शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

दिवङ्गत डियोगो जोटाको जर्सी पहिरिँदै जब क्रिस्टियानो रोनाल्डो भावुक बने

शुक्रबार, १९ असार २०८३, ०९ : ४७
शुक्रबार, १९ असार २०८३

सारांश

  • क्रिस्टियानो रोनाल्डोले टोरोन्टोमा क्रोएसियामाथि २-१ को जितपछि दिवंगत पूर्व टोलीसाथी डियोगो जोटाप्रति भावुक श्रद्धाञ्जली अर्पण गरे।
  • रोनाल्डोले खेलपछि जोटाको नम्बर २१ अंकित जर्सी लगाएर आँखा रसाउँदै आफ्ना टोलीसाथीसँगै आकाशतर्फ औँला देखाउँदै जोटाको सम्झना गरे।
  • जोटाको कार दुर्घटनामा निधन भएको एक वर्ष पूरा हुनुअघि यो खेल भएको थियो र रोनाल्डो तथा अन्य खेलाडीहरूले उनलाई सम्मान व्यक्त गरे।

टोरोन्टो । क्रिस्टियानो रोनाल्डो र पोर्चुगलले बिहीबार टोरोन्टोमा क्रोएसियामाथि २–१ को विश्वकप जितपछि आफ्ना पूर्व टोलीसाथी डियोगो जोटाप्रति भावुक श्रद्धाञ्जली अर्पण गरेका छन् । राउन्ड अफ ३२ को खेलमा पेनाल्टीमार्फत पोर्चुगलको पहिलो गोल गरेका रोनाल्डोले अन्तिम सिटी बजिएपछि जोटाको नम्बर २१ अंकित पोर्चुगलको जर्सी लगाएका थिए । आँखा रसाउँदै उनले आफ्ना टोलीसाथीसँगै आकाशतर्फ औँला देखाउँदै जोटाको सम्झना गरेका थिए ।

शुक्रबार जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनको पश्चिमी क्षेत्रमा भएको कार दुर्घटनामा निधन भएको ठिक एक वर्ष पूरा हुँदै छ । डियोगो जोटाले पोर्चुगलका लागि ४९ खेल खेल्दै १४ गोल गरेका थिए ।

खेलपछि फक्ससँग कुरा गर्दै रोनाल्डोले भने, ‘हामीलाई खेलअघि नै यो दिनको महत्त्व थाहा थियो । यो अत्यन्त विशेष क्षण थियो । आज हामीले टोलीभित्र जीवनका संयोगबारे कुरा गरिरहेका थियौँ । यो साँच्चै अविश्वसनीय छ । आजको परिस्थितिले हामी सबैका लागि धेरै अर्थ राख्थ्यो । केवल खेल जितेकै कारण होइन, हामीले जित्ने शैली पनि विशेष थियो ।’

उनले पोर्चुगलको स्पोर्ट टिभीसँग थप भने, ‘हामीलाई थाहा छ, उनी हाम्रो साथमै छन् । त्यसैले आज जित्नु नै उहाँलाई सबैभन्दा राम्रो तरिकाले सम्मान गर्ने माध्यम थियो ।’

खेलमा इभान पेरिसिचले क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६८औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । यो विश्वकपको नकआउट चरणमा उनको पहिलो गोल थियो । साथै ४१ वर्ष १४७ दिनको उमेरमा उनी पुरुष विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बने ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई जित दिलाए । रामोसले भने, ‘हरेक दिन विशेष हुन्छ, किनभने हामी उनी (जोटा) को बारेमा हरेक दिन कुरा गर्छौं । उनले हामीलाई शक्ति दिन्छन् । आज जित हासिल गर्नु र प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण चरणमध्ये एकमा पुग्नु साँच्चै विशेष अनुभव हो ।’

खेलको अन्त्य भने विवादास्पद बन्यो । अन्तिम क्षणमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई २–२ को बराबरीमा ल्याएको जस्तो देखिएको थियो । तर भिएआरले अफसाइड ठहर गरेपछि गोल अमान्य घोषित गरियो ।

पोर्चुगलका फरवार्ड राफाएल लेआओले भने, ‘भावनात्मक रूपमा हामीले सुरुदेखि नै विश्वास गरेका थियौँ । त्यसमा एउटा थप महत्त्वपूर्ण पक्ष पनि थियो – डियोगो जोटा । उनीसधैं हाम्रो साथमा छन् र आज पनि उनले हामीलाई सहयोग गरे ।’

अब पोर्चुगलले सोमबार टेक्सासको आर्लिङ्टनमा हुने राउन्ड अफ १६ को खेलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?