बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री खड्कासँग भारतको एडिसीका शिक्षार्थीको शिष्टाचार भेट

सोमबार, ११ भदौ २०८०, १९ : ०९
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेशनल डिफेन्स कलेज (एनडीसी), नयाँ दिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदलका सदस्यहरुले  शिष्टाचार गरेका छन् ।

सोमबार रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरुको रुपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गरे । 

संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उनले बताए ।  

उनले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरुमा यससम्बन्धी संस्थाहरुको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताए । 

प्रतिनिधिमण्डलको नेतृत्व गरेका भारतीय एयर-भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकोमा धन्यवाद दिए । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनको भनाइ छ ।

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अधिकारी एवम् नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप