आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सदनमा प्रश्नोत्तर

यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका प्राथमिकता र एजेन्डा

मङ्गलबार, १२ भदौ २०८०, १२ : ५१
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई उचाइमा पुर्‍याउने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको मुख्य विषय नै दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनेतर्फ केन्द्रित हुने बताएका हुन् ।

सांसद उदयशम्सेर राणाले प्रधानमन्त्रीलाई चीन भ्रमणका प्राथमिकता र एजेन्डा के हुन भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा  प्रधानमन्त्री दाहालले दुई देशको सम्बन्धलाई जोड दिँदै यसअघिका भ्रमणमा भएको सम्झौता कार्यान्वयनको विषय समेत अघि बढाउने बताए ।

यस्तै, नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउन भ्रमण केन्द्रित रहने प्रधानमन्त्रीको भनाई छ । यसबाहेक, नेपाल र चीनबीचको सीमा नाकाको सञ्चालनलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिने समेत प्रधानमन्त्री दाहालको भनाई छ ।

‘यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र व्यापार भ्रमणको मुख्य प्राथमिकता र एजेन्डा हुन्,’ प्रधानमन्त्रीले थपे, ‘विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी योजना समेत चीनको सहयोगमा अघि बढाउने योजना छ ।’ प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार, किमाथांका जलविद्युत आयोजना निर्माण जस्ता विषय मुख्य छन् ।

हालसम्म नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार सम्झौता भएको छैन । नेपाल र भारतबीच मात्रै अन्तर्देशीय बिजुली व्यापार भइरहेको छ । यस्तै, बङ्गलादेशतर्फ ४० मेगावाट बिजुली बेच्ने सम्झौताको तयारी हुँदै छ । यसैबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग समेत बिजुली खरिद–बिक्री सम्झौता सम्पन्न भए उत्पादित बिजुली बेच्ने थप बाटो खुल्नेछ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका आयोजनालाई समेत प्राथमिकतामा राख्ने तयारी भइरहेको बताइएको छ । हाल सञ्चालनमा रहेका नाकालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने तथा थप व्यापारिक नाका निर्माणमा चीनको सहयोग माग्ने योजना नेपाली पक्षको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप