आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा प्रहरी नै असुरक्षित !

२८ वटा प्रहरी भवन जीर्ण
मङ्गलबार, २३ साउन २०८०, ०९ : ३४
मङ्गलबार, २३ साउन २०८०

सुर्खेत । समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रमुख दायित्व बोकेको प्रहरी कर्णालीमा जोखिमपूर्ण अवस्थामा छन् । प्रहरी कार्यालयका धेरैजसो भवन जीर्ण छन् भने कतिपय स्थानमा प्रहरीका आफ्नै संरचनासमेत छैन । तथ्याङ्क अनुसार कर्णालीका २५ प्रतिशत प्रहरी इकाईका लागि मात्रै आफ्ना भवन छन् ।
प्रदेश प्रहरी कार्यालय स्वयंले नै भौतिक संरचनाको दृष्टिले कर्णाली प्रदेशमा प्रहरी कार्यालयहरूको अवस्था सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ । प्रदेशमा लगभग ४५ प्रतिशत प्रहरी इकाईहरूका लागि भौतिक संरचना निर्माण गर्न आफ्नो जग्गा नरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

प्रदेशमा रहेका ३०८ प्रहरी इकाईमध्ये १७२ इकाईका जग्गा छन् भने १३६ वटा इकाई जग्गाविहीन छन् । त्यसैगरी भवन भएका प्रहरी इकाईहरू ७९ वटा छन् भने २२९ वटा प्रहरी इकाईहरूको भवन छैन । भवन नभएका २२९ प्रहरी इकाईमध्ये १०१ वटा भाडामा छन् । यस्तै ११५ वटा प्रहरी इकाई सहयोगमा बसेको छ । उल्लेखित तथ्याङ्कले अरूलाई सुरक्षा दिने प्रहरी नै सुरक्षित नरहेको देखाउँछ ।

‘अधिकांश प्रहरी इकाईका आफ्नै भौतिक संरचनाहरू छैनन् भने भएकामध्ये पनि जीर्ण र पुराना छन्,’ भट्टराईले भने, ‘कतिपय इकाईका संरचना मर्मत सम्भारको अभावका कारण बस्नयोग्य छैनन् ।’

ssp_gopalchandra_bhattarai

भूकम्पीय जोखिम र प्राकृतिक प्रकोपजन्य खतराले पनि कर्णाली प्रदेशका भौतिक संरचनाहरू बस्न वा कार्यालय सञ्चालन गर्न उपयुक्त नभएको उनको भनाइ छ । यस अर्थमा कर्णाली प्रदेशको प्रहरीले सामना गर्नुपरेका मुख्य चुनौतीमध्ये सुरक्षित, सुविधायुक्त र पर्याप्त भौतिक संरचनाहरूको अभाव एक हो ।

‘जोखिम मोलेर बस्नुपर्दा प्रहरीको मनोबल त घट्ने नै भयो, उपयुक्त कार्य वातावरण नहुँदा सेवा प्रवाह सहज रूपमा हुन सक्दैन,’ उनी भन्छन्, ‘प्रहरीको छुट्टै संरचना चाहिन्छ, त्यसमा विभिन्न कक्ष राख्नुपर्छ । गैर प्रहरी प्रयोजनका लागि बनेका घरहरूमा बस्दा प्रहरीलाई सहज वातावरण नै हुँदैन । भाडामै बसेको घर भए पनि विभिन्न कक्ष लगायतका सुविधा हुँदैनन् । यसले सेवा प्रवाहमा समस्या आउँछ नै ।’

प्रदेश प्रहरी कार्यालय र मातहत गरी कर्णालीमा ११ वटा प्रहरी कार्यालय छन् । अहिले थप ६ वटा प्रहरी कार्यालय स्थापना गरिएको छ । उनका अनुसार अस्थायी प्रहरी पोष्टका रूपमा हुम्लाको सल्ली सल्ला र गोठिल्लाबाडा, मुगुको माझघट्ट, दैलेख चामुण्डाबिन्द्रासैनीको हाडाकोट र महावु गाउँपालिकाको काशीकाँध, डोल्पाको फोक्सुन्डो रिग्मा गरी ६ वटा नयाँ प्रहरी इकाई स्थापना गरिएको छ । कर्णालीमा असुरक्षित संरचनाका बाबजुद पनि जोखिम मोलेर प्रहरीले शान्ति सुरक्षा दिइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

ई.प्र.का.देवस्थल सल्यान

कुन जिल्लामा कति छन् जीर्ण भवन ?

रातोपाटीलाई उपलब्ध तथ्याङ्क अनुसार प्रदेशभर २८ वटा प्रहरी भवन जीर्ण हुनाका साथै भत्किने अवस्थामा छन् । ती भवनमा पानी आउने बित्तिकै चुहिने समस्या छ भने केही भवन पहिरोको उच्च जोखिममा छन् । सुर्खेत जिल्लामा मात्रै ८ वटा प्रहरी इकाई भवन जीर्ण र पानी चुहिने छन् । वीरेन्द्रनगर भित्रकै प्रहरी चौकी सुब्बाकुना, बाङगेसिमल, विद्यापुर, बड्डीचौर, मालारानी, रामघाट प्रहरी चौकी जीर्ण र पानी चुहिने छन् भने अस्थायी प्रहरी पोष्ट धारापानी पहिरोको जोखिममा छ । यद्यपि सोही भवनबाटै प्रहरीले सेवा प्रदान गर्नुपर्ने बाध्यता छ ।

इलाका प्रहरी कार्यालय देवस्थल सल्यानको भवन निकै पुरानो हो । अहिले जीर्ण बनिसक्यो । सल्यानकै प्रहरी चौकी कपुरकोटको भवन पनि निकै पुरानो हो । अहिले उक्त भवनको ढलानबाट पानी चुहिन्छ । साथै भवनको दिवाल चर्केको प्रहरीले जनाएको छ ।

सल्यानकै अस्थायी प्रहरी पोष्ट बालुवाको भवन पनि जीर्ण अवस्थामा छ । उक्त भवनको ढलानबाट पानी चुहिने गर्छ भने दिवाल चर्केको अवस्थामा छ ।

डोल्पाका पाँच वटा प्रहरी भवन जीर्ण छन् । इलाका प्रहरी कार्यालय काईगाँउको भवन पुरानो भई पानी चुहिन्छ भने इलाका प्रहरी कालिकाको त पर्खाल नै जोखिम अवस्थामा छ । पानी पर्दा चुहिने अवस्थामा रहेको उक्त भवन एक पटक मर्मत गरिए पनि पुनः जोखिम अवस्थामा रहेको डोल्पा प्रहरीले जनाएको छ ।

humla ji parka

यस्तै इलाका प्रहरी छार्काडोल्पा, प्रहरी चौकी माझफाल र प्रहरी चौकी धोडोल्पाको भवन पनि जीर्ण भई पानी चुहिने अवस्थामा छन् । प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर दैलेखको भवनमा पनि पानी चुहिन्छ भने जाजरकोटका पाँच वटा प्रहरी भवन जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटको कार्यालय प्रमुखको निवास र जवान तथा जुनियर प्रहरी अधिकृत मेसको भवन नै जीर्ण छ ।

इलाका प्रहरी कार्यालय बडावन, पञ्चलादह, दशेरा र दल्ली भौतिक रूपमा जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाको ब्यारेक भत्किने अवस्थामा छ । ढुङ्गा, माटो तथा काठले बनेको पुरानो कच्ची भवन भत्किने अवस्थामा रहेको र अहिले माथिबाट त्रिपाल समेत राखिएर सेवा प्रदान गरिएको डोल्पा प्रहरीले जनाएको छ ।

प्र.चौ.मैलाकवाडी हुम्ला

हुम्लाको प्रहरी चौकी मैलाकवाडीको भवन भाडामा लिएर प्रहरी बसेको छ । यद्यपि उक्त भवन पहिरोको उच्च जोखिममा छ । प्रहरी चौकी ताजाकोटको भवन पनि भाडाकै भवन हो । उक्त भवन पनि निकै पुरानो भएकाले भित्ता चर्किएको छ भने बर्खाको समयमा भत्किने उच्च जोखिमा छ ।

प्रहरी चौकी गल्फगार्ड र यारीको अवस्था पनि उस्तै छ । ‘यस्तो अवस्थामा प्रहरीकै मनोबल घट्ने सम्भावना हुन्छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भट्टराई भन्छन्, ‘बाध्यताले भए पनि शान्ति सुरक्षाका प्रहरी अडिग भएर काम गरिरहेको छ ।’

प्र.चौ.यारी हुम्ला

आफ्नै भवन बनाउन जग्गाको समस्या, केही कार्यालय लुम्बिनीमै

प्रवक्ता भट्टराईले भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न निकै मुस्किल पर्ने बताए । आर्थिक वर्ष ०७९/०८० मा कालिकोट र जाजरकोटमा जग्गा प्राप्ति भएको छ । दुई जिल्लाका ७ वटा प्रहरी इकाईका लागि १७ रोपनी १ आना २ पैसा १.८७ दाम बराबरको जग्गा प्राप्त गरिएको उनले बताए ।

यस्तै प्रहरीका अन्य संरचनाहरूको लागि पनि कर्णालीका निकै समस्या छ । अहिले प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके (हाल नेपालगञ्ज) लाई सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ र १४ गुमीमा साढे चार (४.५) बिगाहा जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा भएको छ । २६ असारमा मात्रै मन्त्रिपरिषद्को निर्णयमार्फत नेपाल प्रहरी विशेष सुरक्षा गणको नाममा प्राप्त भएको थियो ।

 

bhim-prasad-dhakal

अर्कोतर्फ संघीयता कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि कर्णालीका केही प्रहरी संरचना अझै लुम्बिनी प्रदेशमा छन् । आफ्नै प्रदेशका सार्नका लागि पहल भइरहेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले बताए । 

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) लाई सुर्खेतको पञ्चपुरी नगरपालिका वडा–८ दुलालथाईमा २३ बिगाहा जग्गा उपलब्ध गराउन सम्बन्धित वडा, वन उपभोक्ता समिति र नगरपालिकाबाट सिफारिस गराइसकिएको छ । साथै जिल्ला सुरक्षा समितिबाट निर्णय गराई प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयसम्म फाइल पेस भइसकेको उनले बताए । यद्यपि उक्त तालिम केन्द्र रुकुममा लैजाने चर्चा पनि भइरहेको छ ।

बड्डीचाैर प्रहरी सुर्खेत

३०३ जना नागरिक बराबर १ प्रहरी

प्रहरीमा जनशक्तिको हिसाबले पनि समस्या छ । प्रदेशभर ६ हजार २७९ जना प्रहरी कर्मचारीको दरबन्दी छ । यद्यपि अहिले ५ हजार ६०६ जनामात्रै कार्यरत छन् । त्यसमध्ये ९२.६७ प्रतिशत पुरुष प्रहरी र ७.३३ जना महिला प्रहरी छन् ।

प्रवक्ता भट्टराईका अनुसार कर्णालीमा एक जना प्रहरी कर्मचारीले ४.३७ वर्गकिलोमिटर क्षेत्रको सुरक्षा दिनुपर्ने बाध्यता छ भने प्रति प्रहरीले ३०३ जना नागरिकहरूलाई सेवा प्रदान गर्नुपर्ने स्थिति छ । जनसङ्ख्यालाई आधार मान्ने हो भने यो सङ्ख्या निकै न्यून हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप