मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

श्रीदेवीका लागि अफगानिस्तानमा रोकियाे गोलीबारी, १० वर्षको उमेरमा रजनीकान्तकी आमाको भूमिकामा

आइतबार, २८ साउन २०८०, १३ : १९
आइतबार, २८ साउन २०८०

१३ अगस्ट सन् १९६३ । आजभन्दा ठिक ६० वर्षअघि दिवङ्गत अभिनेत्री श्रीदेवीको जन्म तमिलनाडुको एक सानो गाउँ मिनमपट्टीमा भयो र उनलाई नाम दिइयो श्री अम्मा यंगर अयप्पन । पिता अयप्पन एक वकिल थिए र आमा राजेश्वरी घर सम्हाल्थिन् । 

श्रीदेवी हुर्कँदै थिइन् । परिवारलाई उनी अन्य बच्चाभन्दा फरक छिन् भन्ने थाहा भइसकेको थियो । घरमा पाहुना जाँदा श्रीदेवीले उनीहरूको नक्कल उतारेर सबैलाई हँसाउँथिन् । यसैले उनलाई सबैभन्दा पहिला साउथ इन्डिया र त्यसपछि भारत र अन्य देशमा पहिचान दिलायो ।

आज श्रीदेवीको ६० औँ जन्मजयन्ती । यो अवसरमा उनका केही रोचक कहानीबारे जानकारी लिऔँ । 

कुरा सन् १९९६ को हो । तमिलमा बनेको हिन्दु पौराणिक कथा फिल्म ‘कंधन करुनई’ मा साउथ सुपरस्टार जेमिनी गणेशन, शिवाजी गणेशन, सावित्री, जे.जयललितालाई कास्ट गरियो । फिल्ममा अभिनेता विजयकुमारले मरुगन (भगवान कार्तिकेय) को भूमिका निभाउने तयारीमा थिए । उनलाई अर्को भूमिकामा कास्ट गरियो । बाल कलाकारको अकस्मात् आवश्यकता पर्‍यो । निर्माताले तत्काल श्रीदेवीको नाम सुझाए । त्यतिबेला उनी तीन वर्षकी मात्रै थिइन् । 

निर्माण पक्ष श्रीदेवीलाई भेट्न पुगे र उनको अभिनय देखेर उनलाई तुरुन्त मुरुगनको भूमिकामा अनुबन्ध गरे । निर्माताले श्रीदेवीको कपाल खौरनुपर्ने माग राखे तर उनकी आमाले छोरीको कपाल केही गरी पनि खौरन दिइनन् । यस्तोमा निर्माण पक्षले उनको लुक फेरिदियो । फिल्म कन्धन करुनई सन् १९६७ मा रिलिज हुँदा श्रीदेवी चार वर्षको भइसकेकी थिइन् । यो फिल्म अत्यधिक हिट भयो र श्रीदेवीलाई थुप्रै फिल्मको अफर आउन थाल्यो । 

sri deviदोहरो सिफ्टमा काम गर्थिन् श्रीदेवी, सँगै हिँड्थे शिक्षक

बाल कलाकार श्रीदेवीलाई फिल्मको अफर यति थियो कि उनी एकै पटक दोहरो सिफ्टमा काम गर्थिन् । लगातार फिल्ममा काम गर्दा उनको पढाई बिग्रियो । यो देखेर उनका बुवा असाध्यै रिसाउँथे ।

पढाई नछुटोस् भनेर उनी सहर बाहिर सुटिङ गर्न जाँदा बुवाले स्कुलका शिक्षकलाई उनीसँगै पठाउँथे । सुटिङ ब्रेकमा श्रीदेवी पढ्थिन् । समय बित्दै जाँदा श्रीदेवीका लागि पढाई र अभिनयमा तालमेल मिलाउन असाध्यै गाह्रो भयो । फलस्वरूप उनले यी दुईबीच अभिनय रोजिन् ।

१० वर्षको उमेरमा नायिका बनिन्, के.बालाचन्दरको फिल्म पाइन्

एक दिन श्रीदेवी घरमा बसिरहेका बेला अचानक त्यो जमानाका चर्चित सिनेमेटोग्राफर बालु महेन्द्र आए । उनले श्रीदेवीकी आमालाई श्रीदेवीलाई घरमा भएको कुनै साडी लगाइदिन आग्रह गरे ।

आमाले तुरुन्त साडी निकालिन् र १० वर्षकी श्रीदेवीलाई लगाइदिइन् । उनीहरुले श्रीदेवीलाई हेरे र केही नभनी गए । यति सानी बच्चीलाई किन साडी लगाइदेऊ भनेको होला भनेर उनकी आमा पनि अचम्ममा परिन् ।

त्यसको भोलिपल्ट श्रीदेवी एउटा फिल्मको सुटिङ गर्न एउटा स्टुडियो गइन् । श्रीदेवीसँग उनकी आमा राजेश्वरी सेटमा जाने गर्थिन् । उनीहरू दुवै स्टुडियो छिर्दा धेरैले उनकी आमालाई बधाई दिँदै भने, ‘बधाई छ, तपाईंकी छोरी हिरोइन बनिन् ।’ 

चर्चित फिल्म निर्माता के. बालाचन्दरले श्रीदेवीलाई १० वर्षको उमेरमा नै श्रीदेवीलाई आफ्नो फिल्मको मुख्य नायिका बनाएका थिए ।

sri devi1

कम उमेरमा छोरी नायिका बनोस् भन्ने आमाको चाहना थिएन 

१० वर्षकी श्रीदेवीका लागि यो ठुलो उपलब्धि थियो तर उनकी आमा भने त्यति खुसी थिइनन् । श्रीदेवी एक जवान पात्रको भूमिका निर्वाह गर्नका लागि योग्य भइसकेकी छैनन् भन्ने उनलाई लाग्थ्यो । यद्यपि, मानिसले सम्झाएपछि उनी राजी भइन् । श्रीदेवीले सन् १९७५ को फिल्म मुंदरु मुदिचुबाट मुख्य भूमिकामा तमिल सिनेमामा डेब्यु गरिन् । फिल्म रिलिज हुँदा उनी १३ वर्षकी मात्रै थिइन् ।

१० वर्षको उमेरमा निभाएकी थिइन् रजनीकान्तकी आमाको भूमिका

फिल्म मुन्दरु मुदिचुमा १० वर्षकी श्रीदेवीले रजनीकान्तकी सौतेनी आमाको भूमिका निर्वाह गरेकी थिइन् । जसले आफ्नी दिदीको मृत्युको बदला लिन रजनीकान्तका बुवासँग विवाह गरेर उनलाई पाठ पढाउँछिन् । फिल्म अत्यधिक सफल रह्यो ।

फिल्ममा पहिलो पटक रजनीकान्त मुख्य भूमिकामा देखिएका थिए । श्रीदेवी मुख्य पात्रको रूपमा देखिँदा पनि उनले बाल कलाकारको भूमिका निभाएका फिल्म रिलिज भइरहेका थिए । पहिलो फिल्मबाट नै श्रीदेवीले साउथ इन्डस्ट्रीमा पहिचान पाएकी थिइन् । 

sri devi2१६ वर्षको उमेरमा गरिन् बलिउड डेब्यु, फ्लप थियो फिल्म

साउथमा पहिचान बनाएपछि श्रीदेवीले सन् १९७९ को फिल्म सोलवां सावनबाट बलिउड डेब्यु गरिन् । यो तमिल फिल्म १६ व्याथिनिले (१९७७) को हिन्दी रिमेक थियो जसमा श्रीदेवी नै मुख्य भूमिकामा थिइन् । पहिलो बलिउड फिल्म फ्लप रह्यो त्यसपछि श्रीदेवीले थुप्रै हिन्दी फिल्म अस्वीकार गरिन् । ४ वर्षपछि फिल्म हिम्मतवालाबाट श्रीदेवीले दमदार फिर्ती गरिन् ।

यो त्यो वर्षको सबैभन्दा ठुलो फिल्म साबित भयो जसमा श्रीदेवीसँग जितेन्द्र मुख्य भूमिकामा थिए । फिल्मले श्रीदेवीलाई देशभरी पहिचान दिलायो र पछि फिल्म तोहफा, मास्टर जी, नगिना, जांबाजजस्ता थुप्रै हिट फिल्ममा अभिनय गरेर स्टार बनिन् । 

हरेक फिल्म श्रीदेवीसँग मात्रै गर्न चाहन्थे जितेन्द्र

हिम्मतवाला सफल भएलगत्तै जितेन्द्रलाई श्रीदेवीको अभिनय यति मनपर्यो कि उनी हरेक फिल्ममा उनीसँगै काम गर्न चाहन्थे । यसै कारण जितेन्द्र र श्रीदेवी ‘जानी दोस्त’ (१९८३), ‘जस्टिस चौधरी’ (१९८३), तोहफा (१९८४), सुहागन (१९८६), धर्माधिकारी (१९८६) र दिल लगाके देखो (१९८८) जस्ता फिल्ममा सँगै देखिएका थिए । 

sri devi3नागिन बनेर जब आँखा बिग्रियो

फिल्म नगिना (१९८६) मा श्रीदेवीले नागिनको भूमिका निर्वाह गरेकी थिइन् । नागिन बन्नका लागि उनले घण्टौँसम्म सेटमा कनट्याक्ट लेन्स लगाउनु पर्दथ्यो जसका कारण उनको आँखा बिग्रन थाल्यो । आँखा निको होस् भनेर श्रीदेवीले ऋषिकेश नजिकैको नीलकण्ठ महादेव मन्दिरमा प्रार्थना गरिन् र त्यहाँ आफ्नो खर्चमा तीन वटा कोठा बनाए । यी कोठालाई श्रीदेवीको धर्मशाला भनिन्छ । यहाँ तीर्थयात्री बस्छन् । फिल्म नगिनाबाट नै श्रीदेवी सुपरस्टार बनेकी थिइन् ।

मिस्टर इन्डियाका लागि आमाले मागिन् १० लाख, बोनी कपुरले दिए ११ लाख

८० को दशकमा श्रीदेवीको  पारिश्रमिक त्यो जमानाकी स्टार रेखा र हेमा मालिनीको भन्दा पनि बढी हुन्थ्यो । बोनी कपुरले फिल्म मिस्टर इन्डिया (१९८७) का लागि श्रीदेवीलाई कास्ट गर्न खोज्दा श्रीदेवीकी आमाले १० लाख पारिश्रमिकको माग गरिन् । बोनी कपुरले श्रीदेवीलाई कास्ट गर्न उत्सुकता देखाए र ११ लाख पारिश्रमिक दिने घोषणा गरे ।

त्यो जमानामा कुनै पनि नायिकाको पारिश्रमिक ११ लाख पुग्दैनथ्यो । बोनी कपुरको यो तरिका देखेर श्रीदेवीकी आमाले छोरीलाई भनेकी थिइन्, ‘बोनी कपुरले तिमीलाई पुनः कुनै फिल्ममा साइन गराउँछन् भने उनीसँग पारिश्रमिक नलिनु । ’

आमाको इच्छा विपरीत भिजेको साडीमा गरिन् सुटिङ

श्रीदेवीको फिल्म मिस्टर इन्डियाको गीत काटे नहीं कटतेको सुटिङ चलिरहेका बेला उनलाई ज्वरो आएको थियो । गीतमा उनले निलो रङको साडीमा भिजेर नाच्नुपर्ने थियो । श्रीदेवीलाई ज्वरो आएकोले उनकी आमाले भिजेको साडीमा छोरीले ननाचोस् भन्ने चाहेकी थिइन् तर उनले मानिनन् र १०२ डिग्री ज्वरो आउँदा पनि गीत पूरा गरिन् ।

फिल्म चाँदनीबाट फेसन आइकन बनेकी थिइन् श्रीदेवी

फिल्म मिस्टर इन्डिया (१९८७) मा ११ लाख पारिश्रमिक पाएपछि श्रीदेवीले फिल्म चांदनी (१९८९) का लागि १५ लाख पारिश्रमिक लिइन् र सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्रीको आफ्नै रेकर्ड तोडिन् । यो फिल्ममा श्रीदेवीले लगाएको डिजाइनर सुट ट्रेन्डमा आएको थियो । फिल्मको गीत ‘मेरे हातमा नौ–नौ चूडियां है’ आज पनि रेडिफ चार्टको बलिउडको उत्कृष्ट वेडिङ सङमध्ये एक हो ।

बुवाका अन्तिम संस्कारबाट फर्किएर सुटिङ गरिन् कमेडी सिन

सन् १९९१ मा जब श्रीदेवीका पिता अयप्पनको निधन भयो, त्यतिबेला उनी फिल्म लम्हें (१९९१) को सुटिङ गरिरहेकी थिइन् । श्रीदेवीले कामबाट ब्रेक लिइन् तर बुवाको अन्तिम संस्कार भएको भोलिपल्टै उनी फिल्मको सेटमा पुगिन् र उनले फिल्मका लागि एउटा कमेडी सिन दिइन् । सेटमा श्रीदेवीको अभिनय देखेर जो कोही चकित थिए ।

sri devi4अफगानिस्तानमा श्रीदेवीको नाम सुनेर रोकिएको थियो गोलीबारी

श्रीदेवी र अमिताभ बच्चन स्टारर फिल्म खुदा गवाह (१९९२) को सुटिङ अफगानिस्तानको थुप्रै हिस्सामा भएको थियो । त्यतिबेला अफगानिस्तानमा युद्ध चलिरहेको थियो । जताततै गोलीबारी भइरहेको थियो । डराएका मानिसले घरबाट निस्कन छोडेका थिए ।

सोभियतले अफगानिस्तानबाट कब्जा हटाउँदै देशको जिम्मेवारी नजिबुल्लाहलाई दिए जो राष्ट्रपति बने । नजिबुल्लाह भारतीय फिल्मका ठुला प्रशंसक थिए । यस्तोमा अमिताभ–श्रीदेवीले फिल्मको सुटिङ गर्न अनुमति माग्दा उनी तुरुन्त राजी भए ।

बलिउड बबलका अनुसार सुटिङका लागि अनुमति त पाए तर त्यहाँको माहौल असाध्यै खराब थियो । अमिताभ बच्चन र श्रीदेवी सुटिङका लागि अफगानिस्तानको बुजकशीको मजार–ए–शरिफ पुग्दा राष्ट्रपति नजिबुल्लाह अहमदजईले अफगानिस्तानका आधा सेना यी दुईको सुरक्षामा खटाइदिए ।

एक पटक अफगानिस्तानको मिलिटेन्ट कमान्डर रकेट फायर गर्ने तयारीमा थिए तर श्रीदेवीलाई सुटिङमा कुनै समस्या नहोस् भनेर उनीहरुले फायरिङ रोकिदिए । यसै कारण अफगानिस्तानका जनता श्रीदेवीलाई शान्तिको प्रतीक मान्छन् । उनीहरू सुटिङ सकेर भारत फर्किन लाग्दा राष्ट्रपति नजिबुल्लाहले दुबैलाई अर्डर अफ अफगानिस्तानद्वारा सम्मानित गरेका थिए ।

sri devi5मिथुनसँग विवाहको खबर फैलिएको थियो

एक समय श्रीदेवी मिथुनसँग सम्बन्धमा थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले विवाहसमेत गरेका थिए । यद्यपि, यी दुईको विवाहको खबरमा कुनै सटिक प्रमाण भने भेटिएन ।

sri devi6

मिथुनको शङ्का हटाउन श्रीदेवीले बोनीलाई लगाइदिएकी थिइन् राखी

मिथुन सम्बन्धमा हुँदा श्रीदेवी र बोनी कपुरमाथि शङ्का गर्थे । यसै कारण श्रीदेवीले बोनी कपुरलाई राखी बाँधेकी थिइन् । त्यसको केही समयपछि नै मिथुनसँग अलग्गिएर श्रीदेवीले बोनी कपुरसँग विवाह गरिन् । बोनी कपुर विवाहित थिए, त्यसैले श्रीदेवीलाई उनको वैवाहिक सम्बन्ध तोडेको आरोप लाग्यो । त्यसैले बोनीकी जेठी श्रीमती मोना शौरीको निधनपछि जब श्रीदेवी बोनीको घर पुगिन् तब सौतेनी छोरा अर्जुनले उनलाई वर्षौँसम्म स्वीकार गरेनन् । विवाहपछि श्रीदेवीले फिल्मबाट ब्रेक लिएकी थिइन् ।

sri devi7अमेरिकी डाक्टरको लापरबाहीले गुम्यो आमाको स्मरण शक्ति

सन् १९९५ मा श्रीदेवीकी आमा राजेश्वरीलाई ब्रेन ट्युमर भयो । मद्रासका डाक्टरले भनेपछि श्रीदेवीकी आमालाई शल्यक्रियाका लागि अमेरिका लगियो । शल्यक्रिया अघि श्रीदेवीकी आमा असाध्यै डराएकी थिइन् तर केही घण्टापछि उनको डर सही निस्कियो । लापरबाहीमा न्युरो सर्जन डा. एहुद आर्बिटले गलत शल्यक्रिया गरिदिए । ट्युमर बायाँ हिस्सामा थियो तर शल्यक्रिया दाहिने हिस्सामा भयो । यो लापरबाहीका कारण उनकी आमाको स्मरण शक्ति गुम्यो । 

त्यसको एक वर्षपछि सन् १९९६ मा श्रीदेवीकी आमा राजेश्वरीको निधन भयो । यस्तोमा उनले उक्त अस्पतालमाथि मुद्दा दर्ता गरिन्, जहाँ उनकी आमाको शल्यक्रिया भएको थियो । श्रीदेवीले मुद्दा जितिन्, डाक्टर निलम्बित भए र उनले क्षतिपूर्तिको रूपमा ९ करोड भारु पाइन् ।

इटलीमा एक व्यक्तिले थप्पड हानेका थिए

श्रीदेवीकी छोरी जान्ह्वी कपुरले एक अन्तरवार्ताको क्रममा इटलीमा एक व्यक्तिले श्रीदेवीलाई थप्पड हानेको बताएकी थिइन् । उनका अनुसार श्रीदेवी आफ्नी आमाको चेन्नईस्थित घरका लागि फर्निचर किन्न गएकी थिइन् । पसलमा उनको एकजना व्यक्तिसँग ठाकठुक पर्‍यो । बहस यति बढ्यो कि ती व्यक्तिले श्रीदेवीलाई थप्पड हाने । साथीले बोनीलाई यो कुरा भनेपछि उनी दुई छोरीलाई छोडेर तुरुन्त इटली पुगेका थिए ।

sri devi9५० वर्षको करियर, ३०० फिल्म र थुप्रै अवार्ड

श्रीदेवीले आफ्नो तीन दशक लामो करियरमा लगभग ३०० फिल्ममा काम गरिन् । यसमा ६३ हिन्दी, ६२ तेलुगु, ५८ तमिल र २१ मलयालम फिल्म समावेश छन् । बोनी कपुरसँग विवाह गरेपछि श्रीदेवी फिल्मबाट टाढिएकी थिइन् । करिब १५ वर्षपछि श्रीदेवीले २०१२ को फिल्म इंग्लिश विंग्लिशबाट बलिउडमा जोडदार फिर्ती गरिन् । सन् २०१७ को फिल्म मम उनको ३०० औँ फिल्म बन्यो । यही नै उनको अन्तिम फिल्म बन्यो ।

sri devi10विवाहमा सरिक हुन दुबई गएकी थिइन्, फर्किइनन्

फेब्रुअरी सन् २०१८ मा श्रीदेवी आफ्नो भतिजो मोहित मारवाहको विवाहमा सरिक हुन परिवारसँग दुबई गएकी थिइन् । परिवार भारत फर्कियो तर श्रीदेवी सपिङ गर्न भन्दै दुबईमा नै बसिन् । २४ फेब्रुअरीमा श्रीदेवीले बोनी कपुरलाई फोन गरेर भनिन्, ‘पापा, आई एम मिसिङ यु ।’ बोनी पनि श्रीदेवीलाई भेट्न चाहन्थे र उनलाई सर्प्राइज दिन दिउँसो ३ः३० बजेको फ्लाइटमा दुबई गए । 

अवतरणपछि ६ः२० बजे बोनी होटेल पुगे । यी दुईले करिब आधा घण्टा कुराकानी गरे र डिनरमा जान निर्णय गरे । श्रीदेवी तयार हुन उठिन् र बाथरुम गइन् । श्रीमान् बोनी कपुर लिभिङ एरियामा उनको प्रतीक्षा गर्न थाले । १० मिनेटको प्रतीक्षा १५ मिनेट त्यसपछि २० मिनेट हुँदै गयो । डिनरमा जान ढिलो भइसकेको थियो, भित्रबाट श्रीदेवीले कुनै जवाफ दिइरहेकी थिइनन् ।

बोनी कपुर ढोका फोडेर भित्र गए । भित्र उनले भयानक दृश्य देखे । बाथटबमा श्रीदेवी डुबेकी थिइन् । बोनीले उनलाई निकाले र आफ्ना साथीलाई फोन गरे । केही समयपछि प्रहरी पनि त्यहाँ पुग्यो । श्रीदेवीलाई अस्पताल लगियो तर बाटोमा नै उनको निधन भयो ।

sri devi8बलिउडको चौथो ठुलो अन्तिम संस्कार

श्रीदेवीको अन्तिम दर्शनका लागि यस्तो भीड उर्लिएको थियो कि प्रहरीले लाठीचार्ज गरेर भीडलाई नियन्त्रण गर्नुपर्‍यो । उनको मृत्युको शोकमा सडकमा यति मानिस उत्रिएका थिए कि यसलाई भारतको चौथो ठुलो अन्तिम संस्कार भनिएको छ । यसअघि गायक मोहम्मद रफी, किशोर कुमार, राजेश खन्नाको अन्तिम संस्कारमा यस्तो भीड देखिएको थियो ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप