शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

केन्द्रीय समिति बैठकमा लेखनाथ न्यौपानेले किन राखे माओवादी विघटन हुने विचार ?

शुक्रबार, १९ साउन २०८०, १६ : ३१
शुक्रबार, १९ साउन २०८०

काठमाडौं । प्रज्ञा भवन, कमलादीमा तीन दिनदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले गम्भीर सवाल उठाएका छन् ।

बैठकको दोस्रो दिन सुरूमै बोलेका उनले व्यवहारमा विचार अभिव्यक्त हुने र व्यवहारले विचारलाई थप विकसित गर्ने साइकल (चक्र) नै भताभुङ्ग भएकाले माओवादी पार्टी ओरालो लागेको जिकिर गरेका छन् । नेपालमा सबै नामका वाम अर्थात् चौथो महाधिवेशन स्कुलका सबै घटकहरू वैचारिक, संगठनात्मक र सांस्कृतिक रूपमा गम्भीर संकटमा रहेको उनको भनाइ छ ।

अहिले विचार र व्यवहार दुवैमा माओवादी घोर अन्योल र द्विविधामा रहेको न्यौपानेले जनाए । संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कतै नभएको उदाहरण पेस गर्दै उनले नेतृत्वले गलत ठाउँमा प्रयोग गरिरहेको जिकिर गरे ।  

‘माओवाद जुन उद्देश्यका निम्ति बनेको सिद्धान्त हो, त्यसको प्रयोग हामीले गलत ठाउँमा गरिरहेका छौँ,’ उनले भने, ‘संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कहीँ छैन ।’

न्यौपानेले माओवाद अर्कै उद्देश्यका निम्ति बनेको सिद्धान्त भएको जिकिर गर्दै इतिहासमा माओवादीले त्यसलाई सही ढंगले प्रयोग गर्ने कोसिस गरे पनि आज त्यसको विपरीत घोर सैद्धान्तिक द्विविधाले ओरालो पारेर खेदिरहेको भनाइ राखे ।  

त्यस्तै संसारको कम्युनिस्ट आन्दोलन जुन उचाइँमा पुगेर ओरालो लागेको छ, बीचमा रोकिएर  पुनः उकालो लागेर सफलता पाएको उदाहरण कतै नभएको पनि उनको दाबी छ । ‘हामी पनि जर्मनी, रूस, पूर्वी युरोप, पेरुको कम्युनिस्ट आन्दोलनको बाटोमा छौँ, त्यही ओरालोमा तल झरिरहेका छौँ,’ न्यौपानेले भने, ‘फेदीमा नपुगुन्जेल हाम्रो ओरालो यात्रा रोकिँदैन । यसलाई रोक्ने न हामीसँग वैचारिक विकास छ, न व्यावहारिक कोसिस छ ।’

उनले माओवादी पुँजीवादी व्यवस्था अन्तर्गत चुनाव र संसदीय व्यवस्थामा भएकाले वर्गीय असमानता, विविध विभेदहरूको अन्त्य गर्न नसक्ने तर्क गरे । यस व्यवस्थामा इमानदार हुँदा सामान्य सुधार गर्ने माग ठाउँमात्र प्राप्त हुने उनको बुझाइ थियो ।

शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवाद ल्याउने लाइन बदनाम राजनीतिक लाइन भएको न्यौपानेले प्रस्ट पारे । यही व्यवस्थामा माओवादी आन्दोलन विघटनबाहेक अन्य कुनै विकल्प नभएको उनले दाबी गरे । संसदीय व्यवस्थामा प्रतिस्पर्धा गर्ने भए कांग्रेस र एमाले नै रहेको भन्दै उनले विकल्पमा माओवादी आवश्यक नभएको जिकिर गरे ।

यसैगरी उनले वर्तमान सरकारले गरेका कामले सामान्य आशा जगाए पनि कसको चाहना र इच्छामा भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाए । उनले भने, ‘सरकारले गरेको कामले सामान्य आशा जगाएको छ तर हाम्रै बल, पहल वा इच्छामा यो काम गरिरहेका छौँ ? अनुसन्धान कसले, कुन विचार, समूहले वा कसको लगानीमा उत्पादित जनशक्तिले गरिरहेका छन् ? डरलाग्दो चित्रको प्रतिकुल एक रौं मात्र अगाडि बढ्यौं भने तुरुन्त गिरफ्तारी वा कसले  मा¥यो भन्ने पत्तै नपाइ मारिने ठाउँमा छौँ ।’

उनले आफ्नै विचार र वर्गको अध्ययन, अनुसन्धान तथा पहलबिना आफूहरूले गरिरहेका काम पानीको फोका हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप