सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक सिजन सुरु भएसँगै मनाङमा अनुगमन

शुक्रबार, २२ भदौ २०८०, २० : ३३
शुक्रबार, २२ भदौ २०८०

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक सिजन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने सिजन सुरु भएसँगै मुख्य मुख्य पर्यटकीय क्षेत्रको अनुगमन गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) को समन्वयमा जिल्ला सुरक्षा समितिले अनुगमन गरेको हो । 

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि सुरक्षित तवरबाट यात्रा गर्न सहज बनाउने उद्देश्यले अनुगमन गरिएको बताइन् । हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले पर्यटकले सचेतता अपनाउनुपर्ने उनले बताइन् । 

“विशेषगरी पर्यटक आउँदा बाटोलाई सहज बनाउनुपर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउन आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेका छौँ”, उनले भनिन्, “पर्यटकको स्वास्थ्यमा समस्या आएमा तुरुन्त खबर गर्नका लागि दूरसञ्चार सेवाको सहज पहुँच बनाउन समन्वय गर्नुपर्ने देखिएको छ, यसको प्रवाह सहज बनाउने प्रयासमा छौँ ।”

तिलिचो तालको क्षेत्रमा बसेर प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको उनले बताइन् । हिमपात नभएको अवस्थामा ढुङ्गा राखेर बस्न सकिन्छ भने हिउँ भएको अवस्थामा बस्ने स्थान निर्माण गरी पर्यटकलाई सहज बनाउन एक्यापलाई सुझाव दिएको उनले बताइन् । नेपालीमा भ्रमण गर्ने प्रचलन बढ्दै गएसँगै मनाङको थोराङ्ला भञ्ज्याङ, तिलिचो ताललगायतका महत्त्वपूर्ण पर्यटकीय स्थलमा घुम्न आउने पर्यटक बढेको उनले जानकारी दिइन् । 

अप्ठ्यारो ओरालो बाटोमा सहज बनाएर हिँड्न मिल्ने बनाउनुका साथै ‘टि हाउस’ व्यवस्थित गर्न एक्याप लागिपरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले भने, “हिमाली क्षेत्रमा बाटो देखाउन राखिएका साइनिङ पोल, बोर्ड हावा तथा हिउँले खुइलिने भएकाले कहाँ कस्तो अवस्था छ भन्ने अवलोकन गरेका छौँ, ती बिग्रिएका स्थानमा नयाँ राखेर पर्यटकलाई गन्तव्यमा पुग्न सहज बनाउन लागेका छौँ ।”

विशेषगरी यस सिजनमा स्वदेशी पर्यटक बढी आउने उनले जानकारी दिए । यसले गर्दा पनि सहज तवरबाट यात्रा गर्न सकिने बनाउने काम गरिरहेको उनले बताए । उनका अनुसार विदेशी पर्यटक ‘हाइअल्टिच्युट’को अभ्यास गरी आउने गर्दछन् । जसले गर्दा उनीहरूमा समस्या कम देखिन्छ । तर, स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको प्रमुख भुजेलले बताए । योजनाबद्ध तरिकाले यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या नहुने उनको भनाइ छ । 

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यस जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य यसै पालिकामा पर्ने हुँदा पर्यटकलाई सहजरूपमा गन्तव्यसम्म पुग्ने वातावरण तयार गरिएको बताए । उनका अनुसार तिलिचो तालसम्म पुग्ने क्रममा ठाउँठाउँमा सार्वजनिक शौचालय, खानेपानी, फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गरिएको छ । पर्यटकलाई मध्यनजर गरी तिलिचो बेस क्याम्पमा अस्थायी स्वास्थ्य केन्द्र राखिएको अध्यक्ष घलेले बताए । 

त्यस्तै थोराङ्ला भञ्ज्याङतर्फ जाने पर्यटकलाई सहज बनाउन पनि सार्वजनिक शौचालय, खानेपानी, फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गरिएको छ । यसले गर्दा पर्यटकको पदयात्रा सहज हुनेछ । सिजन सुरु भएसँगै मनाङमा हालसम्म एक सय ४९ बाह्य पर्यटकको आगमन भएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार तीन सय ५० बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ । 

दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको सुरुआत हुन्छ । 

अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लामा जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै यात्राको सुरुआत गर्दछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप