बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक लाखौँको अवैध सामान भित्रने बाराको छोटी भन्सारको राजस्व शून्य

छोटी भन्सार कार्यालयमा क्वारेनटाइनको समस्या छः भन्सार अधिकृत
मङ्गलबार, १९ भदौ २०८०, १६ : १७
मङ्गलबार, १९ भदौ २०८०

बारा । बाराको मुख्य भन्सार ‘सिम्रौनगढ छोटी भन्सार कार्यालय’को राजस्व शून्यमा झरेको छ । छिमेकी मुलुक भारतबाट दैनिक लाखौँ रुपैयाँको अवैध सामान भित्रिने बाराको सिम्रौनगढस्थित राजस्व असारदेखि शून्यमा झरेको देखिएको हो । 

गत आर्थिक वर्षको असार महिनामा सो भन्सारको राजस्व शून्य देखिन्छ । चालु आर्थिक वर्षको साउन महिनामा ७२१ रुपैयाँ दाखिला भए पनि भदौ महिनाको १७ गतेसम्म राजस्व सङ्कलन पनि शून्य रहेको छ । 

जबकि सो भन्सार कार्यालयको यस अघि गत आर्थिक वर्षको फागुन महिनामा मात्रै १ लाख ९ हजार ७५६ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चैत महिनामा १६ हजार ७८४ राजस्व सङ्कलन भएको थियो । 

कोभिड–१९ पछि पूर्ण रूपमा बन्द रहेका कलैया उपमहानगर–१० को मर्टिहवा भन्सार र सिम्रौनगढ–६ को गोलगञ्जमा रहेको सिम्रौनगढ छोटी भन्सार कार्यालयहरू गत माघ अन्तिम सातादेखि पुनः सञ्चालनमा आएका हुन् । 

बाराको नेपाल–भारत सीमाको ४० किलोमिटर क्षेत्रमा प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ९ वटा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका छुट्टाछुट्टै पोस्ट छन् । 

सीमा क्षेत्रमा तस्करी नियन्त्रण र सीमा सुरक्षाका लागि सयौँको सङ्ख्यामा  सुरक्षाकर्मी खटिए पनि स्थानीय प्रहरी, प्रशासनकै सामुन्ने खुलेआम तस्करी भइरहेको एक अधिकारीले जनाए । 

‘राज्यले तस्करी नियन्त्रणकै लागि ठुलो साधन श्रोत सीमामा खटाएको छ । तर, राजस्व सङ्कलन भने ओरालो लागेर शून्यमा झर्दै जानु लज्जास्पद हो,’ जिल्ला प्रशासन कार्यालय बाराका एक अधिकारीले भने, ‘राजस्व सङ्कलनको अवस्था हेर्दा छोटी भन्सार स्थानीय प्रहरी, प्रशासनलाई कमाई खाने भाँडो मात्रै भएको देखिएको छ ।’ 

विवाह  र एम्बुलेन्स बाहेकका ४ चक्के गाडीहरू छोटी भन्सारमा आउजाउ गर्न रोक लगाइए पनि ट्र्याक्टर, ठेलागाडा र मोटरसाइकल प्रयोग गरेर सीमामा अवैध तस्करी हुने गरेको जनाइएको छ ।

सिम्रौनगढ जस्तै कलैया उपमहानगर–१० मर्टिहवा रहेको भन्सार कार्यालयमा फागुन महिनामा १ लाख ७४ हजार ६७४ राजस्व सङ्कलन भएकोमा चैतमा ३ लाख ९ हजार १२४, वैशाखमा १ लाख ५३ हजार ७१८, जेठ महिनामा ७६ हजार ६०३ र असार  महिनामा ओरालो लागेर ३७ हजार ७४५ रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । 

bb2

वीरगन्ज भन्सार कार्यालय मातहतमा बारा र पर्सामा गरी ११ वटा छोटी भन्सार कार्यालय छन् । बाराका सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीले वीरगन्ज भन्सार कार्यालयले छोटी भन्सारमा कर्मचारी खटाउन नसक्दा राजस्व सङ्कलनको अवस्था ओरालो लागेको बताउँछन् । 

‘भन्सारका कर्मचारी हप्तामा ४ दिन मात्र आएर, ३ दिन कार्यालय बन्द गरेर हिँड्छन् । सुब्बा र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालनमा छ । ती पनि मन लागे आउँछन्, मन नलागे आउँदैनन्,’ प्रहरी उपरीक्षक डाँगीले भने, ‘हाम्रो काम राजस्व सङ्कलन भन्दा पनि बरामद भएको सामान बुझाइदिने मात्रै हो, बाँकी राजस्वको काम हामीले हेर्दैनौँ ।’

यता वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत धनबहादुर बढुवाले छोटी भन्सारबाट हुन सक्ने राजस्व चुहावट हेर्ने मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको भएको बताएका छन् । 

simraungadh chhoti bhansar

‘छोटी भन्सार कार्यालयहरूलाई बिस्तारै हटाउँदै जाने राज्यको नीति हो । हामी त्यसैअनुसार काम गरिरहेका छौ,’ भन्सार अधिकृत बढुवाले भने, ‘छोटी भन्सारमा २/४ हजारको भन्सार रसिद काट्ने र दिनभर त्यही रसिद देखाएर लाखौँको सामान भित्र्याउने प्रचलन छ । यसलाई व्यवस्थित गर्न माथिल्लो निकायबाट नीतिगत रूपमै निर्णय हुनुपर्छ’ । 

छोटी भन्सारबाट १० हजार सम्मको घरायसी प्रयोजनका सामान ल्याउन सक्ने व्यवस्था छ । तर, व्यवसायिक प्रयोजनका लाखौँ रुपैयाँका सामान भन्सार छली गरेर यी नाकाहरूबाट सिम्रौनगढ, तामागढी सडक खण्ड हुँदै निजगढसम्म पुग्ने गर्दछ । 

छोटी भन्सार पूर्ण रूपमा सञ्चालनमा ल्याउन क्वारेन्टाईनको समस्या भएको भन्सार अधिकृत बढुवा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप