुन्छ । जन्मिदा नै ढाड बाँगो हुन्छ । अर्को किसिमको बाँगोपना कारण नै थाहा नहुने खालको हुन्छ । जसलाई इडियोप्याथी भन्छौँ । त्यो धेरै जसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ । यो चाहिँ छोराहरुभन्दा छोरीहरुलाई बढी देखिन्छ । सात जना छोरीमा देखियो भने एक जना छोरामा देखिन्छ । कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन । ढाड बाँगो भएको समस्याको उपचार सम्भव छ भन्ने कुरा नेपालमा धेरै मानिसहरुलाई थाहा पनि छैन । ए ! ढाड बाँगो भएछ, कसैकसैले त भगवानको श्रापले गर्दा भएको हो भन्ने गरेको पनि सुनिन्छ । त्यसैले उनीहरू उपचार नै नगरीकन त्यसै बसिरहेका हुन्छन् । त्यसैले यसको उपचार सम्भव छ । र, समयमा उपचार गरियो भने भविष्यमा आउने समस्याहरुबाट बचाउन सकिन्छ । ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्छ । सानो उमेरमा नै अक्सिजनको मात्रा धेरै चाहिने भयो भने के हुन्छ ? एकछिन हिँड्दापनि स्वाँस्वाँ हुन्छ । त्यो कुराहरु हामीले समयमा नै पत्ता लगाएर समयमै उपचार गर्नसक्यौं भने उसको क्वालिटी अफ लाइफ नर्मल बनाउन सक्छौं ।

 ढाडको बाँगोपन भएको कसरी थाहा पाउन सकिन्छ ?

उत्तरः सबैभन्दा सामान्य उपाय भनेको बच्चालाई हात जोडेर निहुरिन भन्नुपर्छ । हातले भुईँ छुन  कोसिस गरेजस्तै घुँडालाई सिधा राखेर । त्यसरी निहुरिँदी अगाडिबाट अथवा पछाडिबाट विद्यालयमा शिक्षकहरुले हेरेपनि हुन्छ, आमा बुबाले घरमा हेरेपनि हुन्छ । त्यसरी हेर्दाखेरी ढाडको एकातिरको लेभल अलिकति माथि र अर्कोतिरको लेभर अलिकति तल भएको देखिन सक्छ त्यसलाई हामीले रिभर्म वा लम्बर हम्प भनेर भन्छौँ । त्यो करङ नै रोटेट भएर आएको देखिन्छ, एउटा तल एउटा माथि । त्यो चाहिँ सबैभन्दा सरल उपाय हो । घरघरमा अथवा स्कुल स्कुलमा गर्न सकिन्छ । यदि बाँगोपना देखिएको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । त्यसपछि हामीले एक्सरे गरेर हेर्छौं । एक्सरेले क्लियर गर्छ ।

 उपचार कत्तिको खर्चिलो छ ?

उत्तरः हाम्रो एशोसिएशनमा दर्तावाल चिकित्सकको संख्या झन्डै एक सय जना हुनुहुन्छ । त्यो बाहेक दर्ता नभएका झन्डै १५ जना हुनुहुन्छ । उहाँहरु सबै विज्ञ नै हुनुहुन्छ । हामीले एक्सरे गरेर हेरिसकेपछि बाँगोपना कति डिग्री रहेछ भनेर नाप्छौँ । यदि २५ डिग्रीभन्दा सानो छ भने केही पनि गर्नुपर्दैन । हामीले अब्जर्भ मात्रै गर्ने भनेर भन्छौँ । प्रत्येक ६÷६ महिना वा वर्षदिनमा फलोअप गर्छौं । यदि बाँगोपना २५ देखि ४० डिग्री छ भने पेटी दिन्छौँ । त्यसलाई प्रेस भनेर भन्छौँ । यदि बाँगोपना ४० डिग्रीभन्दा माथि छ भने अप्रेसन गर्नुपर्छ भनेर भन्छौँ । जे उपचार गरेपनि मुख्यकुरा मेरुदण्ड सन्तुलित हुनुप¥यो । हामी उभिँदाखेरी टाउकोको लेभल कम्मरको बीचमा पर्नुप¥यो । यदि बाँगोपन धेरै छ भने अप्रेसन गर्छौं । अप्रेसन गर्दा रडहरु लगाउनुपर्छ । रडहरु विदेशबाट मगाउनुपर्छ । यो अलिकति महँगो पर्छ । विदेशमा उपचार गर्ने खर्चभन्दा झन्डै झन्डै आधा भन्दापनि कम खर्चमा उपचार हुन्छ ।

 कुन उमेर समूहमा बढी देखिन्छ ?

उत्तरः यो धेरैजसो बच्चाहरुमा देखिन्छ । आमा बुबाले तेल लगाउन सुरु गरिसकेपछि ढाड बाँगो भएको देखिन्छ । यो चाहिँ एक्सरे हेरेर हड्डी चार कुने बन्नुपर्ने नबनेर तीन कुने बनेको हुन्छ । इडीयोप्याथिक १० वर्षको उमेरपछि देखिन्छ । बच्चाहरु आफैँले नोटिस गरेका हुँदैनन् । आमा बुवाले नोटिस गर्नुपर्छ । कहिले कहीँ लुगा लगाएको फिटिङ हुँदैन । त्यसपछि थाहा हुन्छ । कहिले कहीँ शिक्षक, साथीहरुले थाहा पाउँछन् । फिटिङ नै भएन भन्छन् । चेक गरेर हे¥यो बाँगोपना रहेछ भन्ने थाहा हुन्छ । हामीले स्कुल स्क्रिनिङ प्रोग्राम भनेर पनि गरेका थियौं । स्कुलमा बाँगोपना भएका बच्चाहरु छन् की छैनन् भनेर पत्ता लगाउनका लागि स्कुल स्कुलमा गएर बच्चाहरुलाई इक्जामिनेसन गर्ने गथ्र्यौं ।

 ढाडको बाँगोपना उपचार नेपालमा सम्भव छ ?

उत्तरः ढाडको बाँगोपना उपचार नेपालमा सम्भव छ । आजभन्दा १४÷१५ वर्ष अगाडि टेक्नोलोजिको पनि विकास भइसकेको थिएन । विषय विज्ञहरुपनि थिएनन् । विषयविज्ञहरु डेभ्लप हुँदै गए, उनीहरुले आज आएर ढाडको कुनैपनि समस्या विशेष गरेर ढाडको बाँगोपना, ढाडको चोटपटक, नसा च्यापिएको अवस्था, हात खुट्टा नचलेको लगायतको उपचार गर्न नेपालमा सम्भव छ । प्रविधिमा युरोप अमेरिकामा जति धेरै अघि छन् त्यहाँ त पुग्न नसकौँला तर, त्यो प्रविधि अनुसार उनीहरुको कस्ट पनि एकदमै धेरै नै छ । तर, हामीले जुन टेक्नोलोजी र एक्सपर्टीजले नेपालमा सुविधा दिइरहेका छौं । र, रिजल्टहरु पब्लिस्ड गरिरहेका छौं । विश्वको जुन राम्रो हस्पिटलमा रिजल्ट आइरहेको छ, त्यो रिजल्ट हामीले पनि दिनसक्छौं र रिजल्टपनि दिइरहेका छौं ।

सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ?

उत्तरः सरकारले विभिन्न किसिमका स्वास्थ्य नीतिहरु त ल्याइरहेको छ । ढाडमा चोट लागेको, हेड इन्जुरी सम्बन्धी उपचारमा सरकारले सहयोग गरिरहेको छ । स्पाइन भनेको शरीरको त पिलर हो नी । यदि मेरुदण्ड बलियो भयो भने मात्रै कुनैपनि मान्छे आफ्नो काममा अगाडि बढ्न सफल हुन्छ । स्कोलीओसिस सर्जरीको लागि सरकारले अहिलेसम्म केही सहयोग त गरेको छैन । तर,  ढाडमा चोट लागेकोलाई सरकारले एक लाख रुपैयाँसम्म बिरामीलाई सहयोग गर्ने गरेको छ । र, हात खुट्टा नचल्ने नै भएको छ भने महिनाको पाँच हजार रुपैयाँ जति भत्तापनि दिने गरेको छ ।

 ढाडको बाँगोपन हुन नदिन के गर्नुपर्छ ?

उत्तरः जन्मदेखि नै बाँगोपना हुनसक्छ । आमाको पेटमा हुँदाखेरी नै जुन हिसाबमा हड्डी बन्नुपर्ने हो त्यो नबन्न पनि सक्छ । इडियोप्याथिक (कारण नै थाहा नभएर बाँगोपना हुने) ले पनि हुनसक्छ । चोटपटक लागेर पनि ढाड बाँगो हुनसक्छ । चोटपटक लाग्नबाट बच्ने उपायहरु अपनाउनु पर्छ । ट्राफिक नियम पालना गरियो भने चोटपटकबाट बच्न सकिन्छ । रुख चढ्दा ख्याल गर्नुपर्छ । ढाडमा केही समस्या भएको छ भने र बाँगोपना हुनसक्ने देखिएको छ भने समयमै उपचार गराउनुपर्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप