सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
एसिया कप

किन रोमाञ्चक हुन्छ विश्वकपभन्दा नौ वर्ष कान्छो एसिया कप ?

मङ्गलबार, १२ भदौ २०८०, १४ : ३१
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण बुधबार पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । एसिया कप सकिएको करिब एक महिनापछि नै भारतमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण सुरु हुँदै छ । 

यस पटक एसिया कपमा ६ वटा राष्ट्रले सहभागिता जनाएका छन् । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । 

भारत, पाकिस्तान र श्रीलङ्का एसिया कपमा पूर्वविजेता हुन् । भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि जितेको छ । श्रीलङ्काले ६ र पाकिस्तानले दुई पटक एसिया कप जितेका छन् । यी तीन वटै राष्ट्र एकदिवसीय विश्वकपका पूर्वविजेता पनि हुन् । 

तर बङ्गलादेश र अफगानिस्तानले एसिया कपको उपाधि चुम्न सकेका छैनन् । नेपालले त पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो । एसिया कपको सबै संस्करणमा सहभागिता जनाउने एक मात्र राष्ट्र भनेको श्रीलङ्का हो । 

श्रीलङ्काले १६औँ पटक एसिया कप खेल्न लागेको हो । भारत, पाकिस्तान र बङ्गलादेशले भने हालसम्म १४–१४ पटक एसिया कप खेलेका छन् । यसका अतिरिक्त हालसम्म हङ्कङले चार तथा अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले तीन–तीन पटक एसिया कप खेलेका छन् । 

नेपालले भने एसिया कपमा पहिलो पटक सहभागिता जनाउन लागेको हो । यस पटक घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कप खेल्न छनोट भएको हो । 

एसिया कपको उद्धाटन खेल आयोजक पाकिस्तान र नवप्रवेशी नेपालबीच हुँदै छ । एसिया कप सुरु हुनुभन्दा ठीकअघि पाकिस्तान आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिएको छ । नेपाल भने एकदिवसीय वरीयताको १५औँ स्थानमा छ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान रङ्गशालामा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । 

एसियामा क्रिकेटको बढ्दो क्रेज

अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो– आईसीसी एकदिवसीय विश्वकप । एकदिवसीय विश्वकपभन्दा एसिया कप नौ वर्षले कान्छो हो । एकदिवसीय विश्वकपको पहिलो संस्करण सन् १९७५ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । हालसम्म एकदिवसीय विश्वकपको १२ वटा संस्करण मात्र आयोजना भएको छ ।

 

एसिया कपको पहिलो संस्करण भने सन् १९८४ मा सुरु भएको हो । एसिया कपको पहिलो संस्करण यूएईमा आयोजना भएको थियो । एसियाली क्षेत्रमा रहेका क्रिकेट खेल्ने राष्ट्रहरूको प्रदर्शनमा सुधार ल्याउने र एसियामा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले यो प्रतियोगिता सुरु भएको हो । हालसम्म एसिया कपको १५ वटा संस्करण सम्पन्न भइसकेको छ । 

तर क्षेत्रीय स्तरको प्रतियोगिता भए पनि एसिया कपले समर्थकमाझ निकै ठूलो चासो र चर्चा बटुल्ने गरेको पाइन्छ । विश्वकप सँघारमै आइसक्दा पनि त्यसले खासै चर्चा बटुल्न सकिरहेको छैन । जब कि एसिया कपका सानोभन्दा साने गतिविधिले तीन महिनाभन्दा पनि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटलाई तताउँदै आएको छ । 

अहिले समर्थकमाझ विश्वकपभन्दा एसिया कपकै बढी चर्चा भइरहेको पाइन्छ । यसको प्रमुख कारण हो– एसियाली क्षेत्रमा क्रिकेटको बढ्दो दबदबा । क्रिकेट समर्थकहरूको सबैभन्दा ठूलो जमात पनि एसियाली राष्ट्रहरूमै छन् । 

एसियाली क्षेत्रमा टेस्ट खेल्ने राष्ट्रहरूको बाहुल्य पनि छ । एकदिवसीय विश्वकपको उपाधिसमेत चुमिसकेका राष्ट्रहरू पनि एसियामा छन् । हालसम्म भारतले दुई तथा पाकिस्तान र श्रीलङ्काले एक–एक पटक विश्वकप जितेका छन् । 

यसदेखि बाहेक एसियाली क्षेत्रबाट बङ्गलादेश, अफगानिस्तान र यूएईले पनि एकदिवसीय विश्वकप खेलिसकेका छन् । त्यसमाथि विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रमध्येको एक भारतमा क्रिकेटको निकै ठूलो क्रेज देखिन्छ । 

भारत र पाकिस्तानबीचको सम्बन्ध

विश्वकपको तुलनामा एसिया कपको चर्चा बढी हुनुको अर्को प्रमुख कारण हो– दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको सम्बन्ध । भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण राजनीतिक सम्बन्धको प्रत्यक्ष छाया क्रिकेटमा पनि पर्ने गरेको छ । 

यस पटकको एसिया कप पनि भारत र पाकिस्तानकै कारणले गर्दा तीन महिनाभन्दा लामो समयदेखि चर्चामा थियो । खासमा यस पटकको एसिया कप पाकिस्तानमा मात्र आयोजना हुनुपर्ने थियो । तर भारतले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने भएपछि विवाद सुरु भएको थियो । 

भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धको छाया क्रिकेटमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) जस्ता नेतृत्वदायी निकायसमेत निरीह बन्न पुगेका प्रशस्तै उदाहरण पाइन्छन् । 

indpak

निकै ठूलो सङ्ख्यामा दुवै राष्ट्रका क्रिकेट समर्थक पनि एकअर्काको खेदो खन्न तम्तयार भएर बसेका हुन्छन् । यसले तिक्ततापूर्ण सम्बन्धमा थप मलजल गरेको पाइन्छ । त्यसले गर्दा वातावरण झनै गम्भीर बन्न पुग्छ । यस पटक भारतले पाकिस्तानी भूमिमा एसिया कप नखेल्ने अडान लिएपछि एसिया कपको भविष्य नै अन्योलमा पर्ने सम्भावना बढेको थियो । 

एसीसीसमेत निरीह देखिएको थियो । भारतले पाकिस्तानमा एसिया कप नखेल्ने अडान लिएपछि पाकिस्तानले पनि भारतमा आयोजना हुने विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको थियो । यो विषयले निकै लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेटलाई तताएको थियो । एसियाली आकाश छिचोल्दै एसिया कपको यो बहस निकै टाढासम्म पुगेको थियो । 

अन्ततः लामो चर्काचर्की र छलफलपछि ‘हाइब्रिड मोडेल’का रूपमा उपयुक्त समाधान खोजिएको थियो । त्यो मोडेलअनुसार पाकिस्तानले भारतबाहेक अन्य राष्ट्रहरूसँगको एक–एक खेल आफ्नो घरेलु मैदानमा खेल्ने सहमति भयो । बाँकी सबै खेल ‘न्युट्रल भेन्यु’ श्रीलङ्कामा खेलाउने निर्णय गरियो । अहिले सोही  ‘हाइब्रिड मोडेल’ अनुसार एसिया कप हुँदै छ ।

यति मात्र होइन, यसअघि सन् २००२ मा पनि भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धकै कारण एसिया कप रद्द हुन पुगेको थियो । त्यतिबेला पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । यी दुई चिरप्रतिद्वन्द्वी मुलुकका कारण नेपालले त्यतिबेला एसिया कप खेल्ने अवसर पाएको थिएन । 

समर्थकबीच हुने घोचपेच र प्रायोजकको ओइरो

यसका अतिरिक्त भारत र पाकिस्तानबीचको खेल हेर्न विश्वभरका क्रिकेट पारखी आतुर हुन्छन् । लाग्छ, यी दुई राष्ट्रबीच क्रिकेट मैदानमा खेल होइन, युद्ध भइरहेको छ अर्थात् क्रिकेट मैदानमा यी दुई राष्ट्रबीचको खेल केवल खेलका रूपमा मात्र सीमित रहँदैन । 

भारत र पाकिस्तानबीच वर्षौंदेखि देखिँदै आएको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेट मैदानमा छताछुल्ल हुनपुग्छ । दुवै राष्ट्रका समर्थकहरू पनि सडकदेखि सामाजिक सञ्जालसम्म एकअर्कामाथि हिलो छ्यापाछ्याप गर्न व्यस्त देखिन्छन् । 

प्रत्यक्ष प्रसारण हेरिरहेको टेलिभिजन सेटहरू फुट्नु त सामान्य घटना हुन् । कपितय अवस्थामा त समर्थकहरू भौतिक रूपमै आपसमा भिड्न पुग्छन् । खेल भइरहेको रङ्गशालाका सिटहरू तोडफोड गर्नसमेत समर्थकहरू पछि पर्दैनन् ।  

_88773379_gettyimages-3127403

यसदेखि बाहेक भारत र पाकिस्तानबीचको खेल आयोजकका लागि प्रायोजक बटुल्ने सबैभन्दा उत्तम उपाय पनि बन्न पुग्छ । त्यसैले यी दुई राष्ट्रबीचको खेलमा प्रायोजकहरूको भीड लाग्ने गर्छ भने प्रसारण अधिकार खरिद गर्न पनि निकै ठूलो धनराशी खर्च गरिन्छ ।

एसिया कपको प्रचार प्रसारका लागि ‘प्रोमो’ सार्वजनिक गर्दा पनि भारत र पाकिस्तानका खेलाडीहरूलाई नै बढीभन्दा बढी प्राथमिकता दिइन्छ । ‘प्रोमो’ तयार पार्ने क्रममा कतिपय अवस्थामा त दुवै राष्ट्रका पूर्व र वर्तमान खेलाडीलाई नै एकअर्काविरुद्ध अप्रिय टिप्पणी गर्न लगाइन्छ । 

भारत र पाकिस्तानबीचको क्रिकेट सम्बन्धलाई लिएर दुवै राष्ट्रका समर्थक र सञ्चार माध्यम कतिसम्म संवेदनशील देखिन्छन् भन्ने कुरा सानो उदाहरण यस पटककै एसिया कपमा पनि देख्न सकिन्छ । एसिया कपका लागि तयार पारिएको भारतको जर्सीमा आयोजकका रूपमा पाकिस्तानको नाम पनि लेखिएको छ । 

एसिया कप खेल्दा भारतले लगाउने जर्सीको अघिल्लो भागमा ठूलो अक्षरले अङ्ग्रेजीमा ‘इन्डिया’ र त्योभन्दा ठीकमाथि दायाँतर्फ ठूलो रातो घेराभित्र ‘एसिया कप पाकिस्तान–२०२३’ लेखिएको छ । त्यही जर्सी लगाएर भारतले एसिया कप खेल्ने समाचारमा जनाइएको छ । 

इतिहासमै पहिलो पटक भारतले पाकिस्तान उल्लेखित जर्सी लगाउन लागेको बताइएको छ । एसिया कपको मूल आयोजक राष्ट्र पाकिस्तान भएकाले प्रतियोगिताको नियमअनुसार यस्तो जर्सी तयार पारिएको हो । तर यति सामान्य विषयलाई लिएरसमेत दुवै राष्ट्रका सञ्चार माध्यम र समर्थकहरूले निकै ठूलो होहल्ला गरेका थिए । त्यसैले भारत र पाकिस्तानबीचको सम्बन्धका कारण पनि एसिया कपजस्ता प्रतियोगिता निकै रोचक बन्न पुग्छन् । 

मैदानमा खेलाडीहरूको आक्रामक व्यवहार

सञ्चार माध्यम र समर्थक मात्र होइन बेलाबखत भारत र पाकिस्तानका खेलाडीसमेत एकअर्काविरुद्ध जाइलाग्ने गरेको पाइन्छ । एसिया कपको इतिहासमा यस्ता प्रशस्तै उदाहरण छन् । एसिया कपको १०औँ संस्करण श्रीलङ्कामा आयोजना भएको थियो । 

उक्त संस्करणको समूहगत चरणको चौथो खेल चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भएको थियो । डम्बुलामा भएको उक्त खेलका क्रममा भारतका ओपनर ब्याट्सम्यान गौतम गम्भीर र पाकिस्तानका विकेटकिपर कमरान अकमलबीच ठूलै चर्काचर्की भएको थियो ।

८३ रन बनाएर खेलिरहेका गम्भीर साइद अजमलको बलमा आउट भएका थिए । त्यसपछि आक्रोशित भएका गम्भीर मैदानबाट बाहिरिँदै थिए । त्यस क्रममा मैदानमै गम्भीर र कमरान अकमलबीच जम्का भेट भयो । त्यसपछि यी दुई खेलाडीबीच झगडा सुरु भएको थियो । भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनीले हस्तक्षेप गरेर दुवै खेलाडीलाई शान्त बनाएका थिए ।

Gautam-Gambhir-Vs-Kamran-Akmal

भारत र पाकिस्तानका खेलाडी मौका पाउनेबित्तिकै एकअर्कालाई खिसी गर्न पनि चुक्दैनन् । एसिया कपको १०औँ संस्करणमै भारतका चर्चित अफस्पिनर हरभजन सिंह र पाकिस्तानका तीव्र गतिका बलर सोएब अख्तरबीच पनि चर्काचर्की परेको थियो ।

खेलका क्रममा हरभजन र सोएब अख्तरबीच अचानक चर्काचर्की सुरु भयो । मैदानमा रहेका अन्य खेलाडी र दर्शकहरू स्तब्ध थिए । उनीहरूलाई झगडाको कारण थाहा थिएन । पछि बुझ्दै जाँदा मैदानमा अख्तरले हरभजनलाई गाली गरेका रहेछन् ।

वास्तवमा दुई सय ६८ रनको लक्ष्य पछ्याएको भारतले सात विकेट गुमाइसकेको थियो । भारतका लागि हरभजन र प्रवीणकुमार ब्याटिङ क्रिजमा थिए । अन्तिम ओभरका रूपमा पाकिस्तानका मोहमद आमिर बलिङ गर्न आएका थिए ।

अन्तिम ओभरको पाँचौँ बलमा हरभजनले विजयी रन प्रहार गर्दै भारतलाई विजयी बनाए । त्यसपछि अख्तरलाई हेरेर हरभजनले व्यङ्ग्यात्मक हाँसो हासेका थिए । अख्तरले त्यसलाई पचाउन सकेनन् र उनले हरभजनमाथि गालीको वर्षा सुरु गरे । अन्य खेलाडीले हरभजन र अख्तरलाई शान्त पार्नुपरेको थियो । खेलाडीको यस्ता व्यवहारले पनि एसिया कपलाई चर्चाको शिखरमा पुर्‍याउने गरेको पाइन्छ ।

पाकिस्तान र अफगानिस्तानबीच बढ्दो तुष 

क्षेत्रीय प्रतियोगिता एसिया कपमा भारत र पाकिस्तान त एकअर्काका चिर प्रतिद्वन्द्वी हुन् नै । त्यसमाथि पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीच पनि कटुता बढ्दै गएको पाइन्छ । यी दुई राष्ट्रका खेलाडीसमेत मैदानमा एकअर्कालाई व्यङ्ग्य गर्न पछि पर्दैनन् । 

पाकिस्तान र अफगानिस्ताका खेलाडीका गतिविधिले पनि एसिया कपलाई झनै चर्चित बनाउने गरेको पाइन्छ । त्यसैको उदाहरण हो– सन् २०२२ को एसिया कप । उक्त एसिया कप संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको थियो । 

345592.4

त्यो एसिया कपको १५औँ संस्करण थियो । एसिया कपको त्यो संस्करण पाकिस्तान र अफगानिस्तनका खेलाडीको झगडालाई लिएर निकै चर्चित बनेको थियो । प्रारम्भिक चरणमा पाकिस्तान र अफगानिस्तान छुट्टाछुट्टै समूहमा परेका थिए । त्यसैले समूहगत चरणमा यी दुई टोलीबीच खेल भएन । 

तर प्रतियोगिताको सुपर सिक्स चरणमा भने यी दुई टोलीबीच भेट भएको थियो । यो घटना पनि त्यही खेलको हो । पाकिस्तानका ब्याट्सम्यान आसिफ अली र अफगानिस्ताका बलर फरिद अहमदबीच हात हालाहालको स्थितिसम्म पुगेको थियो । पाकिस्तानका आसिफ अलीले फरिद अहमदलाई ठटाउन आफ्नो ब्याट पनि उठाइसकेका थिए ।

एसिया कपको यो संस्करण टी–ट्वान्टी ढाँचामा खेलाइएको थियो । अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछ्याउँदै पाकिस्तान जवाफी ब्याटिङमा ओर्लिएको थियो । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका आसिफ अली १६ रन बनाएर खेल्दै थिए ।

त्यतिबेला पाकिस्तानको कुल स्कोर ११८ रन थियो अर्थात् खेल जित्न पाकिस्तानी टोली निकै ठुलो दबाबमा थियो । यस्तो स्थितिमा अफगानिस्तानका बलर फरिद अहमदले आसिफ अलीलाई करिम जन्नतद्वारा क्याच गराएका थिए ।

टोली अप्ठ्यारो स्थितिमा हुँदा फरिदले आफ्नो विकेट लिएपछि आसिफ अली आक्रोशित भए । त्यसमाथि उनको विकेट लिएपछि फरिदले उनकै अगाडि खुसियाली मनाएका थिए । यस्तो स्थितिमा दुवै खेलाडीबीच भनाभन सुरु भयो ।

झगडा बढ्दै गएर हात हालाहालको स्थितिसम्म पुग्यो । अनि पाकिस्तानका आसिफ अलीले फरिदलाई हिर्काउन ब्याटलाई हावामा उठाए । तर अन्य खेलाडीको हस्तक्षेपका कारण आसिफले फरिदलाई हिर्काउन भने पाएनन् । 

मैदानमा त स्थिति साम्य भयो । तर त्यसपछि रङ्गशालामा खेल हेरिरहेका पाकिस्तान र अफगानिस्तानका समर्थकहरू एकआपसमा भिड्न पुगे । दुवै टोलीका समर्थकबीच निकै ठूलो झगडा भयो । केही समर्थक घाइते पनि भए । उक्त रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई अन्तिम चार बल बाँकी रहँदा एक विकेटले हराएको थियो ।

एसिया कपको अन्योलपूर्ण ढाँचा

एसिया कपको ढाँचालाई लिएर पनि यो क्षेत्रीय प्रतियोगिता चर्चामा रहन्छ । एसिया कपको कुनै संस्करण टी–ट्वान्टी र कुनै संस्करण एकदिवसीय ढाँचामा खेलाउने गरिएको छ । १५ वटा संस्करण सम्पन्न हुँदासम्म दुई पटक एसिया कप टी–ट्वान्टी ढाँचामा खेलाइएको छ ।

एसिया कपको सुरुवात भने एकदिवसीय ढाँचामा भएको थियो । सन् १९८४ मा पहिलो संस्करण ५०–५० ओभरको खेलाइएको थियो । त्यसपछि सन् २०१४ सम्म लगातार १२ वटा संस्करण एकदिवसीय ढाँचामा नै खेलाइएको थियो ।

सन् २०१६ मा पहिलो पटक एसिया कप टी–ट्वान्टी ढाँचामा खेलाइएको थियो । त्यतिबेला एसिया कपलगत्तै टी–ट्वान्टी विश्वकप आयोजना हुँदै थियो । त्यसैको तयारीका लागि पहिलो पटक एसिया कप टी–ट्वान्टी ढाँचामा खेलाइएको थियो ।

सन् २०१६ को एसिया कप फेब्रुअरी २४ देखि मार्च ६ तारिखम्म आयोजना भएको थियो । त्यसलगत्तै टी–ट्वान्टी पुरुष विश्वकप मार्च ८ देखि अप्रिल ३ सम्म आयोजना भएको थियो । यसका अतिरिक्त सन् २०२२ मा पनि एसिया कप टी–ट्वान्टी ढाँचामा नै खेलाइएको थियो ।

त्यतिबेला पनि एसिया कपलगत्तै टी–ट्वान्टी विश्वकप आयोजना हुँदै थियो । एसिया कपको १६औँ संस्करण भने एकदिवसीय ढाँचामा खेलाइँदै छ । एसिया कप सकिएलगत्तै भारतमा एकदिवसीय विश्वकपको १३औँ संस्करण आयोजना हुँदै छ । आगामी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म आयोजना हुने छ । 

त्यसैले एसिया कपको ढाँचाका कारण पनि यो प्रतियोगिता चर्चित बन्न पुगेको छ । पछिल्लो समय एसिया कपको एउटा संस्करण एकदिवसीय र लगत्तै अर्को संस्करण टी–ट्वान्टी ढाँचामा खेलाउने तयारी भइरहेको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप