शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सडकमा साइकल चलाउने वातावरण छैन: हरिवंश आचार्य

शनिबार, १६ भदौ २०८०, १६ : ५१
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले सहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताएका हुन् । 

उनले काठमाडौँमा सडकहरूमा साइकल चलाउने वातावरण नभएको बताए । आचार्यले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने जिकिर गरे । 

आचार्यले भने, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दो रहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतीक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ । तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु । एक घण्टा साइकल नचलाईकन मलाई चित्त नै बुझ्दैन । तर, साइकल कहाँ चलाउँछु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु । पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो । केही समय अगाडी पोखरामा साइकल र्‍याली हुँदा खेरी ३५ किलोमिटर साइकल चलाएको हो । साइकल चलाउन सक्छु तर, साइकल चलाउने ठाउँ छैन । साइकल चलाउने ठाउँको साह्रै ठुलो अभाव छ । साइकल चलाउँदा खेरी ज्यानको माया मारेर चलाउनुपर्छ । मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाइकलले संसारलाई नै प्रदूषित गर्दिसक्यो । सहरमा हिँड्दा खेरी मोटरसाइकलले हान्दिएला भन्ने डर हुने बेला आइसक्यो । डरै डरले हिँड्नुपर्ने ठाउँमा साइकल लिएर हिँड्नुपर्ने एकदमै जोखिमपूर्ण यात्रा नै हुन जान्छ । हो, साइकल चढ्नुपर्छ । साइकलले प्रदूषण घटाउँछ । डिजेल पेट्रोलका साधनले प्रदूषण बढाउँछ । मानव स्वास्थ्यमा असर पुर्‍याउँछ भन्ने कुरा यहाँ भनिरहन पर्दैन । नयाँ संरचनाहरू बनिरहेका छन्, नयाँ रिङरोडहरु बनिरहेका छन्, तर त्यसमा पनि साइकल लेन छुट्याउन कञ्जुस्याँई गरिरहेका छौँ । ह्वीलचीयरमैत्री सडकलाई प्राथमिकता दिनुपर्छ । सहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियर यात्राका लागि राम्रो नीति बनाउनुपर्छ ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले यात्रुमैत्री सडक हुनुपर्ने बताए । उनले सडक सवारी साधनको मात्रै नभएको भन्दै पैदलयात्री, साइकल र ह्विल चियर यात्रीका लागि पनि भएको बताए । उनले नेपाल संसारकै प्रदूषित सहरमध्ये एक भएको भन्दै अहिले सडकमा क्षमताभन्दा बढी गाडी गुडाइरहेको बताए । उनले सवारी साधनले अस्वभाविक ढंगले धुवाँ फालिरहेका कारणपनि प्रदूषण बढेको बताए । पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप