पर्वतमा पहिरोले सात घर विस्थापित
पर्वत । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सातवटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सातवटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने ।
उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सातवटा घर जोखिममा छन् । दुईवटा परिवार काठमाडौँ बस्न थालेपनि अहिले पाँचवटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उनले जानकारी दिए । पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।
कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए । “पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाए पनि रात बिताउन हामी नवजागरण महिला आमा समूहको सामुदायिक भवनमा जाने गरेका छौँ, उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।
“अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ”, पहिरोले पुर्याएको क्षति देखाउँदै कार्कीले भने, “अब के खाने, कहाँ गएर बस्ने ?” हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे ।
पहिरोकै कारण पूर्णगाउँमा रहेको बराहताल लेदोले पुरिएको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई मन्दिरमा क्षति पुगेको छ । त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकको ठाउँठाउँमा ठूलाठूला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।
जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए । उनले पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठूलो क्षति पुर्याउने देखिएकाले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुईवटा वडाको ठूलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीनवटै सरकार जुट्न आवश्यक देखिएको बताए ।
पहिरो नियन्त्रणका लागि भू–तथा जलाधार ब्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टिमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट विनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडि बढ्ने पनि उनले जानकारी दिए ।
दुई कार्यालयका प्राविधिकसहितको टोलीले मङ्गलबार पहिरो र त्यसले पुर्याएको क्षतिको निरीक्षण गरेका थिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढीपहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राखे ।
“कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ”, उनले भने । “अहिले तत्कालका काम भनेकै विस्थापित भएकाको व्यवस्थापन, पहिरोबाट थप क्षति हुन नदिन संरक्षण, पुरिएको बराह तालको माटो फाल्ने र सडक स्तरोन्नति गर्ने नै हुन्”, पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण