सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बिजुली निर्यात : १० हजार मेगावाट किन्ने घोषणा, अड्कियो ६०० मेगावाट बेच्ने प्रस्ताव

शनिबार, २७ साउन २०८०, १२ : १०
शनिबार, २७ साउन २०८०

काठमाडौँ । नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेको भारतले ६०० मेगावाट बिजुली किन्ने प्रस्ताव अड्काएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको ६०० मेगावाट बिजुली बेच्ने प्रस्ताव भारतको विद्युत् मन्त्रालयले लामो समयदेखि अड्काएको हो ।

नेपालबाट सन् २०२१ अगस्टदेखि भारततर्फ बिजुली निर्यात सुरु भएको थियो । उक्त समयमा ३९ मेगावाट बिजुलीबाट प्राधिकरणले भारतीय बजारमा आफ्नो पहुँच स्थापना गरेको थियो । हाल प्राधिकरणले भारततर्फ ४५२ मेगावाट बिजुली बेच्ने बाटो पाइसकेको छ । तर, थप ६०० मेगावाट बिजुली बेच्न प्राधिकरणले गरेको प्रस्तावमा भने भारतले आलटाल गरेको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ६०० मेगावाट बिजुली बेच्ने प्रस्ताव भारतको विद्युत् मन्त्रालयमा पुगेको बताए । उनले कार्यभार सम्हालेको २ वर्ष पुगेको अवसरमा आयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै भारतमा ६०० मेगावाट बिजुली बेच्न प्रस्ताव पठाइसकेको बताएका हुन् ।

उनले भने, ‘अहिले भारततर्फ ४५२ मेगावाट बिजुली निर्यात भइरहेको छ । थप ६०० मेगावाट बिजुली बेच्ने प्रस्ताव पठाइएको छ । भारतको विद्युत् मन्त्रालयले अनुमति दिएपछि निर्यात सुरु गर्छौँ ।’ कुलमान घिसिङले यसो भारतको विद्युत् मन्त्रालयले छिट्टै अनुमति दिने भने पनि यो फाइल लामो समयदेखि अड्किएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । उनले दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उक्त बिजुली आगामी १० वर्षमा किन्ने घोषणा गरेका थिए ।

उक्त घोषणासँगै नेपाली पक्ष उत्साहित बनेको थियो । प्रधानमन्त्रीबाटै १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएपछि नेपाली पक्ष उत्साहित हुन स्वाभाविक नै हो । तर, प्रधानमन्त्री स्तरीय भ्रमणका क्रममा भारतले नेपाललाई झुक्क्याएको देखिएको छ ।

विगत लामो समयदेखि विद्युत् मन्त्रालयले नेपालको बिजुली किन्ने फाइल अड्काउँदा प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले झुक्क्याएको बुझ्न सकिन्छ । प्रधानमन्त्री फर्के लगत्तै प्राधिकरणले साढे २०० मेगावाट बिजुली बेच्न गरेको प्रस्तावले समेत यति बेलासम्म स्वीकृत पाइसकेको छैन ।

फलस्वरुपः नेपालमा उत्पादित बिजुली खेर गइरहेको छ । हाल राष्ट्रिय प्रसारण लाइनमा कूल २७९४ मेगावाट बिजुली जडान भएको छ । यसमध्ये नेपालको ‘पिक डिमान्ड २१ सय मेगावाट छ । यस्तै, ‘लो डिमान्ड’ १६ सय मेगावाट आसपास छ । यसलाई सरदरमा राख्दा १७ सयदेखि १८ सय मेगावाट आसपास हुन आउँछ ।

यसमध्ये ४५० मेगावाट हाराहारी बिजुली भारततर्फ निर्यात भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार करिब १०० मेगावाट क्षमताका आयोजना मर्मतका लागि बन्द अवस्थामा छन् । यस्तै, असार १ गते आएको बाढीका कारण पूर्वका केही आयोजना समेत क्षतिग्रस्त भएका थिए । यसअनुसार हाल नेपालको करिब २०० मेगावाट आसपास बिजुली खेर गइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप