सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
चीन भ्रमण

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको छ, अहिल्यै एजेन्डा टुङ्गो लागिसकेको छैन : परराष्ट्रमन्त्री साउद

बिहीबार, २१ भदौ २०८०, १२ : १७
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी असोज ६ गते हुने  चीन भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री साउदले भ्रमणको तयारी भइरहेकोले अहिल्यै एजेन्डा टुङ्गो लागि नसकेको जानकारी दिए । 

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण, चीनले जारी गरेको नयाँ नक्सा  र चिनियाँ राजदूतले दिएको अभिव्यक्तिबारे बिहीबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेको जानकारी गराए।उनले विभिन्न मन्त्रालयका एजेन्डाका बारेमा छलफल गरेको, पूर्व परराष्ट्र मन्त्री तथा पूर्व राजदूतसँग पनि छलफल गरेको बताए । 

उनले भने–'सबै मन्त्रालयहरूको तर्फबाट आएका प्रस्ताव अर्थ मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालय आउने क्रममा छ । हामीले डेलिभरीका विषय उठाउने तयारी गरेका छौँ । पुरै एजेन्डाहरू अन्तिम रूप दिईनसकेको अवस्था छ । शिक्षा, स्वास्थ्य, यातायात जस्ता विषय, कोभिडपछि बन्द भएका सीमा नाका खुलाउने विषय भ्रमणका क्रममा उठ्नेछ । तयारीको क्रममा रहेकोले एजेन्डा सार्वजनिक गर्न हतार नभएकोले एजेन्डा पछि सार्वजनिक गर्ने नै छौँ ।'

मन्त्री साउदले चीनले हाल प्रकाशन गरेको नक्सामा नेपालले सन् २०२० को जुनमा प्रकाशन गरेको नयाँ नक्सा नसमेटिएको विषयमा कूटनैतिक नोट पठाउने काम भएको बताए । २०२३ सेप्टेम्बर १ मा कूटनैतिक नोट लेख्दै चीनलाई यसबारे जानकारी गराएको बताए । 

उनले पूर्व परराष्ट्रमन्त्रीले कूटनैतिक नोट पठाएको भने पनि अनौपचारिक रूपमा कुन तहमा कसरी पठाएको भन्ने औपचारिक रूपमा नभेटेको बताए । चिनियाँ राजदूतले बोलेको भनिएको कुरामा अध्ययन भइरहेको पनि मन्त्री साउदले जानकारी दिए। 

मन्त्री साउदले भने-'चिनियाँ राजदूतले बालेको विवादित विषयमा हामी अध्ययन गरिरहेका छौ । चीन र भारतसँग नेपालको मित्रवत् सम्बन्ध रहेको छ । नेपाल सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहन्छ । नेपालको विकासका लागि छिमेकी देशले खेलेको भूमिकाबारे नेपाल धन्यवाद दिन चाहन्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप