सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अटो शो

नाडाको तीव्र अभिलाषा : के ६ दिनको अटो शोमा २० अर्बको व्यापार होला ?

सोमबार, ११ भदौ २०८०, १९ : ४९
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । झण्डै चार वर्षको अन्तरालपछि नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले यो वर्ष ‘नाडा अटो शो, २०२३’ आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण गएको दुई वर्ष सन् ‘२०२०’ र ‘२०२१’ मा कुनै पनि अटो शो हुन पाएन । 

कोभिड–१९ को प्रभाव क्रमशः खुल्दै गएको बजारमा सन् २०२२ मा भने १४ औं संस्करणको अटो शो आयोजना गर्ने नाडाको तीव्र तयारी थियो । तथापि, त्यस वर्षपनि अटो शो हुन पाएन । कारण तीव्र आयातलाई देखाउँदै सरकारले अटोमाबाइल्स (सवारी साधान)सहित अन्य विलासिताका साधनहरुको आयातमा प्रतिबन्ध लगाइदियो । 

जसका कारण प्रदर्शनमा राख्ने गाडीको समेत अभावमा आयोजक नाडा एकाएक अटो शोबाट पछि हट्न बाध्य भयो । तथापि, अटो शोको तीव्र अभिलाषा सन् २०२२ मा ईभी (विद्युतीय सवारी)को प्रदर्शन गरेर थोरै भए पनि नाडाले अटो शो को भोक मेटायो । 

यस वर्ष भने नाडा निकै धुमधामले ‘नाडा अटो शो, २०२३’ सफल पार्ने तयारीमा जुटेको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा वृहत् अटो शोको आयोजना गर्ने नाडाले जनाएको छ । 

प्रदर्शनीमा साना ठूला गरी १२० भन्दा बढी स्टल रहने अटो शोको संयोजक एवम् सभापति अनुप बरालले जानकारी दिए । 

बरालका अनुसार प्रदर्शनीमा प्रख्यात अन्तरराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहनेछ । 

कूल १२० स्टलमध्ये १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहनेछ । 

२० अर्बको व्यापारको अभिलाषा !

अटो शोको अन्तिम तयारीमा जुटेको नाडाले यो वर्षको अटो शोबाट २० अर्ब माथिको व्यापार हुने अपेक्षा राखेको छ । सबै ब्राण्ड, स्पेयर पार्टस्, टायर, लुब्रिकेन्टसमेत गरी अटो शोमा कम्तीमा २० अर्ब रुपैयाँको व्यापार हुने नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ । 

‘अटोमोबाइल्सको बजार भनेको वार्षिक औसत ९० अर्बदेखि १ खर्ब रुपैयाँ बराबरको हो । केही वर्ष यताको व्यापारको तथ्याङ्कले यही देखाउँछ । कूल व्यापारको ३५ देखि ४० प्रतिशत व्यापार दशैं तिहारकै समयमा हुने हो,’ अध्यक्ष थापाले भने, ‘यो भनेको नाडा अटो शोमार्फत् हुने बुकिङमा नै निर्भर गर्छ ।’

दशैं, तिहार, छठको अवसरमा हुने अटो शोमा ९० प्रतिशत बुकिङ प्रदर्शनी स्थलबाटै हुने अनुमान अध्यक्ष थापाको छ ।

उसो त गत वर्ष ७ महिना भन्दा बढी सवारी साधन आयात बन्द गरिएको अवस्थामा समेत मिनी ईभी अटो शो आयोजना गरेको नाडाले आकर्षक व्यापार गर्न सफल भएको अध्यक्ष थापाको भनाइ छ । 

‘७ महिना भन्दा बढी सवारी आयात बन्द भयो । कार, जिप, भ्यानको आयात नै प्रायः ठप्प भएको अवस्थामा समेत राम्रो व्यापार भएको थियो । तर, अहिले बजारको मागको अवस्था, उपभोक्ताको क्रयशक्ति नै कमजोर रहेको अवस्थामा पनि केही खास आधारले गर्दा व्यापार बढ्नेमा आशावादी छौं,’ थापाले रातोपाटीसँग भने । 

at

के हो त खास आधार ?

केन्द्रीय बैंकको मौद्रिक नीति, बैंकहरुले पछिल्लो समय सवारी कर्जामा देखाएको चासो र उपभोक्ताहरुको मागका कारण यो वर्ष केही कठिनाईका बाबजुद पनि व्यापार हुनेमा आशावादी रहेको अध्यक्ष थापाको भनाइ छ । 

‘आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले सवारी कर्जाको जोखिमभार कम गर्दै २५ लाख सम्मको कर्जामा १०० प्रतिशत मात्र लगाउने व्यवस्था गरिदिएको छ । सँगै बैंकहरुको लगानीको सुरक्षित क्षेत्रसमेत अटो नै भएकाले बैंकहरु आकर्षित भएका छन् । यो आधारमा बैंकहरुले सहज रुपमा सवारीमा लगानी गर्दा उपभोक्ताहरु समेत आकर्षित हुन्छन् । यसले स्वतः गाडीको व्यापार बढ्छ,’ थापाले भने ।

पछिल्लो समय बैंकहरुले सवारी कर्जामा सरल किस्ता ब्याजसहित ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरिरहेका छन् । 

तर, अवस्था अझै सुध्रि नसकेको अवस्थामा ढुक्क हुने अवस्था भने नभएको स्वयम् अध्यक्ष थापा बताउँछन् । 

‘यो हाम्रो मोटामोटी अपेक्षा हो । लक्ष्य भेट्न पनि सकिन्छ । तर, चुनौती भने नभएको होइन,’ उनले थपे, ‘अटो शोमा देखिएको कम्पनीहरुको आकर्षण, बैंक तथा वित्तीय संस्थाहरुको समेत आकर्षणले हामी उत्साहित छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप