सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रहरीको एक वर्षे योजना : ५ लाख कफी रोप्नेदेखि प्रयोगशाला र अस्पताल निर्माणसम्म

शुक्रबार, २६ साउन २०८०, ११ : २८
शुक्रबार, २६ साउन २०८०

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख कफीका बिरुवा रोप्नेदेखि प्रहरी अस्पताल र विधि विज्ञान प्रयोगशाला निर्माणको योजना अघि सारेको छ ।

प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा नेपाल प्रहरी कार्ययोजना २०८०, गृह प्रशासन सुधार कार्ययोजना २०७८, संगठन प्रमुखका प्राथमिकताका क्षेत्रहरु, प्रदेश प्रहरी कार्यालय हेटौंडाको वार्षिक कार्ययोजना २०८० मा आधारित भइ यी योजना निर्माण गरेको हो ।

कार्यालयले गाँजा खेती न्यूनीकरणका लागि वैकल्पिक रुपमा कफी खेती कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेको छ । कार्यालयले प्रदेशका मुख्य ३ जिल्लालाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्ष ५ लाख वटा कफीका बिरुवा रोप्ने योजना अघि सारेको हो ।

प्रदेशको मकवानपुर, चितवन र धादिङका पहाडी भेगमा कानुनले वर्जित गरेको गाँजा, अफिम खेतीलाई निरुत्साहित गर्न वैकल्पिक रुपमा कफी खेतीको कार्यक्रम अघि सारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले जानकारी दिइन् ।

उनका अनुसार प्रदेश प्रहरी कार्यालयको समन्वयमा गत आर्थिक वर्ष २०७९/०८० मा मकवानपुर र चितवनमा बढ्दो अवैध गाँजा, अफिम खेतीलाई विस्थापित गरी कृषकलाई नगदे बालीतर्फ आकर्षित गर्न ३५ हजार वटा कफीको बिरुवा रोपिएको छ । कार्यालयले गत असार २८ र साउन ३ गते पहिलो चरणमा चितवनको राप्ती नगरपालिकाको परेवाकोट र मकवानपुरको राक्सिराङ गाउँपालिकामा कफीका बिरुवा रोपेको हो ।

२ वर्षमै उत्पादन दिने कफी खेतीतर्फ कृषकहरुलाई आकर्षित गर्न सकेको खण्डमा लागुऔषधजन्य अपराधका घटनामा कमी आउने प्रहरी नायव महानिरीक्षक राणाको भनाइ छ । चालु आर्थिक वर्षमा सो कार्यक्रम अन्तर्गत ५ लाख कफीका बिरुवा निःशुल्क रुपमा नागरिकलाई हस्तान्तरण गर्न मास्के मल्टीप्रपोज एग्रीकल्चर एण्ड रिसर्च प्रा.लि. चितवन र स्थानीय तहसँग कार्यालयले सम्झौता गर्ने तयारी भइरहेको उनले बताइन् ।

प्रहरी अस्पताल र विधिविज्ञान प्रयोगशाला निर्माण

प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा प्रदेश राजधानीमा प्रादेशिक प्रहरी अस्पताल निर्माण कार्य प्रारम्भ गर्ने योजना तयार पारेको छ । कार्यालयले हेटौंडको हटियामा प्रहरी अस्पताल निर्माण गर्ने गरी तयारी थालेको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन र सिन्धुली तथा मातहतका इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनुकुल हुने गरी प्रहरी अस्पताल निर्माण गर्ने तयारी भएको उनको भनाइ छ ।

प्रहरी नायव महानिरीक्षक राणाका अनुसार प्रदेश प्रहरी कार्यालय मतहत कार्यरत प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा नागरिकहरुलाई सेवा प्रवाह गर्ने गरी सो अस्पताल स्थापना हुनेछ ।

त्यस्तै प्रदेश प्रहरी कार्यालयले प्रहरी अनुसन्धान छिटो छरितो बनाउन प्रादेशिक विधिविज्ञान प्रयोगशाला निर्माणको योजना अघि सारेको छ । कार्यालयले हेटौंडाको हटियामा उक्त प्रयोगशाला निर्माण सुरु गर्ने गरी तयारी गरेको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् ।

प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुले बरामद गरेका लागुऔषध तथा अन्य सामग्रीहरुको परीक्षण गर्न काठमाडौं नै केन्द्रित हुनुपर्दा अनुसन्धान कार्य ढिलो हुने भएकाले प्रयोगशाला स्थापनाको योजना अघि सारिएको उनको भनाइ छ । सो प्रयोगशाला स्थापना पश्चात प्रहरी अनुसन्धानका कामहरु प्रदेशतहमै हुने उनले बताइन् ।

चालु आर्थिक वर्षमा प्रादेशिक प्रहरी अस्पताल र विधिविज्ञान प्रयोगशाला स्थापना तथा भौतिक संरचना निर्माणका लागि बागमती प्रदेश सरकारबाट ३ करोड बजेट विनियोजन भएको छ । ती संरचना निर्माणका लागि हेटौंडाको हटियामा जग्गासमेत प्राप्त भइसकेको र अन्य प्रक्रिया पूरा गरी काम सुरु गर्ने उनले बताइन् ।

डिजिटल चेक पोष्ट निर्माण

प्रदेश प्रहरी कार्यालयले बागमती प्रदेश भित्रिने नाकाहरुलाई डिजिटल बनाउन डिजिटल चेकपोष्टको अवधारणा अघि सारेको छ । कार्यालयले यस वर्ष प्रदेशका ३ स्थानमा डिजिटल चेकपोष्ट निर्माणको प्रारम्भ गर्ने तयारी गरेको छ ।

कार्यालयले पहिलो चरणमा प्रदेश प्रवेश गर्ने नाका सुरक्षित बनाउन सिन्धुली, मकवानपुर र चितवनमा डिजिटल चेकपोष्ट निर्माणको योजना बनाएको हो । डिजिटल चेकपोष्ट अन्तर्गत सीसीटीभी क्यामेराको निगरानी, प्रविधियुक्त तवरमा सवारी इन्ट्रीसहितको सुरक्षित चेक पोष्ट स्थापना गर्ने योजना रहेको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् ।

कार्यालयले चालु आर्थिक वर्ष सिन्धुलीको भिमानमा अत्याधुनिक सुरक्षा चेकपोष्ट निर्माणको सुरुवात गर्ने तयारी गरेको छ । अन्य स्थानमा क्रमशः प्रक्रिया अघि बढाउने योजना रहेको उनले जानकारी दिइन् ।

भिमानमा चेकपोष्ट निर्माणका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ बजेटसमेत व्यवस्थापन गरिएको छ । चेकपोष्ट निर्माणका लागि कार्यालयले जग्गा व्यवस्थापनको काम गरिरहेको छ । जग्गा व्यवस्थापनको काम पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने कार्यालयको योजना छ ।

त्यस्तै प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्ष मकवानपुरको हेटौंडास्थित रिफ्रेस सेन्टर (पेट्रोल पम्प, सवारी चार्जिङ स्टेशन, सवारी चेकजाँच) स्थापनाका लागि जग्गा व्यवस्थापनको पहल गर्ने, प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा १०० वटा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम, ९० प्रतिशत प्रहरी कर्मचारी विरुद्धको उजुरी फर्छ्यौट गर्ने, प्रहरी चौकीमा २८० वटा अग्नि नियन्त्रण यन्त्र जडान, १८ वटा प्रहरी कार्यालयका हिरासतमा पुस्तकालयको निर्माण गर्ने, चितवन, नुवाकोट र काभ्रेमा स्मार्ट कन्ट्रोल रुमको सुरुवात गर्ने योजना लिएको छ ।

त्यस्तै प्रदेशस्तरीय प्रहरी कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गर्ने, मातहत मापदण्ड पुगेका इलाका प्रहरी कार्यालयहरुमा मुद्दा चलाउने अनुमति प्रदान गर्न आवश्यक कार्य गर्ने कार्यालयको योजना छ ।

बागमतीमा अपराध दर बढ्दो

बागमती प्रदेशमा आपराधिक क्रियाकलापको दर बढ्दो क्रममा छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा ६.२२ प्रतिशतले आपराधिक घटना बढेको हो ।

कार्यालयका अनुसार मातहतका निकायहरुमा गत आर्थिक वर्ष हत्या, बलात्कार आत्महत्या दुरुत्साहन, चोरी, ठगी तथा बैंकिङ अपराधका घटना दर बढोको हो । आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशमा ४ हजार ४०५ आपराधिक घटना भएकोमा २०७९/०८० मा ४ हजार ६७९ पुगेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी चितवनमा १ हजार ५३६ वटा आपराधिक घटना भएका छन् भने सबैभन्दा कम रसुवामा ३३ वटा घटना भएका छन् ।

मकवानपुरमा ८६६, सिन्धुलीमा ३८६, रामेछापमा १८८, दोलखामा १७६, काभ्रेमा ५४४, सिन्धुपाल्चोकमा २४५, नुवाकोटमा २५१ र धादिङमा ४५२ वटा अपराधका घटना दर्ता भएका छन् ।

कार्यालयको तथ्याङ्क अनुसार मकवानपुरमा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा ७.९८ प्रतिशत आपराधिक घटना बढेका छन् भने चितवनमा १०.७४ प्रतिशत, धादिङमा १२.१६ प्रतिशत, नुवाकोटमा १८.९६ प्रतिशत र काभ्रेमा २४.७७ प्रतिशत घटना बढेका छन् ।

यता रसुवामा आपराधिक घटनामा २५ प्रतिशत कमी आएको छ भने सिन्धुपाल्चोकमा १९.२८ प्रतिशत, सिन्धुलीमा १४.२२ प्रतिशत, दोलखा १.१२ प्रतिशत घटेको छ । रामेछापमा अघिल्लो वर्षकै सरह अपराधका घटना भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप