बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लेखा समितिले ठुला बेरुजुलाई प्राथमिकता दिनुपर्ने सांसदहरूको जोड

मङ्गलबार, १९ भदौ २०८०, १८ : ४५
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । सार्वजनिक लेखा समितिले जोखिम र ठुला बेरुजुका विषयलाई प्राथमिकता दिएर काम गरी परिणाम निकाल्न आवश्यक रहेको सांसदहरूले बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले सार्वजनिक लेखा समितिप्रति जनताको आशा रहेको भन्दै जोखिम र ठुला बेरुजु लगायत अन्य काण्डहरूको विषयमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका हुन् । 

उनीहरूले सार्वजनिक लेखा समितिले लोकप्रियता र निर्देशनको आधारमा भन्दा पनि जनताको चासोको विषयमा सरकारले कार्यान्वयन गर्ने गरी निर्देशन दिन आवश्यक रहेको बताए । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेका सम्पूर्ण निकायहरूको बेरुजुको विषयमा भन्दा पनि प्राथमिकताको आधारमा छलफल र अध्ययनको काम गर्नु पर्ने सांसदहरूको भनाई थियो । 

समितिले सबै विषयमा छलफल गर्ने भन्दा पनि प्राथमिकीकरण गरी जोखिम, धेरै बेरुजु फर्छ्यौट नभएका र ठुला भ्रष्टाचारका काण्डका विषयमा परिणाम हुने गरी काम गर्न आवश्यक रहेको बताए । महालेखापरीक्षक कार्यालयले निकाल्ने बेरुजु महापुराण जस्तो भएको टिप्पणी सांसदहरूको थियो । समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले समितिले बेरुजुको विषयमा महालेखा, मुख्य सचिव र सचिवहरूसँग छलफल गर्नु आवश्यक रहेको बताए । 

उनले महालेखाको प्रतिवेदन महापुराण जस्तो भएको टिप्पणी गरे । बास्कोटाले  महालेखाको प्रतिवेदनमा भएको कुरा नभएर भाषण मात्रै लेखेको दाबी पनि गरे । उनले महालेखाले गोलमोटल प्रतिवेदन सार्वजनिक गर्ने गरेको भन्दै महालेखाले यस्तो खालको प्रतिवेदन दिएर बेरुजु लगायतका विषयमा केही सुधार हुन नसक्ने उल्लेख गरे । 

प्रतिवेदनमा लेखापरिक्षकको विज्ञता मात्रै देखाएको उनको भनाई थियो । उनले समितिले चालु आर्थिक वर्षबाट सुधार गर्न आवश्यक रहेको बताए । उनले भने, ‘समितिको उपसमिति गठन हुँदा विभिन्न विधा होला । तर बिरालो बाँधेर श्राद्ध गर्ने जस्तो त्यहाँ पनि अर्को सेटिङ नगर्नु । मेरो एउटा अनुरोध छ । तत्काल बाहिर निस्कनुभएको मन्त्रीहरू सोही मन्त्रालय हेर्ने गरी उपसमितिमा नबसौँ । सकिन्छ भने पूर्वमन्त्रीहरु पनि नबसौँ । उपसमितिमा सदस्यहरू दोहोरिएको छ भने स्वार्थ बाझिने सम्भावना हुन्छ । ’

त्यस्तै सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिले बेरुजु हेर्ने निश्चित समयावधि तोकेर हेर्न आवश्यक रहेको बताए । उनले सरकारका विभिन्न निकायको २७ साल देखिको बेरुजु रहेको भन्दै समितिले कसरी हेर्ने समस्या रहेको जिकिर गरे । समितिले पुरानो बेरुजुलाई अनुसन्धान गरी नयाँलाई बेरुजु नहुने गरी काम गर्नु आवश्यक रहेको उनको जोड थियो । 

उनले समितिले चिया खाजाको बेरुजुको विषयमा भन्दा पनि अर्बौँ रुपैयाँ बेरुजुको विषयलाई प्राथमिकता दिन आवश्यक रहेको बताए । उनले समितिले आगामी दिनमा सरकारी सम्पत्ति कुनै पनि हिसाबमा दुरुपयोग नहुने गरी परिणाम आउने गरी काम गर्नुपर्ने बताए । उनले मन्त्रीहरूले पाउने सेवा सुविधाका विषयमा पनि छलफल गरी छानबिन समितिले गर्न सक्नुपर्ने बताए ।

नेपाली काँग्रेसका सांसद राजन केसीले मुलुकमा बेरुजु बढ्नेको प्रमुख कारण भ्रष्टाचार मात्रै नभएको बताए । उनले बेरुजु बढ्नुमा ऐन नियम,कानुन र बेथितिका कुराहरू रहेको बताए । उनले जसरी भए पनि अवज्ञा गर्ने मानसिकताले काम गरिरहेको बताए । उनले सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भएको राष्ट्रिय आय व्यय ठिक तरिकाले कानुन अनुसारको भयो की भएन भन्ने विषयमा राम्रो अध्ययन भएका सांसदहरू उपसमितिमा बसेर काम गर्नुपर्ने बताए । उनले सरकारको बेरुजु शून्यमा झार्नुपर्ने आवश्यकता रहेको बताए । 

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सुन काण्ड,भुटानी शरणार्थी,बालुवाटार जग्गा र गिरीबन्धु टी स्टेट काण्डका विषयमा समितिमा छलफल हुन आवश्यक रहेको बताए । उनले यस्ता विषयमा समितिले छलफल र बहस गरेर निराकरण गर्नुपर्नेमा जोड दिए । 

मोदीले संघीय सरकार  र प्रदेश सरकार मातहतमा रहेका निकायहरूको बेरुजु फर्छ्यौट गर्ने काम सार्वजनिक लेखा समिति र संसदले गर्छ तर स्थानीय सरकारले आफैँ खर्च र बेरुजु फर्छ्यौट पनि आफैँ गर्ने बताए । उनले अहिलेसम्म विश्वको इतिहासमा आफै खर्च गरेर बेरुजु फर्छ्यौट आफैँ नगरेको भन्दै स्थानीय सरकारले खर्च गरेको महालेखाले लेखापरीक्षण गर्दा डरलाग्दो समस्या निम्त्याउने खतरा रहेको बताए । 

त्यस्तै, सांसद लेखनाथ दाहालले पदमा बस्दा बेथिति नदेख्ने तर पदभन्दा बाहिर आएपछि विज्ञको रूपमा प्रस्तुत हुने परम्परा रहेको बताए । उनले बेरुजु फर्छ्यौट र असुल उपर बेरुजुको बारेमा पुनः लेखापरीक्षण गर्नुपर्ने जिकिर गरे । उनले पुनः लेखापरीक्षण गर्दा बेरुजु असुल उपर र असुल उपर बेरुजु फछ्र्यौटमा बदलिन सक्ने बताउनु भयो। उहाँले लेखा परीक्षणमा पारदर्शिताको अभाव रहेको बताए । उनले ९६० अर्ब बेरुजु र ३२५ अर्ब असुल उपर बेरुजु किन फर्छ्यौट हुन सकेन भनेर समस्या पत्ता लगाउन आवश्यक रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा भ्रष्टाचार र बेथितिले सीमा नाघेको अवस्था रहेको बताए । राज्यको लगानी भएका निकायहरु राष्ट्रिय बीमा संस्थान,साल्ट टेनिङ,विशालबजार विगत लामो समयदेखि अडिट नभएको उनको भनाई थियो । 

त्यस्तै,एकीकृत समाजवादीमा सांसद प्रेम आलेले मुलुकमा बेरुजु र वक्यौता रहनुमा राजनीतिक कारण भएको बताए । उनले माथिदेखि तलसम्म राजनीतिक सेटिङको कारण मुलुकमा अर्बौंको बेरुजु देखिएको जानकारी दिए । उनले क्यासिनो तथा ट्रंक लाइन डेडिकेटेट लाइनको गरी करिव २० अर्ब रुपैयाँ वक्यौता पुगेको सुखाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप