शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गौर हत्याकाण्डबारे जसपाको विज्ञप्तिप्रति आम जनता पार्टीको आपत्ति

शुक्रबार, २६ साउन २०८०, १९ : ४६
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । १७ वर्षअघि भएको गौर हत्याकाण्डबारे सरकार र पीडितहरुबीच भएको सहमतिबारे जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार निकालेको विज्ञप्तिप्रति आम जनता पार्टीले आपत्ति जनाएको छ । 

आम जनता पार्टीका प्रवक्ता चन्दन भुषण साहले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै गौर हत्या काण्डका पीडितहरुलाई न्याय दिलाउन तथा अपराधिहरुलाई कानुनी दायरामा ल्याउन साउन २३ गते पीडित र सरकारबीच भएको ५ बुँदे सहमतिको विषयलाई प्रभावित गर्नेगरी जसपाले निकालेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘यस दुखद घटनामा हतास एवं पराजित मनोविज्ञानका साथ जसपाले अहिले आएर विभिन्न जालझेल, षडयन्त्र एवं प्रपन्चको भरमा वास्तविक अपराधिलाई उन्मुक्ति दिलाउन सकिन्छ कि भनेर हाम्रो पार्टीका अध्यक्षमाथि लगाएको आधारहीन एवं  कपोकल्पित लाञ्छना केवल अपराधी जोगाउने विषयान्तरको दुस्प्रयास रहेको हाम्रो बुझाई छ’, आम जनता पार्टीले विज्ञप्तिमा भनेको छ । 

जसपाले शुक्रबार पत्रकार सम्मेलन गर्दै जारी विज्ञप्तिमा गौर हत्याकाण्ड तत्कालीन माओवादीका नेता प्रभु साहको हठका कारण भएको बताएको थियो । साथै जसपाले पछिल्लो पटक गौर हत्या काण्डका पीडित र सरकारबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै रहस्यमय भनेको छ । जसपाको यो धारणाप्रति प्रभु साह नेतृत्वको आम जनता पार्टीले आपत्ति जनाएको हो । साथै आम जनता पार्टीले देशमा कानुनी शासन र मानवअधिकारमाथि ठाडो प्रहार गर्ने र सुशासन सट्टा आम जनतालाई जंगलराजको प्रत्याभूति दिलाउने जसपाको दुष्प्रयासप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवार र नेपाल सरकारबीच भएको ५ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । 

a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप