सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सरकारका सकस

मधेस प्रदेश : सुरितालाई जिम्मेवारी दिन फेरि मन्त्रालय टुक्रयाइने

मुख्यमन्त्री भन्छन्–कुनै मन्त्रीलाई हटाएर भए पनि उहाँको व्यवस्थापन हुन्छ
बुधबार, २४ साउन २०८०, १२ : ०१
बुधबार, २४ साउन २०८०

जनकपुरधाम । मधेस प्रदेशमा पुनः एक मन्त्रालय थप हुने भएको छ । प्रदेश सरकारमा सहभागी हुने दलहरूको सङ्ख्या बढेपछि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालयको सङ्ख्या बढाउने भएका हुन् ।

गत जेठ ११ मा मुख्यमन्त्री यादवले चौथो पटक मन्त्री परिषद् विस्तार गर्दा दुई जना मन्त्रीलाई जिम्मेवारीविहीन बनाइएको थियो । उनीहरूलाई जिम्मेवारीविहीन बनाएसँगै पूर्णता नपाएको मधेस प्रदेश सरकारले गत साउन १५ मा पूर्णता पायो । विना विभागीय मन्त्री रहेका वसन्त कुशवाहक र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिए । उनको सट्टामा जनमत पार्टीले प्रमुख सचेत चन्दन सिंह श्रम तथा यातायात मन्त्री र मञ्जु खंगलाई राज्यमन्त्री बनाए । कुशवाहकसँगै जिम्मेवारीविहीन रहेकी जसपाकी सुरिता कुमारी साहले भने अन्तिम पटक भएको सरकार विस्तारमा पनि जिम्मेवारी पाइनन् । कर्मचारीलाई अतिरिक्त समूहमा राखिए जस्तै मुख्यमन्त्री कार्यालयमा मन्त्रीको रूपमा उनलाई राखियो ।

Surita Sahदश दिनदेखि उनलाई मुख्यमन्त्री कार्यालयमा बस्न टेबुल कुर्सी दिएर तत्कालका लागि व्यवस्थापन गरिएको छ । तत्कालीन समयमा लोसपा नेतृ रहेकी उनी पार्टीबाट टिकट नपाएपछि महोत्तरी २ (ख) बाट स्वतन्त्र लडेर निर्वाचित भएपछि जसपा प्रवेश गरेकी थिइन् । तर, प्रदेश सरकारमा सहभागी हुने दलहरूको सङ्ख्या बढेपछि मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री यादवलाई कठिनाइ भएको छ । यता सुरिताले मन्त्री नपाए पार्टी छाडेर जाने  चेतावनी दिएपछि नामकै लागि भए पनि मुख्यमन्त्री कार्यालयमा राखेर अन्यत्र व्यवस्थापन गर्ने सरकारको तयारी रहेको स्रोत बतायो ।

Saroj Kumar Yadavतत्कालै मन्त्री साहलाई व्यवस्थापन गर्ने कुनै तयारी नरहेको मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । ‘उहाँको व्यवस्थापन हुन्छ, मुख्यमन्त्री यादवले भने, ‘कुनै मन्त्रालय टुक्राएर हुन्छ कि नयाँ मन्त्रालय नै सिर्जना गरेर हुन्छ वा कुनै मन्त्रीलाई हटाएर भए पनि उहाँको व्यवस्थापन जसरी पनि गरिन्छ । तर, ठ्याक्कै अहिले नै उहाँको व्यवस्थापन हुन्छ भनेर भन्न गाह्रो छ ।’

स्रोतका अनुसार साहलाई व्यवस्थापन गर्न शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाउने मुख्यमन्त्रीको तयारी रहेको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर पहिला जस्तै महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनाउने मुख्यमन्त्रीको योजना छ ।

यसरी मन्त्रालय टुक्राउँदा एउटाको जिम्मेवारी हाल शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका जनमतका महेश प्रसाद यादवले सम्हाल्नेछन् भने अर्को मन्त्रालयको जिम्मेवारी सुरिता साहलाई दिइने प्रदेश सरकार निकट स्रोतको भनाई छ ।

सरकारमा अहिले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी जम्मा १४ जना मन्त्री छन् । तत्कालका लागि मन्त्री साहलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने तयारीसमेत भईरहेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप