वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
वालिङ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पु¥याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।
सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्राडा इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच आइतबार पोखरामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता भएको मितिले सुरुमा एक वर्ष र त्यसपछिका वर्षहरुमा सम्झौता अवधि नवीकरण गर्दै लैजाने सहमति दुई पक्षबीच भएको छ । गण्डकी प्रदेशका नागरिकमा आँखाको उपचारसम्बन्धी सहज पहुँच पु¥याउन सकियोस् भन्ने मुख्य उद्देश्यसहित वालिङबाट पनि मासिकरुपमा शल्यक्रिया सेवा दिने तयारी गरिएको हिमालय आँखा अस्पताल पोखराका प्राडा श्रेष्ठले बताए ।
“हिमालय आँखा अस्पताल पोखराबाट आँखाका विशेषज्ञ डाक्टरको टोली उपकरणसहित वालिङ गएर शल्यक्रिया सेवा दिनुहुन्छ”, उनले भने, “प्रत्येक महिनाको १२ गते शल्यक्रिया गर्छौं । ”
विशेष गरी मोतियाविन्दुका बिरामीको आँखाको शल्यक्रिया गर्ने र आँखासम्बन्धी अन्य बिरामीलाई आवश्यक उपचार तथा परामर्श दिइने उनले बताए । एक दिनमा २०–३० जनासम्म बिरामीको आँखाको शल्यक्रिया गरिने छ ।
आँखाको शल्यक्रिया गर्नका लागि पोखरा तथा अन्य टाढाका अस्पतालमा जानुपर्ने बाध्यता हटेर गएको गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष खाँणले बताए । उनले आँखाका विशेषज्ञ तथा डाक्टरको टोलीले वालिङमै आएर शल्यक्रिया सेवा दिने भएपछि टाढा जानुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ थियो ।
“शल्यक्रियाका लागि अस्पतालमा शल्यक्रिया कक्ष निर्माण गरी तयारी अवस्थामा छौँ” अध्यक्ष खाँणले भने, “मासिकरुपमा मोतियाविन्दुको शल्यक्रिया सेवा आफ्नै ठाउँमा विस्तार भएपछि यस क्षेत्रका नागरिकमा अन्धोपना न्यूनीकरणमा सहयोग पुग्ने छ ।”
दुई पक्षबीच भएको समझदारी पत्रमा मासिक मोतियाविन्दु शल्यक्रिया सेवा विस्तार गरी अन्धोपन न्यूनीकरण गर्ने, आँखा उपचारसम्बन्धी सेवा अभिवृद्धि गर्न सहकार्य गर्ने, गह्रौँ प्राथमिक अस्पतालमा शल्यक्रिया कक्ष स्थापना गरी मासिक मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गर्ने, सेवालाई दिगो र प्रभावकारी बनाउन दुवै पक्षले आवश्यक पहल गर्ने उल्लेख छ ।
अस्पतालमा आँखाका बिरामीको चाप बढ्दै गएको छ । यहाँ दैनिक ६०–७० जना आँखाका बिरामी दैनिक परीक्षण गर्न आउने गरेका गह्रौँ प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताए । परीक्षणमा आउने बिरामीमा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएमा वालिङमा शल्यक्रिया सेवा नभएकाले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।
“यहाँ आँखाको परीक्षण गर्न आएका बिरामीमा मोतियाविन्दुको लक्षण देखिएमा हामीले नाम सङ्कलन गरी १२ गते शल्यक्रियाका लागि बोलाउँर्छौं”, उनले भने, “मासिक २५–३० जनाको हाराहारीमा यहाँ मोतियाविन्दुका बिरामीलाई शल्यक्रियाका लागि अन्यत्र पठाउँदै आएका थियौँ ।”
शल्यक्रिया सेवा अस्पतालमा सुरु हुने भएपछि यहाँका नागरिक अन्यत्र जान नपर्ने भएपछि सहज हुने भएको हो । हाल अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतको केही भेगका नागरिकले सेवा लिन पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण