बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

मङ्गलबार, २३ साउन २०८०, ०७ : ३१
मङ्गलबार, २३ साउन २०८०

हेटौँडा । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक अवरुद्ध भएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड र कान्तिलोक पथ अवरुद्ध भएको हो । 

वर्षाका कारण भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो खस्दा सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त सडक खण्डको सो स्थानमा सोमबार राती ११ः३० बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोका कारण सडक बन्द हुँदा यातायातका साधन समेत रोकिएको उनले बताए । पहिरो खसेको स्थान हेटौँडा बुद्ध चोकबाट  करिब १२ किलोमिटर उत्तर पूर्वमा पर्छ ।

त्यस्तै पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध बनेको छ। पहिरोका कारण सोमबार रातिबाट सो सडक खण्ड अवरुद्ध भएको हो । वर्षाका कारण बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सडक बन्द भएको प्रवक्ता कार्कीले बताए । 

वर्षाका कारण सोमबार राती ९ः१० बजेको समयमा कान्ति लोकपथ अन्तर्गतको सो स्थानको सडक खण्डमा पहिरो खस्दा दुवै तर्फी बाटो  अवरोध भएको हो । पहिरो खसेको उक्त स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट ६ किलोमिटर पश्चिम  दक्षिण पर्छ । 

दुवै स्थानको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षा भइरहेकाले पहिरो हटाउन कठिन भएको उनले बताए । पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप