बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

हनी ट्रयाप मुद्दामा भावना तामाङ दोषी ठहर

बुधबार, १७ साउन २०८०, १९ : ३०
बुधबार, १७ साउन २०८०

काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङ दोषी ठहर भएकी छिन् । भक्तपुर जिल्ला अदालतले बुधबार भावनाले कसुर गरेको ठहर गरेको हो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावनालाई दोषी ठहर गर्ने फैसला गरेको हो । सोही इजलासले फुर्वा मोक्तानले हालेको विवाह बदर र भावना तामाङले हालेको वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको छ ।

विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिएकी भावना तामाङविरुद्ध फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

भक्तपुर जिल्ला अदालतले ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसपछि जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दासमेत दायर गरेकी थिइन् । यद्यपि सो मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

के थियो घटना ?

भावना र फुर्वा फेसबुकबाट साथी बनेका थिए । जापानमा व्यापार व्यवसाय गरिरहेको बताउने भावना आफू अविवाहित रहेको र राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको भन्थिन् । ३४ वर्षीय फुर्वा पनि अविवाहित नै थिए र विवाहका लागि योग्य युवतीको खोजीमा थिए । दुवै तामाङ समुदायकै भएकाले विवाह गर्न पनि मिल्ने भन्दै उनीहरु दुवैजना विवाह गर्न राजी भए । विवाहपछि जापान गएर उतै व्यापार व्यवसाय गर्ने सहमति बन्यो ।

विवाहको सहमति भएपछि फुर्वा र भावनाबीच २०७७ फागुन १० गते विवाह भयो । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख खर्च गरे ।

विवाह गरेको तीन दिन फुर्वाको घरमा बसेपछि भावना माइतीमा केही काम छ भन्दै फुर्वाको घरबाट निस्किइन् । फुर्वाको घरबाट निस्किएकी भोलिपल्टदेखि उनले मोबाइल अफ गरिन् । घरबाट निस्किएको चार दिनपछि बल्ल भावनाको मोबाइलको स्वीच अन भयो । किन अफ गरेको भन्दा माइतीमा केही काम थियो भन्ने जवाफ मात्रै दिइन्, अरू केही बताइनन् ।

फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेस्टुरेन्ट बेचेर नेपाल आएका थिए । नेपालमा बुवाको नाममा घर र दुई स्थानमा जग्गासमेत थियो । जापान जान सम्पत्ति देखाउनुपर्ने भन्दै भावनाले बुवाको नाममा रहेको घरसमेत आफू र फुर्वाको नाममा ल्याउन लगाइन् भने जग्गासमेत बिक्री गर्ने गरी ग्राहक खोजिन् ।

भावनाको नाममा बौद्धको नयाँ बस्ती र थलीमा घर थियो । फुर्वाले ती सबै घर पनि अब आफ्नोसमेत रहेको भन्दै भावनाले जे–जे भने त्यही त्यही गरिरहे । भावनाले घरसमेत बेच्ने योजना सुनाए पनि फुर्वाको बुवाले नमानेपछि त्यही घर धितोमा राखेर ऋण लिने योजना भावनाले बनाइन् । फुर्वाले भावनाको त्यो योजनामा समेत साथ दिए ।

नेपाली परम्परा अनुसार विवाह गरेपछि केटाको घरमा गएर बस्ने भए पनि भावना भने फुर्वाको घरमा बस्न मानिनन् । फुर्वा पनि भावनासँगै नयाँ बस्तीमै गएर बस्न थाले ।

जब फुर्वा भावनाको नाममा रहेको नयाँ बस्तीको घरमा पुगे, त्यसपछि भावनाले सम्पत्ति हाम्रै त हो, यो घरको ऋण छ तिर्नुपर्‍यो भनी फुर्वासँग पैसा मागिन् । फुर्वाले पनि भावना आफ्नो श्रीमती भएको र सम्पत्ति आफ्नो पनि त हो नि भन्दै घर बनाउँदाको ऋण तिर्न सहमत भए ।

तर जब ऋण तिर्ने बेला भयो, भावनाले ऋण संयुक्तरुपमा लिएको कुरा सुनाइन् । भावनाले धादिङ घर भएका विनय लामालाई श्रीमान् बनाएर संयुक्तरुपमा ऋण लिएकी थिइन् । फुर्वाले ती व्यक्ति को हुन् भनेर सोध्दा भावनाले ‘कागजी श्रीमान्’ भएको र जापान लैजाने प्रयोजनका लागि पैसा लिएर श्रीमान् बनाएको कुरा बताइन् । फुर्वाले त्यसबारे थप केही नबुझी उक्त घरको ऋणमध्ये २५ लाख रुपैयाँ तिरिदिए ।

भावनाले पटकपटक विभिन्न बहाना बनाएर सम्पत्ति देखाउन, सानो सानो ऋण तिर्न भन्दै पटकपटक लाखौँ रकम लिइन् । कहिले सानी आमाको ऋण तिर्नु छ भनेर त कहिले भाइ लगायतको ऋण तिर्नु छ भनेर पैसा लिइन् । फुर्वाले थलीमा रहेको भावनाको घरको रङरोगन र इन्टेरियर कामका लागि ६५ लाख रुपैयाँ खर्च गरे ।

तर जब जब फुर्वासँग रहेको पैसा सकिन थाल्यो, त्यसपछि भावनाले विभिन्न कुरा निकालेर निहुँ खोज्न थालिन् । यसबीचमा भावनाले फुर्वासँग करिब १ करोड १५ लाख नगद लिइसकेकी थिइन् भने सुनको गरगहना लगायतका सामान बनाउने कामका लागिसमेत समेत गरी कुल करिब १ करोड ४५ लाख रुपैयाँ खर्च गराइसकेकी थिइन् ।

फुर्वाको नाममा रहेको रहेको घर जग्गासमेत फुर्वा र आफ्नो संयुक्त नाममा ल्याइसकेपछि भावना २०२२ फेब्रुअरी ८ मा जापान गइन् । नेपालबाट जाँदा जापान पुगेर कागजात बनाएर पठाउने भनेकी भावना सुरुको केही दिन फुर्वासँग कुराकानी गर्ने गरे पनि त्यसपछि फुर्वासँग कुराकानी नै गर्न छाडिन् । बरु फुर्वासँग छुट्टिन चाहेको सन्देश पठाइन् । त्यसपछि मात्र फुर्वाले आफू लुटिएको पत्तो पाए ।

भावनाले उमेर र अविवाहित रहेको समेत ढाँटेकी थिइन्

फुर्वाका अनुसार सुरुमा भावनाले आफ्नो जन्म साल २०४६ रहेको र आफू ३१ वर्ष मात्रै भएको बताएकी थिइन् । आफूभन्दा कान्छी उमेरको नै भएको भन्दै फुर्वाले विवाह गर्न मिल्छ भन्दै विवाहको प्रस्ताव राखेका थिए । तर विवाहपछि मात्रै थाहा भयो कि भावना त आफूभन्दा ३ वर्ष जेठी अर्थात् त्यतिबेला ३७ वर्ष पुगिसकेकी रहिछिन् ।

फुर्वाले विवाहको कुरा गर्दा आफूले विवाह नगरेको र योग्य वरको खोजी गरिरहेको बताएकी थिइन् । फुर्वाले रातोपाटीसँग भनेका थिए, ‘उनको बारेमा बुझ्दै गर्दा थाहा भयो, उनले त पहिले नै ४ जनासँग विवाह गरिसकेकी रहिछिन् भने एक जनासँग लिभिङ टुगेदरमा बसेकी रहेछिन् ।’

फुर्वासँग विवाह गरी ३ दिन फुर्वाको घरमा सँगै बसेपछि त्यहाँबाट निस्किएकी भावनाले त्यसको तीन दिनपछि काठमाडौँ जिल्ला अदालतमा आफ्नो पतिसँग सम्बन्ध विच्छेदको फिराद लगेकी थिइन् ।

 फुर्वासँग विवाह गर्नुभन्दा अगाडि भावनाले साजन मोक्तान भन्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । तर त्यसको जानकारी फुर्वालाई थिएन । भावनाले फुर्वासँग विवाह गरेको एक सातापछि फागुन १६ गते काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको फिराद दर्ता गरी त्यसको भोलिपल्ट अर्थात् २०७७ फागुन १७ गते नै साजन मोक्तानसँग सम्बन्धविच्छेद गरेको काठमाडौं जिल्ला अदालतको रेकर्डमा देखिन्छ । 

साजन मोक्तानसँग औपचारिकरुपमा सम्बन्धविच्छेद गरेपछि मात्रै भावनाले २०७८ वैशाख २४ गते आफन्तहरूलाई बोलाएर पार्टी दिएकी थिइन् । त्यसपछि विवाह दर्ता गर्दा समेत भावनाले २०७७ फागुन १० गतेको मिति राख्न नमानेर २०७८ वैशाख २४ गते कै मिति राखेकी थिइन् ।

चार जनासँग विवाह, पैसा लिएर डिभोर्स !

भावनाले सुरुमा काठमाडौँको ठमेलमा काम गर्ने गरेको फुर्वाले सुनाए । फुर्वाका अनुसार सुरुमा ठमेलमा काम गर्ने क्रममा एक जापानी नागरिकले भावनालाई विवाह गरी जापान लगेका थिए । ती जापानी नागरिकको मृत्यु भएपछि भावनाले ती जापानीको सम्पत्तिबाट बौद्धको नयाँ बस्तीमा घर बनाएकी थिइन् ।

जापानी नागरिकको मृत्यु भएपछि २०७२ सालताका उनले धादिङका विनय लामासँग विवाह गरिन् । जापानमै रोजगारीका क्रममा विनय र भावनाको कुरा मिलेपछि विवाहको कुरा भएको र विवाह गरेरै डेढ वर्ष सँगै बसेको विनयले रातोपाटीलाई बताए । विनयलाई पनि उनले आफ्नो उमेर र अविवाहित रहेको भन्दै ढाँटेकी थिइन् । विवाहपछि कागजात बनाउने क्रममा मात्रै उनले आफू पहिले जापानी नागरिकसँग विवाह गरी आएको खुलाएकी थिइन् ।

विनयका अनुसार भावना जापानमा पनि काम नगरी बस्थिन् । भावना काम गर्न नखोज्ने तर मोजमस्ती गर्ने स्वभावकी थिइन् । विनयले रातोपाटीसँग भने, ‘म उनीसँग डेढ वर्ष बसेँ । पछि उनले नै सम्बन्ध अन्त्य गर्ने कुरा गरिन् । उनी काम नै गर्दैन थिइन् । म नै काम गर्थे र मेरै आम्दानीले उनी आरामको जीवन बाँच्थिन् । पटक पटक उनले झुट बोलेपछि म पनि आजित भएर डिभोर्स गरेँ ।’

विनयपछि भावनाले नेपाल आएर साजन मोक्तानसँग विवाह गरेकी थिइन् । तर उक्त विवाह पनि टिकेन । मोक्तानसँग के कुन शर्त र सहमतिमा उनले डिभोर्स गरेकी हुन्, त्यो भने खुलेको छैन ।

यही बीचमा भावनाले सुन्दर घिसिङ (परिवर्तित नाम)सँग पनि विवाह गर्ने भन्दै लिभिङ टुगेदरमा बसेकी थिइन् । सुन्दरसँग भावनाले करिब २४ लाख रुपैयाँ लिएकी थिइन् । पछि भावनाले सुन्दरलाई वास्ता नगरेपछि उनले समेत भावनाको खोजी गरेका थिए । यद्यपि पछिल्लो समय सुन्दरले भावनासँग उक्त रकम लिई मुद्दा मामिला नगर्ने सहमति गरिसकेको फुर्वाले रातोपाटीलाई बताए ।

... अनि पक्राउ परिन् भावना

भावनाले ‘धोका’ दिएपछि फुर्वाले कन्सुलर सेवा विभागमार्फत भावना हराएको भन्दै निवेदन दिए । फुर्वाले यसको गर्नुको कारण थियो, भावनाले सबैतिरबाट फुर्वालाई ब्लक गर्नु । उक्त निवेदन लगत्तै कन्सुलर सेवा विभागले भावनाको खोजी गर्‍यो । फुर्वाले भावनालाई जापानबाट डिपोर्ट गरी नेपाल पठाउन निवेदन दिएपछि भावनाले पहिले लिएको सम्पत्ति र सुन फिर्ता नगर्ने तर अरू दाबी नगर्ने गरी डिभोर्स गर्ने प्रस्ताव पठाइन् ।

तर फुर्वाले भावनाको प्रस्ताव स्वीकार गरेनन् । पछि संयुक्त नाममा रहेको घरजग्गा फिर्ता गर्ने सर्तमा भावना नेपाल आइन् । तर नेपाल आएपछि भावनाले फुर्वालाई उनले कुनै रकम आफूलाई नदिएको भन्ने कागज गर्न लगाइन् । यसको अर्थ पहिले कागज बनाउने, डिभोर्स गर्ने अनि सम्पत्तिसहित सम्बन्धविच्छेद गर्ने । यो रणनीति बुझेपछि फुर्वाले भावनाको प्रस्ताव अस्वीकार गर्दै ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमा भक्तपुर प्रहरी परिसरमा उजुरी दिए । उजुरीपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई प्रहरीले भावनालाई पक्राउ ग¥यो । प्रहरीले ठगी र आपराधिक विश्वासघातको कसुरमा भावनामाथि भक्तपुर जिल्ला अदालतमा मुद्दा चलायो ।

भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट भावना तामाङ कसुरदार होइनन् भन्न सकिएन भन्दै २०७९ असार १३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।

भक्तपुर जिल्ला अदालतले भावनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनी जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन लिएर पुगिन् । २०७९ असार २३ गते दर्ता भएको उक्त निवेदनमा साउन १२ गते न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र राज्यलक्ष्मी बज्राचार्यको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्दै थुनामै राख्ने आदेश दियो । त्यसपछि भावना थुनामै रहनुपर्ने भयो र उनी हनी ट्रयाप (ठगी र आपराधिक विश्वासघात)को कसुरमा सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताउन बाध्य बनिन् ।

 

यहीबीचमा भावनाको परिवार र फुर्वाबीच भावनाले लिएको मध्ये केही रकम फुर्वाले छाड्ने र बाँकी रकम भावनाले फिर्ता गर्ने विषयमा पनि छलफल भयो । छलफल सकारात्मक नै भएपछि आफूले करिब १ करोड फिर्ता पाए मुद्दामा मिलापत्र गर्ने कुरा भयो । तर भावनाले भने ज्यादै न्युन रकम मात्रै फिर्ता गर्ने प्रस्ताव गरिन् । सहमति नभए बलात्कारको मुद्दा हालेर जेल पठाउने धम्कीसमेत दिन थालियो । फुर्वाले कम्तीमा ८० लाख फिर्ता नगरे सहमति नगर्ने खबर पठाए । सहमति नबनेपछि भावनाले कारागार कार्यालय सुन्धारामार्फत फुर्वा मोक्तानविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा वैवाहिक बलात्कारको जाहेरी दिइन् ।

बलात्कारको जाहेरी दिएको थाहा पाएपछि फुर्वा भक्तपुरबाट भागेर काभ्रेको भकुण्डेबेशीमा गएर बसे । तर भक्तपुर प्रहरीले फुर्वालाई भकुण्डेबेशी नै पुगेर पक्राउ गरी भक्तपुर ल्यायो । २०७९ असोज २७ गते पक्राउ परेका फुर्वाविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि अदालतले फुर्वालाई धरौटीमा रिहा गर्ने आदेश दियो ।

अन्ततः फुर्वाले पाए न्याय

बुधबार भक्तपुर जिल्ला अदालतले ठगी र आपराधिक विश्वासघातमा भावना तामाङ दोषी ठहर भएको फैसला सुनाएपछि फुर्वाले खुसी साटे । उनले रातोपाटीसँग भने, ‘मलाई विवाह बदरको मुद्दामा पनि दावी पुग्ने फैसला हुन्छ भन्ने लागेको थियो । किनभने मसँग विवाह भएपछि मात्रै साजन मोक्तानसँग डिभोर्स गरेको प्रमाणहरू मैले पेश गरेको थिएँ । यद्यपि अदालतको फैसलाप्रति म खुसी नै छु । न्यायको लडाइँमा साथ दिने सबैप्रति आभारी छु ।’

यसरी हनी ट्रयापको मुद्दामा भक्तपुर जिल्ला अदालतले भावना तामाङलाई दोषी ठहर गरेको छ । उक्त मुद्दामा सजाय निर्धारणका लागि साउन २८ गतेको पेसी तोकिएको भक्तपुर जिल्ला अदालतले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभका सम्बन्धमा बोलेको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख छ । त्यसै गरी सोही ऐनको दफा २५४ मा ठगी गर्ने व्यक्तिले पीडितलाई बिगो बराबरको रकम असुल गरी पीडितलाई भराइदिनुपर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप