मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुम्यो’

मङ्गलबार, २६ भदौ २०८०, १५ : ०३
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवम नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ । लामो समयसम्म सभामुखको भूमिकामा रहेका कारण संसदीय सूचना प्राप्त गर्ने सन्दर्भमा सबै सञ्चारगृहका लागि उनी समाचार स्रोतका रुपमा थिए । 

पत्रकारलाई सधैँ ‘स्थायी समिति सदस्य’ भनेर सम्बोधन गर्ने संविधानसभाका अध्यक्ष नेम्वाङ संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच भइरहेका कुराकानी, उठेका प्रश्न, समस्या समाधानका लागि चालिएका कदम र सम्भावित चुनौतीबारे सूचना उपलब्ध गराउँदै पुष्ट्याइँका लागि सहयोगसमेत गर्थे । राष्ट्र, राष्ट्रियता र समाजका विभिन्न विधाका विषयमा पनि उत्तिकै चासो र चिन्ता राख्ने नेम्वाङको कार्यकक्ष सबैखाले सञ्चारकर्मीका लागि हरदम खुला रहन्थ्यो ।

संविधानसभाका अध्यक्ष नेम्वाङसित भेट्न र सम्पर्क गर्न बेग्लै पहुँच स्थापित गर्न आवश्यक थिएन । उनको कार्यकक्षमा सधैँजसो पत्रकारको जमघट भइरहन्थ्यो । सधैँ सूचना प्राप्त भइरहन्थ्यो । आफ्ना केही भनाइ वा दृष्टिकोण सञ्चारमाध्यममा ल्याउनुपर्‍यो भने हार्दिकताका साथ यस्तो विषयले तपाईंहरुको सञ्चारमाध्यममा स्थान पाउँदैन ? भनी उनी जिज्ञाशा राख्थे । 
    
पुष्ट्याइँबिना आएका कतिपय समाचारप्रति टिप्पणी गर्दै नेम्वाङले ‘व्याङ्ग्यात्मक’ शैलीमा भन्थे, “समाचारको स्रोत चाहिँ को हो ? त्यहाँ त केही देखिँदैन, मैले भनेको छैन ।”  

संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफ्ले भन्छन्, “संसदीय खुलापन, संसदीय अभ्यास र सञ्चार जगतको पहुँच स्थापित गराउने हिसाबले उहाँ हाम्रो अभिभाव नै हुनुहुन्थ्यो, संसदीय पत्रकारले एक मार्गदर्शक गुमाएको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप