आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शंखरापुर नगरपालिकामा स्थानीय पाठ्यपुस्तक अध्ययन–अध्यापन सुरु

मङ्गलबार, २३ साउन २०८०, १२ : ४३
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ ।  काठमाडौँको शंखरापुर नगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म पूर्ण रूपमा स्थानीय पाठ्यपुस्तक अध्ययन अध्यापन कार्य लागू गरेको छ ।  नगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पूर्ण रूपमा लागू गरिएको शंखरापुर नगरप्रमुख रमेश नापितले जानकारी दिए । 

पुस्तकमा शंखरापुरभरी रहेका आर्थिक, सामाजिक, धार्मिक–सांस्कृतिक सम्पदा, कृषि लगायतका विभिन्न विषयहरूलाई पाठ्यसामग्रीका रूपमा समावेश गरिएको छ ।

स्थानीय पाठ्यपुस्तकबारे मेयर नापितले भने–‘यो पाठ्यपुस्तकबाट विद्यार्थीहरूले आफ्नो जन्मभूमि, आफ्नो क्षेत्रमा रहेका आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक सांस्कृतिक, वातावरणीय अवस्था, कृषि लगायतका विषयवस्तुहरू बुझ्न सक्नेछन् । नगरभित्रका २३ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालयमा ‘हाम्रो शंखरापुर’ स्थानीय पुस्तक पठन पाठन पूर्ण रूपमा लागू गरेका छौँ ।’

पुस्तक सबै नेपाली भाषामा रहेको छ । पाठ्यक्रम विकास केन्द्रले १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक राख्नुपर्ने व्यवस्था गरे अनुसार शंखरापुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक छपाई गरेर विद्यार्थीहरुलाई वितरण गर्न थालिएको हो । 

२०८० सालभित्र अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम लागू गरिसक्नुपर्ने प्रावधान अनुसार यो वर्षदेखि सबै कक्षामा स्थानीय पाठ्यपुस्तक पढाउन थालिएको शंखरापुर नगरपालिका शिक्षा शाखा प्रमुख शुकदेव नेपालले जानकारी दिए । कक्षा ८ सम्म प्रत्येक विद्यार्थीले एकप्रति पुस्तक पाउने उनले बताए । 

सामुदायिक विद्यालयमा निःशुल्क रूपमा वितरण गरिने भए पनि निजी विद्यालयका लागि शुल्क लिने कि नलिने भन्ने बारेमा निर्णय नभएको नेपालले बताए । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पुस्तक वितरण गरिसके पनि अब निजी विद्यालयका विद्यार्थीका लागि पुस्तक वितरण गर्न बाँकी रहेको नेपालले बताए । नगरपालिकामा ‘हाम्रो शंखरापुर’ नाम रहेको स्थानीय पाठ्य पुस्तक लागू गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप