बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विराट कोहलीको सतक हेर्न रंगशाला पुगेकी पाकिस्तानी युवती भन्छिन्–  ‘छिमेकीलाई माया गर्नु नराम्रो होइन’

आइतबार, १७ भदौ २०८०, १७ : २३
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत शनिबार खेलिएको भारत र पाकिस्तानबीचको खेलमा वर्षा बाधक भयो । वर्षाकै कारण खेल रद्द हुन पुग्यो । दुबै टोलीले एक-एक बटुले र पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्न सफल भयो ।  तर, भारतको पाली सकिएपछि मात्र खेल वर्षाका कारण बिथोलिएको थियो । त्यसअघि टस जिती पहिला ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुनुअघि दुई सय ६६ रन बनाएको थियो ।

सामान्यतः भारत र पाकिस्तानका समर्थक एकअर्का टोलीका खेलाडीको प्रशंसा सुन्नसमेत मन पराउँदैनन् । तर, शनिबारको खेलमा भने एक पाकिस्तानी युवती भारतीय खेलाडी विराट कोहलीका लागि मात्र रंगशाला पुगेकी थिइन् ।  खासमा ती पाकिस्तानी युवती आफ्नै राष्ट्रविरुद्ध कोहलीले सतक प्रहार गरेको हेर्न चाहन्थिन् । ती पाकिस्तानी युवतीले आइतबार सार्वजनिक गरिएको एक भिडियोमा उक्त कुरा बताएकी छन् । विराट कोहलीले पाकिस्तानविरुद्द सतक प्रहार गरेको हेर्न आफू श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय रंगशालासम्म पुगेको बताएकी छन् । 

आफ्नो त्यो सपना पुरा नभएकोमा निकै दुःख लागेको उनले बताएकी छन् । उक्त खेलमा तेस्रो नम्बरमा क्रिज समाल्न आएका कोहली सात बलमा केवल चार रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी टोलीका तिब्रगतिका बलर साहिन शाह अफरिदीले बोल्ड गरेका थिए । 

‘विराट कोहली मेरो सबैभन्दा मन पर्ने खेलाडी हुन् । म कोहलीकै खेल हेर्न रंगशालासम्म धाएकी हुँ । तर, दुःखपूर्वक भन्नु पर्छ मेरो सपना पुरा हुन सकेन । म क्रिकेटमा भारत र पाकिस्तान दुबै टोलीलाई समर्थन गर्छु । यदि मलाई बाबर आजम र विराट कोहलीमध्ये एउटा खेलाडी छान्ने अधिकार दिइयो भने पक्कै पनि म विराट कोहलीलाई नै छान्ने छु,’ ती पाकिस्तानी युवतीले भनेकी छन् । 

भिडियोमा एक पाकिस्तानी समर्थकले उनलाई आफ्नै राष्ट्रलाई समर्थन गर्नुपर्ने सुझाव दिएका छन् । त्यसको जवाफमा उनले भनेकी छन्, ‘छिमेकीलाई मायाँ गर्नु नराम्रो कुरा होइन ।’ ती पाकिस्तानी युवतिको नाम भने खुलाइएको छैन ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप