बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विराट कोहली भन्छन्- ‘पाकिस्तानका बाबर आजम विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यान हुन्’

आइतबार, २८ साउन २०८०, १२ : ५२
आइतबार, २८ साउन २०८०

काठमाडौँ । भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम दुवै वर्तमान विश्व क्रिकेटका प्रभावशाली ब्याट्सम्यान हुन् । यी दुवै एकअर्काको चिर प्रतिद्वन्द्वी टोलीका खेलाडी हुन् । तर, व्यक्तिगत रूपमा भने कोहली र बाबर आजमबीच राम्रो मित्रता छ । 

यसै महिना पाकिस्तान र श्रीलङ्कामा एसिया कप क्रिकेटको १६औं संस्करण आयोजना हुँदै छ । अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म हुने एसिया कपमा यी दुवै ब्याट्सम्यान एकअर्काविरुद्ध मैदानमा हुनेछन् । एसिया कपका लागि घोषित पाकिस्तानी टोलीका कप्तान पनि हुन्, बाबर आजम ।

तर, भारतले अहिलेसम्म एसिया कपका लागि टोली घोषणा गरिसकेको छैन । तर, भारतीय टोलीमा कोहलीले पनि स्थान पाउने प्रबल सम्भावना छ । त्यसपछि यी दुई ब्याट्सम्यानबीच यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपमा पनि भेट हुनेछ । 

विश्व क्रिकेटमा कोहलीका करोडौं समर्थक छ । बाबर आजमको क्रेज पनि उत्तिकै छ, अन्तर्राष्ट्रिय क्रिकेटमा । तर, हालै विराट कोहलीले बाबर आजमको खेलको मुक्त कण्ठले प्रशंसा गरेका छन् । कोहलीले बाबर आजम विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यान भएको बताएका छन् । 

कोहलीले स्टार स्पोर्टससँगको कुराकानीमा बाबर आजम विश्वकै उत्कृष्ट ब्याट्सम्यान भएको धारणा व्यक्त गरेका हुन् । बाबर आजमलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान भनेपछि थुप्रै पाकिस्तानी समर्थकले कोहलीको प्रशंसा गरेका छन् । 

भारतीय टोलीको पूर्वकप्तान समेत रहेका कोहलीले सन् २०१९ को विश्वकपमा आफूले पहिलो पटक बाबर आजमलाई भेटेको बताएका छन् । त्यतिबेला नै आफूले बाबर आजमको वास्तबीक क्षमताको परिचय पाएको पनि कोहलीले बताएका छन् । 

‘सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेलपछि पाकिस्तानी अलराउन्डर ईमाद वसिममार्फत मैले बाबर आजमलाई भेटेको थिएँ । त्यसपछि हामीले सँगै बसेर क्रिकेटको बारेमा लामो कुराकानी गरेका थियौँ । त्यतिबेला उनले देखाएको सहृदयाता र सम्मानबाट म निकै प्रभावित भएको थिएँ । वास्तवमै उनी विश्वको उत्कृष्ट ब्याट्सम्यानसँगै एउटा असल व्यक्ति पनि हुन्,’ कोहलीले भनेका छन् ।

कोहलीले बाबर आजमको प्रदर्शनमा एकरुपता रहेको र आफूलाई सधैं उनको खेल हेर्न रमाइलो लाग्ने पनि बताएका छन् । बाबर आजम अहिले कूल आठ सय ८६ अङ्कसहित आईसीसीको एकदिवसीय ब्याट्सम्यान वरीयतामा पहिलो स्थानमा छन् ।

उक्त वरीयतामा २८ वर्षीय बाबर आजमभन्दा ३४ वर्षीय कोहली निकै पछाडि छन् । कोहली कूल सात सय पाँच अङ्कसहित नवौँ वरीयतामा छन् । आगामी एसिया कप कोहलीका लागि आफ्नो वरीयतामा सुधार गर्ने गतिलो अवसर पनि हो । आईसीसी एकदिवसीय ब्याटिङ वरीयतामा दक्षिण अफ्रिकाका रासी भान डर डुसेन कूल सात सय ७७ अङ्कसहित दोस्रो स्थानमा छन् । 

पछिल्लो तीन वर्षयता बाबर आजमले हरेक ढाँचाको क्रिकेटमा क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टीट्वान्टी ढाँचाको क्रिकेटमा पनि उनको प्रदर्शन उत्कृष्ट छ । आईसीसी टीट्वान्टी ब्याटिङ वरीयतामा पनि उनी तेस्रो स्थानमा छन् । टीट्वान्टी ब्याटिङ वरीयतामा भारतका सूर्यकुमार यादव पहिलो र पाकिस्तानमा मोहम्मद रिजवान दोस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप