सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको पहाड घर कहाँ हो ?

आइतबार, १७ भदौ २०८०, १० : १६
आइतबार, १७ भदौ २०८०

गएको साल पुस २३ गते कवि भुपाल राईले कान्तिपुर कोसेलीमा ‘तपाईंको पहाड घर कहाँ हो ?’ शीर्षकमा एउटा लामो आलेख बाहिर ल्याएका थिए । शीर्षकले हामी पहाडमा पुख्र्योली थातथलो भएकाहरूबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आमवाक्य हो । जसरी उपत्यकाका रैथानेहरू समयअनुसार तपाईंले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन् । यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो ।

पचासको दशकतिर लेखिएको राईकै कविता ‘दाजै कविता गाउँमै छ’ को प्रसङ्गबाट सुरु गरेर लेखिएको यो आलेख आफैँमा ‘अर्थ–राजनीतिक–साहित्य’ बनेको छ । साहित्य कुनै वर्ग, समुदाय विशेषको पक्षपोषण गर्छ भन्ने मान्यता यो लेखले स्थापित गरेको छ । र, साहित्य लेखनमा बखान गरिने स्वतन्त्रता, स्वच्छन्दता, उत्तरआधुनिकता र अराजकताको खण्डन गर्दछ । मैले उनको यो कविता पढेको छैन तर राईले कविता यात्राको सन्दर्भमा यो कविता ‘माइलखुट्टी’ भएको ठहर गरेका छन् । साझा प्रकाशनले त्यही शीर्षकमा सङ्ग्रहकै रूपमा प्रकाशित गरेपछि यस्तो लाग्नु अस्वाभाविक पनि हैन ।

लेखनका दुई धारा छन् एउटा अतीत अर्थात् भूत लेखन अर्को सिर्जनात्मक लेखन । भूत लेखन सिर्जनात्मक हुन्न भन्ने नै चाहिँ हैन । तर अक्सर भूत लेखन बढी काल्पनिक हुन्छन् । कतिपय सन्दर्भमा असान्दर्भिक पनि भइसकेको हुन्छ । भएकै घटना लेखिए पनि त्यसलाई पत्याउने आधार खुम्चिसकेको हुन्छ । सिर्जनात्मक लेखन चाहिँ वर्तमानको अवस्थालाई भविष्य देखाउने मार्ग हो । राईको त्यो अतीतको कविता पनि उनले बोकेको दर्शनसँग सम्बन्धित चेतनाको स्तरले भूत वा सिर्जनाको हैसियत निर्धारण गर्छ । उनकै भाकामा उनकै कवितामा परिभ्रमण गर्दा उनले गर्ने आजको उनको चेतनास्तरले स्वमूल्याङ्कन गर्ने हो । 

राईको कविता, ‘दाजै कविता गाउँमै छ’ यो शीर्षकले नै सबै कुरा बोलेकै छ । अझ कविताको अन्य अन्तरङ्ग गेडाले धेरै कुरा खोलेकै होला । पूर्वी नेपालको कुनै गाउँको प्रकृति, मानव बस्ती र त्यहाँको सामाजिक सांस्कृतिक लयमा लेखिएको त्यो कविताले पूर्वी पहाडको राष्ट्रियतालाई त बोकेकै होला अर्थात् समग्रमा यो क्षेत्रीय ‘नेचर–डेमोग्राफिक’ रूपरेखा होला । त्यहाँको भूगोल, प्रकृति, जीवन जगत, सुखान्त, दुखान्त गाउँको कथा समेटिएकोले कविता गाउँमा भएको उद्घोष कविले गरे होलान ।

अक्सर कविता त गाउँमै हुन्छ । श्रम, दुःखजिलो, पीडा, शोषण, उत्पीडन, अभाव दूरदराज र विकट गाउँमा हुन्छ । कविता वा साहित्यका अन्य विधाले यसैमा बोल्ने हो । यस मानेमा कवि राईको कविता पहाडी गाउँको प्रकृति र समाजलाई उधिनेर बोल्यो । तर कविता त्यो पहाडी गाउँमा मात्रै हुन्न । कविले उधिने झैँ श्रम, आफ्नो भन्ने सघन भाव मधेसका देहातमा पनि छ । यो पहाडको कुनै गाउँको विषय मात्रै हैन । मधेसका अनेकान गाउँमा पनि कविता भए, छन् । मधेसका पीडा, वेदनाले पनि कविता लेखाउँछ, लेखाएका पनि छन् । 

सहरमा त नाटक मात्र हुन्छ । गाउँको अभावग्रस्त कविताले केही नदिएपछि अझ दुःखमाथि दुःख थपेपछि गाउँ छोडेर भौँतारिएका हुन् । कविताको पीडा पोख्न, पीडा मेट्न मानिस गाउँ छोडिरहेका छन् । जनजीविकाका लागि पनि थातथलो छोडेका हुन् । केहीले गाउँले सहरलाई घेर्ने रणनीतिअनुसार स्थानान्तर हुँदा सहरमा अलमलिएका वा हराएका हुन सक्छन् ।

मधेसको त्यो फाँटिलो देहातमा कविता, गीत सबै फलेफुलेका छन् । फले नफुलेका भए मैथली साहित्यमा महाकवि विद्यापति हुन्नथे । तर एउटा चरित्रले पहाड तनहुँ घाँसी कुवाका भानुभक्तलाई आदिकवि देख्यो । ‘महाकवि’, लक्ष्मीप्रसाद देवकोटा मात्रै भए । कवि शिरोमणि लेखनाथ भए । राष्ट्र कवि माधव घिमिरे यस्तै यस्तै आदि । यस्तो आदिकवि, महाकवि, शिरोमणि, राष्ट्रकवि जन्माउने पहाड मात्र बहुप्रचारित भएपछि अलिकति चेत भएको पहडियालाई अर्को पहडियाले भेट्दा सबैले सोध्ने नै भए ‘तपाईंको पहाड घर कहाँ हो ?’ 

सामुदायिक पहिचानको थातथलो त हुन्छ नै यदि यही कुरा जान्नलाई कविलाई धरमपुर झापामा सोधेको कुरा रहस्यमय हैन । बरु ऊभित्र सुषुप्त अवस्थामा रहेको पहिचानजनित राष्ट्रियताको भाव हो । तर पञ्चायतको उदयसँगै राष्ट्रियता सामुदयिक भावको छैन । भौगोलिक भाव भइसकेको छ । विसं २०१८ मा निर्मित संविधानले १४ अञ्चल ७५ जिल्ला घोषणा गर्नासाथ सामुदायिक राष्ट्रियता खारेज भयो । यसर्थ कविले आफू स्थानान्तरण भएको काठमाडौँलाई आफ्नो घर भने । सहभागीले अलिक कर गरेपछि पुख्र्यौली थलो भोजपुर भने तर माझ किरात भन्न सकेनन् वा भ्याएनन् ।

पञ्चायतले पछिल्लो पटक राष्ट्रियताको एउटा भाष्य निर्माण गरिदिएको छ । त्यो भौगोलिक राष्ट्रियता हो । पूर्वी पहाडको राष्ट्रियता अब वल्लो किरात, पल्लो किरात र माझ किरात वा लिम्बुवान रहेन । समग्र पहाडी मूलको भौगोलिक राष्ट्रियता बन्यो । सोलु, ओखलढुङ्गा, सङ्खुवासभा, ताप्लेजुङ आदि बन्यो । यसैले हिमालमा बस्नेहरू पनि पहाडी जिल्लाका नामले चिनिने भए । तराईमा त मिथिला, भोजपुरा, अवध हैन सुनसरी, मोरग सप्तरी धनुषा आदि नामका भए । पहाडी राष्ट्रियतालाई स्थापित गर्ने मनोविज्ञान अन्तर्गत हिमाल र मधेसलाई विस्थापित गर्ने योजना हुन सक्छ । यसैले तराई वा हिमालमा बस्नेलाई उसको वतन सोध्ने चलन छैन । कविले जान्न खोजेको नेपाली राष्ट्रियताको अन्तर्य यही हो । त्यसैले पहाडियाहरू पूर्व, पश्चिम जहाँका हुन्, तिनले भेट्दा पहिलो थेगो हुन्छ, ‘तपाईंको पहाड घर कहाँ हो ?’

नेपालको यो आधुनिक स्वरूप बन्नुभन्दा अघि पनि नेपाल थियो । किरात, लिच्छवि, मल्लकालमा पनि वर्तमानको नेपालको करिब यही स्वरूपको समग्र नाम नेपाल हो । भलै त्यहाँभित्र बाइसी, चौबिसी, उपत्यकामा तीन र उपत्यका पूर्व तीन गरी ५२ गणराज्यहरू किन नहुन् । तिनै गणराज्यहरूको ऐतिहासिक स्वरूप आधुनिक नेपालको इतिहास हो । तर एकत्रित स्वरूपको राज्य विस्तार गर्ने काम पहाड गोर्खा राज्यले ग¥यो । यसैले कवि राईले सङ्केत गरे झैँ नेपाली राष्ट्रियताको निर्माण त्यही पहाडले ग¥यो । पहाड र पहाडियाले निर्माण गरेको राज्य र राष्ट्रियतामा अन्यले अपनत्व ग्रहण गर्न नसकेको हो ।

नेपाली राष्ट्रवादको चुरो नेपालको ‘एकीकरण’ वा ‘गोर्खा राज्यको विस्तार’ दुई कुराको छिनोफानो नहुञ्जेल तर्कतरङ्ग चलिरहन्छ । पहाड त वर्तमान राष्ट्रवादको मुख्य धमनी हो, जहाँबाट रक्त सञ्चार भइरहन्छ । अमिबाको न्युक्लियस र त्यसलाई सघाउने प्लाज्माहरूको नियति यस्तै हुन्छ भनेर गरेको उदाहरण पनि यहाँ सटिक छ । जसले कविकै भाकामा भन्दा हिमाललाई नजरअन्दाज ग¥यो । मधेसलाई परहेजमा राख्यो । 

कविले ठीकै भने राष्ट्रवादको पहाडि एकात्मक ढाँचा ‘असिल हिन्दुस्थाना’ बनाउने पृथ्वीनारायण वैचारिकीमा आधारित थियो । त्यसअघि त नेपालको स्वरूप उत्पीडनरहीत सङ्घीय गणराज्यमा थियो, जसको चर्चा माथि पनि भइसकेको छ । तर सेनहरूले स्वशासनलाई भत्काउने, उपनिवेश बनाउने क्रियाकलाप गरेर ‘पृथ्वी विचार’लाई भ्रुणमा ल्याउने मार्ग प्रशस्त गरेका थिए ।

त्यसपछि पृथ्वी विचार जङ्गबहादुर कुँवरको मुलुकी ऐन हुँदै संस्थागत हुने क्रम बढ्यो । महेन्द्र शाहले एक धर्म सापेक्ष, भूमिसुधारको नाममा किपट उन्मूलन, लोकतन्त्रको खारेजीलगायत अर्थ–राजनीतिक कार्यक्रमलाई निरन्तरता दिए । जसको उत्कर्ष जनमत सङ्ग्रह, पहिलो, दोस्रो जनान्दोलन, सशस्त्र विद्रोह, मधेस आन्दोलनमार्फत  जवाफतलब भएको थियो । तर खारेजीमा परेको यो पहाडी राष्ट्रवाद फेरि पनि संस्थागत हुने सुरसारमा छ । यसैले धर्म सापेक्ष ‘असिल हिन्दुस्थाना’ को पुनस्र्थापना, सङ्घीयताको खारेजीसहितको खिचडीका सर्दाम भेला गरिँदैछ । यस पटकको मतादेशले त्यतैतिरको सङ्केत गरेको छ । यसैले संसद्मा एक भाषा, एक भेष, एक राष्ट्र एक देशको रिहर्सल सुरु भएको छ । जुन राष्ट्रवादले मधेसलाई राष्ट्रघात र घातीको पगरी गुथाएको थियो । त्यही पहाडी राष्ट्रवादलाई उजिल्याउन खोजिँदैछ । जुन राष्ट्रवादले राजनीतिक स्वतन्त्रता खोज्नेलाई अराष्ट्रिय तत्त्व (अत) बनाएको थियो । त्यसैले राष्ट्रिय एकताको पुरानो मिति खोजेर पुस २७ गतेलाई दिवस बनाइँदै छ । यसैले अब झन जोडले भेटघाटमा सोध्नेछन्, ‘साँच्ची तपाईंको पुख्र्यौली पहाड घर कहाँ हो ?’   

पुनर्वासको चर्चा :

यसै प्रसङ्गमा कविले पुनर्वासको चर्चा पनि गरेका छन् । सुन्दा कर्णप्रिय लाग्ने पुनर्वास योजनाको छद्म दृष्टि तराईका फाँटमा पहाडको हस्तक्षेप बढाउनका लागि रहेको ठहरमा पुगेका रहेछन् । तर पुनर्वास मात्र हैन ‘रस्ती रसाई बस्ती बसाइ’ नाराअन्तर्गत पूर्वी तराईमा बसोबास गराइएको थियो । आजको सुनसरी, मोरङ र झापामा कैयौँ स्थानमा झोडा फाँड्ने काम भएको थियो । मोरङको कुलझोडा, रमाइलो झोडा, कानेपोखरी, झापाको केर्खा, झिलझिले, सुनसरीको पञ्चायन, महेश्वरलगायत अनेक झोडा (चारकोसे जङ्गल) फँडानी गरेर पहाडका बासिन्दालाई बसाइयो । पुनर्वास कम्पनीले मध्यमधेसमा पहाडी मूलकाहरूलाई बसायो । झापाको सीमावर्ती क्षेत्र पृथ्वीनगर, जलथलदेखि महकाली कञ्चनपुरको दोधारा चाँदनीसम्म पहाडीमूलकाहरूको बस्ती बसाउने काम भयो । सूचना प्रविधिको उस्तो विकास नभएको त्यो बखतमा महेन्द्रले मानवलाई नै प्रयोग गरेर राष्ट्रवाद मधेसमा वल्लो छेउदेखि पल्लो छेउसम्म विस्तार गरे ।

राप्तीघाँटी विकास परियोजनाअन्तर्गत चितवन फँडानी गरेपछि पहाडेमूलकालाई बसाइयो । नेपाल औलो उन्मूलन सङ्घ गठन गरेर त्यसैको माध्यमबाट मच्छड मार्ने विषादी ‘डीडीटी’ पाउडर छरियो । मधेसमा मच्छडसँग जुध्न सक्ने क्षमता मधेसी र थारुहरूमा मात्र थियो । यसर्थ पहाडीमूलकाहरू मधेसको बाटो मात्र हिँड्थे, रात कटाउँदैन थे । यो विषादी छरेपछि केही हदसम्म औलो उन्मूलन हुन थाल्यो । चितवनलगायतका मधेस बस्न अनुकूल भयो । मधेस बस्न अनुकूल हुँदै गएपछि राजनीतिकपीडितका नाममा, बर्माबाट फर्केका प्रवासी नेपालीका नाममा पनि पहाडी मुलकालाई चितवनलगायत मधेसमा बसाइयो । 

नेपाल–भारत सीमा रक्षाका नाममा गोर्खा भूपू सैनिकलाई मधेसमा जग्गा वितरण गरियो । ठीकै भनेका हुन कविले यो आलेखमा ‘महेन्द्रीय पहाडे राष्ट्रवाद’ मधेसमा यसरी विस्तार भयो । वर्तमानको नेपाली राष्ट्रवादको बनिबनाउ स्रोत पहाड नै हो । त्यो स्रोतलाई उपयोग गरेर महेन्द्रले मधेसमा राष्ट्रवादको नयाँ वैचारिकी स्थापित गरे । त्यसैले आजसम्म महेन्द्रीय वैचारिकीले आम पहाडेमूलकालाई भेट्दा बोल्ने थेगो नै बनाइदिएको छ, ‘तपाईंको पहाड घर कहाँ हो ?  

राजमार्गको कुरा : विकासका लागि राजनीति

नेपालको आर्थिक जीवन पूर्व–पश्चिम हैन उत्तर–दक्षिण जोडिएको छ । तर राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग आफ्नै नाममा, आफ्नै गुरु योजनाअन्तर्गत बनाए । मधेसको आर्थिक जीवन रेखा त हुलाकी मार्गसँग धेरै सम्बन्धित थियो । हुलाकी मार्ग बनाउँदा हुने मधेसको उन्नतिलाई नजर अन्दाज गरे । उनले नयाँ राजामर्ग बनाए, जहाँ उनको वैचारिकी स्थापित गर्न सजिलो होस् । कविले महेन्द्र राजमार्ग बनाउनुको उद्देश्यमा मत बझाइ राख्नुपर्ने छैन । महेन्द्रको एक मात्र नारा थियो ‘विकासको लागि राजनीति’ । जहाँ विकास गर्ने हो त्यहाँ राजनीति पु¥याउने । राजनीति नजाने ठाउँमा विकास नलैजाने । यसैले उनले पहाडको विकासमा ध्यान दिएनन् । महेन्द्रलाई मधेसमा आफ्नो अनुकूल ‘राष्ट्रवादी राजनीति’ लैजानु थियो । महेन्द्र राजमार्गको विकासको नाममा राजनीति कुदाएका हुन् । कविले भनेझैँ सेवा, सुविधा, अवसर र विकासबाट वञ्चित पहाडी समुदाय राजमार्गमा बसाइँ सरे । यो बाध्यकारी परिस्थिति बनाउने महेन्द्रीय ‘विकासका लागि राजनीति’ नारा थियो । यो नारालाई ठीक उल्टो पारेर बुझियो भने खुट खबर आउँछ जस्तो : राजनीतिका लागि विकास । कविले उठाएको मुख्य प्रश्नको उत्तर यही हो । 

पहाडको त्यो बनिबनाउ राजनीति लैजान महेन्द्र राजमार्ग अनुकूल थियो । यसैले उत्तर–दक्षिणको आर्थिक जीवनलाई पनि उनले हेरेनन् र पूर्व–पश्चिम हुलाकीलाई पनि मान्यता दिएनन् । बरु मानव बस्ती कम्ती भएको चुरेको फेदैफेद राजमार्ग बनाए जहाँ पहाडे मूलकाहरूको बस्ती बसाउन सजिलो होस् । आखिर भयो पनि त्यस्तै काँकडभिट्टादेखि कञ्चनपुरसम्म नै महेन्द्र राजमार्गमा पहाडे राष्ट्रियताको सघन उपस्थिति भयो । यसरी महेन्द्रीय राष्ट्रवादले सीमावर्ती काँकडभिट्टादेखि दोधारा चाँदनीसम्म यसैगरी पूर्व–पश्चिम राजमार्गले मेचीदेखि महाकालीसम्म मधेसलाई घेराबन्दी गर्न सफल भयो । त्यहाँ बसोवास गर्ने जति पुस्ता बिते पनि अझै एकअर्का भेट हुँदा सोध्ने गर्छन्, ‘तपाईंको पहाड घर कता हो ?’

[email protected]     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप