कपुर खानदानका एक व्यक्ति जो सेलिब्रिटी बनेनन्, ६७ वर्षको उमेरमा स्नातकको डिग्री लिएर बने चर्चित
अभिनेता शम्मी कपुर र गीता बालीका छोरा आदित्य राज कपुरको डिग्रीको निकै चर्चा छ । वास्तवमा, आदित्यले ६७ वर्षको उमेरमा ५९ प्रतिशत अंकसहित दर्शनशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
आदित्य कपूरले यो उमेरमा पढ्ने इच्छाबारे भने, ‘१६ वर्षको उमेरदेखि नै आरके स्टुडियोमा कमाउन थालेको थिएँ । पहिले पढ्ने रहर नै थिएन तर अहिले त्यो इच्छा जागृत भएको छ ।’
उनले छोरी तुलसीले पुनः पढ्न हौसला दिएको बताएका छन् । डिग्री नहुँदा भोग्नुपरेको समस्याबारे कुरा गर्दै उनले भने, ‘डिग्री नभएका कारण बैँकबाट ऋण पाइनँ तर आज मसँग डिग्री छ, यो कुरालाई म गर्वका साथ भन्न सक्छु ।’
आफ्नो यो सपना उनले इन्दिरा गान्धी ओपन युनिभर्सिटीबाट पूरा गरे ।
अब उनको सपना ७० वर्षको उमेरसम्ममा स्नातकोत्तर गर्ने र पछि पिएचडी पनि गर्ने रहेको छ ।
आदित्य एक व्यावसायिक बाइकर पनि हुन् र हाल उनी सपरिवार गोवामा बसिरहेका छन् ।
‘मेरो पुस्ताले कहिल्यै कलेज देखेन’
शिक्षा र डिग्रीको कमीका कारण आदित्य राज कपूरले आफ्नो कामकाजी जीवनमा धेरै कठिनाइहरूको सामना गर्नुपरेको बताएका छन् ।
उनले फिल्मी क्षेत्र छोडेर नयाँ कामको खोजी गर्दा प्रत्येक पटक सर्टिफिकेट र डिग्रीको कुरा आएको बताए ।
आदित्यले भने, ‘जागिरका लागि सर्टिफिकेट मागिन्थ्यो । त्यो दिन नसक्दा ‘तिमीसँग त केही पनि रहेनछ कसरी जागिर दिऊँ’ भन्ने कुरा आउँथ्यो । मलाई बैंकले ऋणसमेत दिँदैनथ्यो ।’
आफ्नो पढाइ बारे आदित्य कपूरले भने, ‘मेरा हजुरबुवा पृथ्वीराज कपूर कलेज गएका थिए, त्यसपछि मेरा बुबा शम्मी कपूरले पनि दोस्रो वर्षसम्म कलेज पढे तर मेरो पुस्ताका कोही पनि कलेज गएनन् किनभने सबै आ–आफ्नो काममा व्यस्त भए ।’
उनी भन्छन्, ‘पहिला स्टुडियोमा धेरै काम हुन्थ्यो । पृथ्वी थिएटरमा मान्छेको अभाव थियो, त्यसपछि हामी छोराहरूले काममा सघाउँथ्यौँ । पढ्न कसैले रोकेको होइन । हामी आफैँ कलेज गएनौँ ।’
‘मेरो पूरा परिवारको माहौल अभिनय र निर्देशनको थियो । बुवाले धेरैजसो भन्नुहुन्थ्यो, ‘एउटा गलत किताब पढ्यौ भने १० वटा सही किताब पढ ।’ उहाँकै कारण मलाई किताब पढ्ने बानी पर्यो जसका कारण कलेजको किताब पढ्न मलाई मद्दत मिल्यो ।’
आदित्यले उनकी आमा गीता बालीले ६ कक्षासम्म मात्रै पढेको र दोस्रो आमा नीला देवीले स्नातक गरेको जानकारी दिए ।
भनिन्छ, गीता बालीले आफ्नो परिवारको लागि पैसा कमाउन सानै उमेरमा फिल्ममा काम गर्नुपरेको थियो । सायद थप अध्ययन गर्न नसक्नुको कारण यो पनि होला ।
कपूर खानदानभन्दा अलग बाटो रोजे
आदित्य कपुरले १९ वर्षसम्म आरके स्टुडियोमा काम गरे ।
उनी राज कपूरको फिल्म ‘सत्यम शिवम सुन्दरम’ मा मुख्य सहायक थिए, यसअघि उनी फिल्म ‘धरम करम’ मा पनि सहायक थिए ।
उनी भन्छन्, ‘सत्यम शिवम सुन्दरम पछि म अर्को फिल्म गर्न लागेको थिएँ र नायकको रूपमा देखिनै लागेको थिएँ, तर त्यतिन्जेल मैले आफ्नो लागि अर्को बाटो रोजेको थिएँ ।’
उनी भन्छन्, ‘मेरो भोले बाबा, जसलाई म मेरो गुरु मान्छु, उहाँको मार्गदर्शन पाइरहेँ, त्यसपछि ममा परिवर्तन आइरहे ।’
‘मेरा गुरुले हरेक साढे दुई पुस्तापछि केही परिवर्तन हुनुपर्छ भन्नुभएको थियो । सबैले एउटै काम गर्नुपर्छ भन्ने छैन । मैले आफ्नो लागि फरक बाटो रोजेँ र कपूर परिवारभन्दा पूर्णतया भिन्न काम गर्न थालेँ ।’
आदित्य कपुरले फिल्म इन्डस्ट्री छोड्ने निर्णय गरेको देख्दा उनका बुबा शम्मी कपुरलाई धक्का लागेको थियो ।
आदित्य भन्छन्, ‘बुबालाई लाग्थ्यो, यसले के व्यवसाय गर्छ । यसलाई त यसबारे थोरै पनि ज्ञान छैन । अभिनय त परिवारसँगै सम्बन्धित थियो । तर उहाँले व्यवसायमा मेरो लगन देखेपछि उहाँ मान्नुभयो र आफ्नो आशीर्वाद दिए ।’
आदित्यले एक व्यवस्थापन कम्पनी बनाए र दशकौँसम्म देशका धेरै मनोरञ्जन पार्कहरूको विकास र व्यवस्थापन गर्ने कार्यलाई सम्हाले । उनको कम्पनीले दिल्लीको प्रसिद्ध अप्पु घर चलाउँथ्यो ।
तर एक समय आयो जब उनले कम्पनी बन्द गरे र अवकाश लिए । त्यसपछि अहिलेसम्म जे जति काम छुटेका थिए, त्यो सकाउने योजना बनाए ।
अभिनय होस् वा क्रिकेट, पढाई जरुरी
आफ्नो पछिल्ला पुस्ताका करिश्मा, करीना, रणवीरलाई शिक्षाको महत्त्वबारे उनले कहिल्यै कुरा गरेका छन् भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मलाई देखेर परिवारमा कसैले थप पढुन् वा आफ्नो पढाई पूरा गरुन् भन्ने मेरो चाहना छ । ’
‘मभन्दा कान्छाले पढ्ने कि नपढ्ने भन्ने कुरा उनीहरूमा नै निर्भर हुन्छ । तर उनले ६७ वर्षको उमेरमा पढिरहेका छन् भनेर त हेर्नेछन् । अभिनयका लागि पढाई जरुरी छैन भन्ने कुरा साँचो हो तर तपाईंले अभिनय गर्नु छ वा क्रिकेटर बन्नु छ भने पनि पढाई चाहिन्छ । ’
‘अभिनय होस् वा क्रिकेट, जे जति गर्नु छ गर्नुहोस् तर पहिला आफ्नो पढाई पुरा गर्नुहोस् । पढाइले तपाईंलाई मार्गदर्शन गर्नेछ, तपाईंलाई थप परिष्कृत बनाउनेछ । पढाइले तपाईंभित्र सामाजिकता ल्याउनेछ ।’
आदित्य कपुरका अनुसार रणधीर कपुर अहिले मुम्बईमा बसिरहेका छन् । ऋषि कपुर, राजीव कपुर रहेनन् । शशि कपुरका छोरा कुणाल र करणसँग धेरै भेटघाट भइरहन्छ ।
अभिनय र निर्देशनमा पनि हात हालेका थिए
आदित्य कपुरले अभिनय र निर्देशनमा हात हालेका थिए ।
आफ्नो स्कूले शिक्षा पूरा गरेपछि, आदित्यले सन् १९७३ मा रोमान्टिक फिल्म 'बबी'मा आफ्ना काका राज कपूरसँग सहायक निर्देशकको रूपमा आफ्नो करियर सुरु गरे ।
यसपछि उनले सन् १९७८ मा ‘सत्यम शिवम सुन्दरम’, १९८५ मा ‘गिरफ्तार’, १९९१ मा ‘साजन’, १९९३ मा ‘दिल तेरा आशिक’, १९९६ मा ‘पापी गुडिया’ र १९९९ मा ‘आरजू’ फिल्ममा सहायक निर्देशकको रूपमा काम गरे ।
अभिनेताको रूपमा आदित्य कपूरको पहिलो फिल्म जगमोहन मुन्ध्राको ‘चेज’ थियो । यसबाहेक उनले ‘दिल तेरा आशिक’ मा एउटा सानो भूमिका निभाएका थिए ।
उनले यी चलचित्रमा अभिनय गरे तर कपूर परिवारको चलन अनुसार उनलाई कहिल्यै पनि अभिनेताको रूपमा लन्च गरिएन ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण