शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जोगिन्दर’ले ल्याए गाईजात्रे झटारो ‘लुछाचुँडी’

बिहीबार, १८ साउन २०८०

काठमाडौँ । हास्य र ब्याङ्ग्यको पर्व हो ‘गाईजात्रा’ । यो दिनलाई लक्षित गर्दै विभिन्न हास्यब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्छ । 

यस्तैमा बेलाबेलामा विभिन्न सामाग्री मार्फत दर्शक हँसाउँदै आएका लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आउँदो गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे कमेडी कोसेली ‘लुछाचुँडी’ ल्याएका छन् ।

दर्शक तथा स्रोतालाई हास्यब्याङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेका हुन् । 

ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक ‘लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भष्टाचार मुख्य मुद्दाको रुपमा निकै मार्मिक तरिकाले चिरफार गरिएको छ । अखण्डा भारत भित्र नेपालको भू–भाग राखिएको विषय पनि उनको यो पटकको गाईजात्रामा परेको छ । भारतको चेपा र हेपा प्रवृत्ति प्रति समेत उनले ब्याङ्ग्य प्रहार गर्न भ्याएका छन् ।

यस्तै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत उनले ब्याङ्ग्यमा समेटेका छन् । यो निर्वाचनमा ठूलाठूला नेता हारेको विषयप्रति उनले ब्याङ्ग्य प्रहार गरेका छन् । उनले हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई छाडेको छैनन् ।

विगतका वर्षहरु जस्तै यो पटक उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी पनि राखेका छन् । यो पटक उनले फिल्म ‘घामट शेरे’ को चर्चित गीत ‘कहिले साली मनपर्यो’लाई ‘कहिले देउवा मनपर्यो, कहिले ओली मनपर्यो’ भन्दै प्यारोडी बनाएका छन् । गीतमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई झटारो हानेका छन् ।

दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘लुछाचुँडी’ २१ औं कोसेली हो । गतवर्ष उनले ‘बकम्फुसाय नमः’ नामक गाईजात्रे कोसेली सार्वजनिक गरेका थिए । सबैतिर लकडाउन भएको कोरोनाको समय पनि उनले ‘लकडान’ नामक ब्याङ्ग्य कोसेली ल्याउँदै सबैको मन जितेका थिए ।

यो पटक कलाकार जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् । गीतका शब्द लोकराज अधिकारीले कोरेका हुन् ।

‘लुछाचुँडी’मा जोगिन्दरको अलवा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’ बनेका छन् । राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेब गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगाएको समेत यसमा अभिनय छ ।

प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गरेका छन् । भिडियोको छायांकन रोयल थाइहस्पिटालीटी ठिमी र सिंगल ट्रि स्वंयम्बुमा गरिएको छ । ‘लुछाचुँडी’को लेखन, प्रस्तुति र निर्देशन शिवशंकर रिजाल ‘जोगिन्दर’ आफैले गरेका हुन् । पोष्ट प्रोडक्सन कोचे मिडियामा भएको छ । 

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘सधैँ झैँ यो वर्षपनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने ‘राम्रो लागेमा प्रशंसा र नराम्रो लागेमा सुझाव दिनुहोला ।’

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामयिक विषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको उनको धारणा छ ।

शिवशंकर अहिले ‘गाईजात्रा टुर’को पनि तयारीमा छन् । चितवनदेखि कन्चनपुरसम्म हुने ‘गाईजात्रा टुर’ विभिन्न चर्चित हास्य कलाकारको सहभागिता रहने जागिन्दरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया