बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

मन्त्रिपरिषद् फेरबदल : पहिलो पटक मन्त्री भएका मोदी र किराँती ‘रेड जोन’मा

आइतबार, २८ साउन २०८०, १५ : ३०
आइतबार, २८ साउन २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीलाई पुनः सरकारमा ल्याउने गरी मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र र सत्ता साझेदार दलहरूबीच पटकपटक छलफल गरेका थिए ।

जनमतलाई सरकारमा ल्याउन सत्ता सहयात्री दलहरू तयार भए पनि मन्त्री छाड्न तयार नभएपछि उनले आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्रीले कांग्रेसबाट मन्त्री धेरै भएकाले एक जना मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा ल्याउन कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका थिए । मन्त्री फिर्ता बोलाउन देउवाले चासो नदिएपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन् ।

‘रेड जोन’मा किराँती कि मोदी ?

माओवादीबाट पर्यटनमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउन लागिएको चर्चा चलिरहेको बेला प्रधानमन्त्रीको सचिवालयले यसबारे कुनै निर्णय नभएको बताएको छ ।  

‘तीमध्ये एक जनालाई फिर्ता बोलाउन पनि सक्नुहुन्छ वा अन्यको जिम्मेवारी हेरफेर पनि हुनसक्छ । तर कसलाई फिर्ता बोलाउने भन्ने प्रधानमन्त्रीको स्वविवेकीय अधिकारको विषय हो,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

प्रधानमन्त्री चितवनबाट काठमाडौं फर्किएसँगै जिम्मेवारी हेरफेरबारे छलफल थालेका छन् ।

‘जनमत पार्टीलाई सरकारमा ल्याउन सत्ता साझेदार दलहरूसँग छलफल गरी मन्त्रिपरिषद् फेरफेर गर्न लाग्नु भएको छ । सम्भवतः मन्त्रिपरिषद् विस्तार आजै हुन सक्छ । तर सरकारबाट कसलाई फिर्ता बोलाउने भन्नेबारे कुनै जानकारी छैन’, ती सदस्यले भने, ‘पर्यटन मन्त्रालय वा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी हेरफेर पनि हुनसक्छ वा अन्य कुनै मन्त्रालय पनि हुन सक्छ । त्यो प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने विषय हो ।’

ती सदस्यका अनुसार मन्त्रीको कार्यसम्पादनका आधारमा प्रधानमन्त्रीले फिर्ता बोलाउन सक्नेछन् ।

प्रधानमन्त्रीले चाहे सरकार छाड्न तयार

असारको अन्तिम साता बसेको जनमत पार्टीको बैठकले मन्त्री बनाउनका लागि अनिताकुमारी साहलाई सिफारिस गरिसकेको छ । तर उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका हुन् ।

माओवादीबाट प्रधानमन्त्रीसहित ६ मन्त्री र एक राज्यमन्त्री छन् । तीमध्ये किराँती जानजाति र मोदी थारू कोटाबाट मन्त्री भएका हुन् । तर मन्त्रीद्वयले प्रधानमन्त्रीलाई सहयोग गर्न आफू तयार भएको प्रतिक्रिया दिएका छन् ।

आफूहरूलाई फिर्ता बोलाउन लागिएको बाहिर चर्चा भएपछि रातोपाटीसँग कुराकानी गर्दै उनीहरूले प्रधानमन्त्रीलाई सहयोग गर्न आफू तयार भएको प्रतिक्रिया दिए । दुवै जना पहिलो पटक मन्त्री भएका हुन् ।

मन्त्री मोदीले आफू सामान्य परिवारबाट आएको थारूका छोरा भएको भन्दै सावावेशीतालाई ख्याल गरेर पनि प्रधानमन्त्रीले पदबाट नहटाउने विश्वास व्यक्त गरे । यद्यपि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले चाहेमा मन्त्रीबाट मात्र नभइ पार्टी सदस्यबाट समेत हटाउन सक्ने बताए ।

२०७४ मा मोरङ–४ बाट महेश आचार्यलाई हराएर मोदी चर्चामा आएका थिए । मोदी २०७० को संविधानसभामा समानुपातिक सांसद थिए । कर्मचारी सरूवा बढुवामा पूर्वाग्रही भएको आरोप लगाउँदै उनीसँग कर्मचारीहरू असन्तुष्ट छन् ।

यसैगरी पर्यटनमन्त्री किराँतीले प्रधानमन्त्रीलाई सहयोग गर्न आफू तयार भएको बताए । प्रधानमन्त्रीको अप्ठ्यारो र बाध्यता आफूले बुझेको प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सहयोग मागेमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताए ।

भोजपुरबाट लगातार तीन पटक निर्वाचित भएका किराँतीले गत मंसिरमा भएको निर्वाचनमा कोशी प्रदेशको पूर्वमुख्यमन्त्री समेत रहेका शेरधन राईलाई पराजित गरेका थिए ।

पहिलोपटक मन्त्री भएपछि भावुक हुँदै अस्पतालमा रहेका बिरामी बुबालाई भेट गरेर मन्त्री किराँतीले शपथ लिएका थिए ।

उनले नेपाल वायुसेवा निगम नाफामा गएको, पशुपति विकास कोषमा देखिएको अनियमियता अन्त्य गर्न पहल गरेको, नयाँ जहाज थप्ने प्रक्रिया अगाडि बढाउन सफल भएको दाबी गर्दै आएका छन् । यद्यपि उनको दाबीलाई सत्ता साझेदार र विपक्षी दलले स्टन्टबाजीका रुपमा व्याख्या गर्दै आएका छन् ।

त्यस्तै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हटाउन स्पष्टीकरण सोधिएपछि उनी विवादमा आएका थिए । यस विषयमा प्रधानमन्त्रीले हस्तक्षेप नै गर्नुपरेको थियो ।

किराँती र मोदीलाई फिर्ता बोलाउनेबारे असन्तुष्टि चुलिने संकेत

पहिलो पटक मन्त्री बन्न सफल भएका दुवै जना माओवादीभित्र आशालाग्दा नेताका रूपमा हेरिएका थिए । आफूलाई हटाउने सम्बन्धमा प्रधानमन्त्रीलाई सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिए पनि दुवै मन्त्री भित्री रूपमा सन्तुष्ट देखिएका छैनन् ।

माओवादीबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री शक्ति बस्नेत र सूचना तथा सञ्चारमन्त्री रेखा  शर्मा पटक पटक मन्त्री भइसकेका छन् । उनीहरूलाई फिर्ता नबोलाएर मन्त्री भएको ६ महिना पनि नपुगेका किराँती र मोदीमध्ये एक फिर्ता हुने लगभग निश्चित देखिएपछि प्रेस सेन्टरका खिलबहादुर भण्डारीले कुनै नयाँ पार्टीलाई सरकारमा सहभागी गर्न खोजिएको भए पटक पटक मन्त्री भएका र केही काम गर्न नसकेका शक्ति बस्नेतलाई फिर्ता बोलाउन सुझाव दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हल्लाको त्यति विश्वास त छैन ! तर सरकारमा कुनै नयाँ पार्टीलाई सहभागी गर्न खोजिएको र माओवादीले मन्त्री झिक्न परेको हो भने पटक पटक मन्त्री भएका तर झिंगा, माखा मार्न नसकेका शक्ति बस्नेतलाई झिक्नु । बुद्धि भए !!’

२५ सदस्यीय मन्त्रिपरिषदमा अहिले प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री छन् । २०७९ चैत  १७ मा कांग्रेस, जसपासहित ६ दलबाट मन्त्री नियुक्त गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर मन्त्रिपरिषद् गठनप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीबाट मन्त्री भएका खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका थिए । पुसमा बिनाविभागीय मन्त्री नियुक्त भएका खानलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिएको थियो ।

यसअघि जनमत पार्टीले कृषि वा उद्योग मन्त्रालयको जिम्मेवारीमा दाबी गरेको थियो । कृषिमा एकीकृत समाजवादी र उद्योग कांग्रेसले नछाडेपछि असन्तुष्ट पोख्दै जनमत पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप