बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सांस्कृतिक सम्पदाको संरक्षण गर्न सांसदहरुको माग

मङ्गलबार, १२ भदौ २०८०, १६ : ०४
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । संघीय राजधानी काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रबद्र्धनमा ध्यान दिन सांसदहरुले आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद प्रेमबहादुर महर्जनले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न जात्रा र पर्व सुरु हुन लागेकाले ती क्षेत्रको सडक मर्मत र सरसफाइलाई ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद महर्जनका अनुसार यही भदौ १४, १५ र १६ गते जनैपूर्णिमा, गाईजात्रा र मर्तिया जात्रा सुरु हुँदैछ । प्रत्येक मठमन्दिर, सफा गर्न र भक्तदनलाई दिनभर घुम्ने वातावरणका लागि हिलाम्मे सडकको चाँडो मर्मत गर्न माग गरे ।

उनले जीवन्त संस्कृतिक सम्पदालाई सधैँ जगेर्ना गर्न उचित कोषको व्यवस्था गरिनुपर्ने भन्दै यस्ता सांस्कृतिक धरोहरलाई बचाउन सके पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

सांसद दामोदर पौडेल बैरागीले पर्यटकीय सिजन सुरु हुन लागेकाले देशका प्रमुख पर्यटकीय क्षेत्र पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्ने सडक जीर्ण बनेको भन्दै पर्यटकीय गन्तव्य जोड्ने सडकको चाँडो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामप्रकाश चौधरीले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन, कृषि, ऊर्जा, पर्यटनलगायतलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद शान्ति विकले संसद्लाई जग हसाइको थलो नबनाई देश र जनताप्रति इमान्दार र प्रतिनिधिमूलक थलोका रुपमा स्थापित गर्न माग गरिन् ।

उनले जातीय धार्मिक र पहिचानको नाममा सामाजिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै सबै सरोकारवाला सचेत रहन अनुरोध गरिन् । 

सांसद प्रभु हजराले राष्ट्रिय गौरवका आयोजनाको कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । 

उनले सबैखाले भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि छानबिन समिति गठन गरिनुपर्ने माग गरे । 

सांसद सरस्वती बजिमयले केही दिनदेखिको लगातारको वर्षाले पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको, प्राकृतिक प्रकोपजन्य घटनामा ठूलो धनजनको क्षति पुगेको र सडक, घर र बस्तीमा क्षति पुगेको भन्दै संघीय सरकारले बजेट व्यवस्थापन गरेर जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन माग गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप