बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
नाडा अटो शो २०२३

ईभीमय बन्दै नाडा अटो शो २०२३ : यी चर्चित ब्रान्डले प्रदर्शन गर्दैछन् नयाँ कार

आइतबार, २४ भदौ २०८०, १६ : ५७
आइतबार, २४ भदौ २०८०

काठमाडौं । सवारी प्रदर्शनको कुम्भ मेला अर्थात् वृहत् नाडा अटो शो, २०२३ आगामी मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ । ‘द विगेष्ट शो अफ नेपाल’ नाम दिइएको उक्त अटो शो भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म ६ दिन भृकुटीमण्डप स्थित प्रदर्शनीमार्गमा आयोजना हुँदैछ । 

कोभिड–१९ पछि झण्डै चार वर्षपछि हुन लागेको अटो शोका लागि आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालदेखि अटो शोमा भाग लिने अटोमोबाइल व्यवसायीहरूले समेत तीव्र तयारी गरिरहेका छन् । प्रदर्शनीमा साना ठुला लोकप्रिय ब्रान्डहरूले आफ्नो नयाँ प्रोडक्टहरु अटो शोमा उतारेर दमदार उपस्थिति जनाउने तयारीमा जुटेका छन् । 

१५औँ संस्करणको अटो शोमा विभिन्न १६ वटा ब्रान्डले चार पाङ्ग्रे सवारी साधन प्रदर्शनी गर्ने आयोजक नाडाले जनाइसकेको छ । तथापि, यसपटकको नाडा अटो शो भने ईभीमय बन्ने पक्का छ । 

नाडा अटो शो, २०२३ मा ४० प्रतिशत बढी ईभी (ईलेक्ट्रिक भेहीकल) प्रदर्शन हुने आयोजक नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । 

‘अटो शोका लागि व्यवसायी साथीहरू निकै उत्साहित हुनुहुन्छ । दुई वर्ष कोभिड–१९ का कारण अटो शो गर्न सकिएन । पछिल्लो वर्ष पनि सरकारी नीति गाडीहरूको आयात नै नहुँदा अटो शो गर्न सकिएन । ३ वर्षपछि आयोजित यसपटकको अटो शोमा भने २२ वटा ब्रान्डका दुई पाङ्ग्रे र १६ वटा चार पाङ्ग्रे गरी ३८ वटा ब्रान्डको प्रस्तुति हुँदैछ । थप यस पटक ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहीकलहरु समेत नाडामा प्रदर्शन हुनेछन्’ अध्यक्ष थापाले भने, ‘विगतका वर्षहरुमा स्पेशको अभावमा कमर्सियल गाडीहरुलाई प्रदर्शनीमा समेट्न सकिएको थिए । तर, यो पटक समेट्दैछौं ।’

तथापि, पेट्रोलियम गाडीहरुका लागि अझैं सहज अवस्था भइनसकेका कारण र बजारको ईभीप्रतिको आकर्षणका कारण अटो ब्रान्डहरूले यो वर्षको अटो शोमा ईभी नै बढी प्रदर्शन गर्ने देखिएको छ । लगभग ४० देखि ५० प्रतिशत हारहारी ईभी रहने हाम्रो अनुमान छ’ अध्यक्ष थापाले रातोपाटीसँग भने । 

उसो त चर्चित ब्राण्ड टाटा, हुण्डाई, बीवाईडी, एमजी, किया, च्याङ्योङ, सेरेस, ग्रेटवाल, सिट्रोन लगायतले अटो शोमा ईभी नै प्रदर्शन गर्ने तयारी गरेका छन् । 

कुन ब्रान्डले के ल्याउँदैछ ?

टाटा : बहुचर्चित टाटा मोटर्सले यसपटकको नाडा अटो शोमा बहुप्रतीक्षित टियागो ईभी उतार्ने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अटो शोलाई नै तार्गेट गरेर नयाँ इलेक्ट्रिक टियागोको विज्ञापन गरिरहेको छ । 

हाल पेट्रोलियमका साथमा ईभीमा नेक्सनको दमदार प्रस्तुति दिइरहेको कम्पनीले अटो शोको छेको पारेर अर्को ईभी प्रोडक्ट टियागो बजारमा उतार्न लागेको हो ।

२२ देखि ३० लाख रुपैयाँभित्रै उपलब्ध गराउने तयारी गरिएको न्यू टियागो इन्ट्री लेभलको फेमिली ह्याचव्याक कार हो । हाल बजारमा नेक्सन ईभीले मध्यम वर्गलाई तानिरहेकोमा थप टियागोले निम्न र इन्ट्री लेभलका ग्राहकलाई समेत तान्ने कम्पनीको योजना देखिन्छ । 

बीवाईडी : विश्व प्रसिद्ध ईभी ब्राण्ड बीवाईडीले नाडा अटो शोमा आफ्नो दमदार प्रस्तुति ‘डल्फिन’ उतार्ने भएको छ । ह्याचब्याक सेग्मेन्टको डल्फिन खासगरी नाडा अटो शोलाई नै तार्गेट गरेर नेपाल स्थित साइमेक्स बीवाईडीले २ महिना अघि मात्र सो कार नेपाल भित्र्याएको हो । 

कम्पनीले यसअघिको अट्टो–३, ई–६ को साथमा डल्फिनलाई अटो शोमा प्रदर्शन गर्ने भएको छ । मध्यम रेञ्जको ह्याचब्याक सेग्मेन्टको डल्फीनको मूल्य ४० देखि ४५ लाख रुपैयाँ तोकिन सक्ने देखिन्छ ।

एमजी : एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाण्ट मोटर्सले नाडा अटो शोमा नयाँ दुई ईभी मोडल एमजी–४ र कोमेट उतार्ने तयारी गरेको छ । यसअघि मात्र ७२ किलोवाट ब्याट्री क्षमतामा ४४० किलोमिटर लङ रेञ्ज दिने एमजी जेटएस ईभी बजारमा ल्याएको कम्पनीले पछिल्लो पटक एमजी–४ बजारमा उतारेको हो । एमजी–४ मध्यम रेञ्जको ह्याचब्याक सेग्मेन्ट कार हो । यस्तै कम्पनीले नाडा अटो शोमा नै प्रदर्शन गर्ने तयारी गरेको कोमेट ईभी मिनी कार हो । 

हाल यी दुबै मोडलको मूल्य तोकिनसकेकोमा बजार प्रतिस्पर्धाका आधारमा एमजी–४ को मूल्य ४५ देखि ५० लाखको बीचमा र कोमेट ईभीको २० देखि ३० लाखको बीचमा तोकिने देखिएको छ । 

सेरेस : नेपालका लागि चाङ्योङ ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले सेरेस ब्रान्डका दुईवटा मोडल भित्र्याएको हो । कम्पनीले बहुप्रतिक्षित ईभी सेरेस–३ र ई–१ नेपाल भित्र्याएको हो । 

अटो शोबाटै नेपालमा आफ्नो उपस्थिति जनाउन लागेको सेरेस ब्रान्डले १३ लाखदेखि ५० लाख रुपैयाँभित्र ईभी उपलब्ध गराउने तयारी गरेको छ । ईभीमा मध्यम रेञ्जको सेरेस–३, ४५ देखि ५० लाख रुपैयाँ हारहारीमा उपलब्ध गराउने तयारी कम्पनीले गरेको बुझिएको छ । 

सिजी मोटर : सिजी मोटर नाडा अटो शेमा नेटा यू को प्रदर्शन गर्ने भएको छ । यसअघि कम्पनीले नेटा भी लाई बजारमा उतारेकोमा पछिल्लो पटक सोही सेग्मेन्टको यू सेरिजलाई बजारमा उतार्ने भएको हो । 

अटो शोका लागि केही युनिट कार ल्याए पनि कम्पनीले तत्काल नेटा यूको बिक्री वितरण गर्ने छैन । 

किया : किया मोटर्सले नाडा अटो शोको अवसर पारेर हाई लग्जरियस ईभी कार ‘ईभी–६’ सार्वजनिक गर्ने तयारी गरेको छ । उसो त यो नै अटो शोमा उपलब्ध हुने सबैभन्दा महंगो इलेक्ट्रिक कार हुने समेत अनुमान गरिएको छ । तथापि, किया ईभी–६ को मूल्य भने तोकिएको छैन ।

जी ईभी : जी ईभीले पनि अटो शोको अवसरमा पारेर नेपालमा नयाँ ईभी कार उपलब्ध गराउने भएको छ । नेपाल सुहाउँदो एसयूभी कार नै उपलब्ध गराउने बताएको कम्पनीले कुन ब्राण्ड भित्र्याउन लागेको हो सो भने हालसम्म खुलाएको छैन । यद्यपि, अटो शोमार्फत नै ब्राण्ड सेग्मेन्ट र मूल्य सार्वजनिक गर्ने करिब पक्का भएको छ । कम्पनीले उपलब्ध गराउने ईभी एसयूभी हालसम्म नेपालमा उपलब्ध मध्यकै उच्च रेन्ज भएको मोडल बन्ने कम्पनीको दाबी छ ।

यस्तै, ग्रेटवाल मोर्टस (जीडब्र्लूम) नेपालले ओरा ०३ ईभी नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी गरेको छ भने अन्य ब्रान्डहरूले समेत उपलब्ध ईभी मोडलहरू प्रदर्शनीमा राख्ने तयारी गरेका छन् । 

प्रसिद्ध कम्पनी हुण्डाईले नयाँ प्रोडक्टका साथमा पुराना ईभी र पेट्रोलियम गाडीलाई प्रदर्शनीमा राख्ने तयारी गरेको छ । कमर्सियलमा हुण्डाई एक्सटर र टाटा पन्च अटो शोको अर्को आकर्षण बन्ने देखिएको छ । यस्तै, महिन्द्राको न्यू ‘स्कर्पियो एन’ क्लासिक, सिट्रोन–सी३, पेट्रोलियमका साथमा ईभी समेत नाडा अटो शोको आकर्षक प्रोडक्ट हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप