मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आकस्मिक सेवा निःशुल्क सञ्चालन गर्न वीर अस्पतालमै छैन पर्याप्त बजेट

अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यता चाँडै हट्ने दाबी
सोमबार, ०४ भदौ २०८०, १२ : ०७
सोमबार, ०४ भदौ २०८०

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन लागिपरेको बताए । उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थिएटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको जानकारी दिए ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर समितिले तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको उनको भनाइ छ ।

डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारण सेवा सुरु गर्न नसकेको बताए । उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको प्रस्ट पारे ।

आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई÷तीन जना बिरामीलाई सेवा दिनुपर्र्ने बाध्यता रहेको जनाउँदै उनले आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकीकरण गर्न थालिएको पनि जनाए । जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको उनको भनाइ छ । उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी पहल थालेको पनि बताए ।

डा.पौडेलले भने, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यतालाई बिस्तारै हटाउँदैछौँ । हाम्रो क्षमतामा रहेका अप्रेसन थिएटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ ।’

हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी अघि बढेको जनाउँदै उनले अझै पूर्ण रुपमा त्यो चरणमा पुग्न बाँकी रहेको बताए । नाक, कान, घाँटीको हरेक दिन अप्रेसन सुरु भइसकेको उनको भनाइ छ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुुरु गर्न नसकेको, बर्न सेन्टरको सुरुवात गर्र्न खोजिरहेको पनि उनले बताए ।

‘अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ तर, यो वर्ष वर्न सेन्टर सञ्चालनका लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार, मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ,’ डा. पौडेलले भने, ‘त्यसको लागि अहिले योजनामा छौँ ।’

उनले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको पनि बताए । ओपीडी भएको स्थानमा काउन्टर स्थापना गरिएको र ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

डा. पौडेलले भने, ‘यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको छ ।’

वीरमा बन्द अवस्थामा रहेको ७० शय्या नर्सिङ जनशक्ति थप भएपछि सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ ।

निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयमा चुनौती सिर्जना भएको बताए । गरिव तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको पनि उनले बताए ।

आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिव ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँमात्रै दिएको डा. पौडेलको भनाइ छ । उनका अनुसार आकस्मिक सेवातर्फ ५२ शय्या सञ्चालनमा छ ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने उनले बताए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोधभर्ना हुने आश्वासन पाएको बताए ।

अस्पतालले आधारभुत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप